कारोबार संवाददाता
बिहिवार, बैशाख १२, २०७६
453

सगरमाथा इन्स्योरेन्सल डिजिटल इन्स्योरेन्स सेवा सुरु गरेको छ । निर्जीवन बिमाको क्षेत्रमा पहिलो पटक डिजिटल इन्स्योरेन्स सेवा सुरु गरिएको कम्पनीले जनाएको छ ।
कम्पनीले प्रथम चरणमा मोटरसाइकलको तेस्रो पक्ष बिमालेख, घर बिमालेख, दुर्घटना बिमालेख र ट्राभलर्स मेडिक्लेम बिमालेखमा यो सेवा सुरु गरेको छ । अनलाइन पोर्टलमार्फत कम्पनीले विकास गरेको मोबाइल एपका माध्यमबाट कम्पनीका ग्राहकहरुले आफूसँग रहेको मोबाइलबाट एप (इन्स्योरेन्स डिजिटल्ली) डाउन लोड गरी आफूलाई चाहिएको बिमालेख खरिद गर्न सक्ने गरी इन्स्योरेन्स डिजिटल्ली सेवा सुरु गरेको हो । उक्त सेवाको बिमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईँ र कम्पनीका अध्यक्ष आरके मानन्धरले यो सेवाको बुधबार उद्घाटन गरेका हुन् ।

बिमालेखहरुलाई सूचना प्रविधिसँग एकाकार गर्ने उद्देश्यका साथ बिमा सेवाको पहुँचलाई सर्वसाधारणको आफ्नै हातमा रहेको मोबाइलबाट बिमालेख खरिदको पहुँच पु-याउन आफ्ना प्रोडक्टहरुलाई इन्स्योरेन्स डिजिटल्ली कार्यक्रम लागू गर्दैै जाने कम्पनीले जनाएको छ ।
बिमा समितिको निर्देशनअनुसार बिमालेखलाई डिजिटाइजेसन गर्न सुरु गरेको हो । बुधबारबाट सुरु गरिएको इन्स्योरेन्स डिजिटल्ली सेवाबाट बिमाको पहुँच पुग्न नसकेको स्थानीय निकासमा समेत कम्पनीको पहुँच पुग्ने र कृषक तथा न्यून आय भएका व्यक्तिको सुरक्षालाई लक्षित गरी अनुदान समेतको व्यवस्था गरिएका लघु बिमा तथा बाली तथा पशुपन्छी बिमाका लागि दुर्गम बस्तीमा बसोबास गर्ने बासिन्दाले समेत यस प्रविधिको माध्यमबाट सहजै बिमा सेवा प्राप्त गर्ने कम्पनीले जनाएको छ ।