लक्ष्मण ढुंगाना
बुधवार, बैशाख १८, २०७६
397

बिमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले बिमा कम्पनीहरूले जनचेतना जगाएका कारण नेपालमा बिमा गर्नेहरूको संख्या बढ्दै गएको बताएका छन् । पछिल्लो समय नागरिकमा बिमाप्रति आकर्षण बढिरहेको भन्दै उनले ७ प्रतिशतबाट बढेर १८ प्रतिशत नागरिकमा बिमाको पहुँच पुगेको बताए ।
नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बाँकेको कोहलपुरमा बुधबार शाखा कार्यालयको उद्घाटन गर्दै अध्यक्ष चापागाईंले अहिलेकै क्रमलाई निरन्तरता दिन सकिएमा आगामी १० वर्षभित्रमा करिव ५० प्रतिशत नागरिकमा बिमाको दायरा विस्तार गर्नसकिने बताए । “अबको १० वर्षमा ५० प्रतिशत नागरिकमा पहुँच बढाउने कुरामा हामी ढुक्क छौं,” उनले भने ।

जीवन बिमा व्यवसायमा सन्तोषजनकरूपमा नागरिकको पहुँच वृद्धि भए पनि निर्जिवन बिमा गर्नेको संख्या भने ज्यादै न्यून रहेको उनको भनाइ थियो । “बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन कर्जाको सुरक्षण नगरेसम्म ऋण नपाउने भएपछि बाध्य भएर बिमा गर्नेवाहेक अन्यले गरेका छैनन्,” उनले भने, “निर्जिवन बिमा व्यवसाय हालसम्म निराशाजनक अवस्थामा रहेको छ ।”
कार्यक्रममा उनले बिमा कम्पनीहरूले गर्ने लगानीको क्षेत्रलाई फराकिलो बनाउँदै समितिले बीमकको लगानीसम्बन्धी निर्देशिका २०७५ जारी गरेको जानकारी दिए । यसले नयाँ क्षेत्रमा लगानी गर्न पाउने बाटो खोलेको उल्लेख गर्दै उनले आगामी दिनमा बिमा कम्पनीले प्रतिस्पर्धी भएर अगाडि बढ्ने विश्वास व्यक्त गरे ।
सम्पत्तिलाई बिमाको दायरामा ल्याउन २०७५ माघ १ गतेदेखि लागू हुने गरी एकीकृत सम्पत्ति बिमा निर्देशिका जारी गरेको अध्यक्ष चापागाईंको भनाइ छ । “जुन व्यावसायिक भएका सम्पत्तिहरू छन् तिनको अटोमेटिक बिमा भएको छ,” उनले भने, “जुन व्यावसायिक छैनन् त्यस्ता सम्पत्तिलाई निर्जिवन बिमाको दायरामा ल्याउनका लागि अत्यन्त सरल र सस्तो बनाएका छौं ।” यो निर्देशिका निर्जिवन बिमा गर्ने २० वटा कम्पनी मार्फत कार्यान्वयन हुन थालेको भन्दै उनले यो कार्यान्वयनमा आएसँगै सम्पत्तिको बिमा गर्नेको संख्या बढ्ने दाबी गरे ।
मुलुकमा बेला बेलामा विपत्तीका घटना बढीरहेकाले सम्पत्तिको बिमा गर्नु जरुरी रहेको औंल्याउँदै अध्यक्ष चापागाईंले एकदिनमा एक कप चिया खाने पैसा बचाएर एक करोड रूपैयाँसम्मको बिमा गर्न सकिने बताए । मुलुकका शहरी क्षेत्रका केही शिक्षित व्यक्तिसामु मात्रै बिमाका कार्यक्रम भए पनि ग्रामीण क्षेत्रका अधिकांस स्थानमा कार्यक्रम पुग्न नसकेकाले गाउँगाउँमा बिमासम्बन्धी कार्यक्रम लिएर बिमा समिति जान थालेको उनले जानकारी दिए । “यसका लागि विभिन्न जिल्लामा स्थानीय सरकारसँग अन्तक्र्रिया गर्ने क्रममा यस वर्ष १६ वटा स्थानीयतहमा कार्यक्रम सञ्चालन गरिरहेका छौं,” उनले भने ।
सरकारले कृषिमा स्वरोजगार सिर्जना गरी आत्मनिर्भर बनाउन कृषि बिमालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न ७५ प्रतिशत अनुदान दिने व्यवस्था गरे पनि अझै धेरैको पहुँचमा आउन नसकेको भन्दै बिमा गरेर सरकारी अनुदानको सदुपयोग गर्न उनले कृषकहरूलाई अनुरोध गरे ।
जीवन बिमालाई सुरक्षासहित बचतको एउटा अंगका रूपमा बिमा गर्ने संस्कृतिका रूपमा लिनुपर्ने भन्दै उनले अव हरेक सम्पपित्तको बिमा गर्न जरुरी रहेको बताए । ठूलो सम्पत्तिको मात्र नभएर साना झुप्रा घरका लागि समेत लघु बिमा गर्ने कार्यक्रम ल्याउने तयारीमा रहेको अध्यक्ष चापागाईले जानकारी दिए । “त्यसका लागि न्यूनतम दरमा बिमा गर्ने तयारीमा छौं’ उनले भने, “साना ठूला सबै सम्पत्तिको बिमा गर्ने नीति राज्यले लिएकाले अब अल्पकालको राहत मात्र राज्यले तिरे पुग्छ ।”