कारोबार संवाददाता
आइतवार, बैशाख २२, २०७६
823

‘तपाईंको स्वास्थ्य हाम्रो अठोट’ भन्ने नाराका साथ सरकारले घोषणा गरेको स्वास्थ्य बिमा अभियानअन्तर्गतको स्वास्थ्य बिमा कार्यक्रम संखुवासभामा सुरु भएको छ । खाँदबारी–१ का ज्येष्ठ नागरिक ९१ बर्षिय काजीलाल श्रेष्ठ र एचआईभी संक्रमित खाँदबारी–५ का रेवत पोखरेललाई स्वास्थ्य बिमा कार्ड प्रदान गर्दै अभियान सुरु गरिएको हो ।
संखुवासभाका ७६ वटै बडाबाट छनोट भएर आएका ७६ जना सहभागीलाई ३ दिने दर्ता सहयोगी स्वास्थ्य बिमा आधारभूत तालिमसमेत सञ्चालन गरी स्वास्थ्य बिमा कार्यक्रम शुभारम्भ गरिएको हो । योसँगै २०७२ साल चैत २५ गते कैलालीबाट सुरु भएको स्वास्थ्य बिमा कार्यक्रम लागू गर्ने संखुवासभा ४४ औं जिल्ला भएको छ । प्रदेश १ का १४ जिल्लामध्ये संखुवासभा सातौं जिल्ला भएको स्वास्थ्य बिमा बोर्ड प्रदेश नं. १ का संयोजक महेश पोख्रेलले जानकारी दिए ।