कारोबार संवाददाता
बुधवार, बैशाख ४, २०७६
358

नवलपरासी-पश्चिम नवलपरासी सुनवल नगरपालिकाले नगरभित्रका सबै ज्येष्ठ नागरिकलाई उपलब्ध गराएको स्वास्थ्य उपचार बिमा कार्यक्रम प्रभावकारी भएको छ । एक वर्षको अवधिमा तोकिएका स्वास्थ्य संस्थाबाट एक ज्येष्ठ नगारिकले वार्षिक ५० हजार रुपैयाँ बराबरको निःशुल्क स्वास्थ्य उपचार सेवा पाउन सक्ने गरी गरिएको सो कार्यक्रम प्रभावकारी भएको नगरपालिकाको जिकिर छ ।
देवदह मेडिकल कलेज र सुनवल नगरपालिकाबीच ७५ प्रतिशत रकम नगरपालिका र २५ प्रतिशत रकम उक्त कलेजले दिने गरी सम्झौता भएको थियो । पहिलो चरणमा एक वर्षका लागि लागू गरिएको कार्यक्रमबाट करिब ४ सय ज्येष्ठ नागरिकले सेवा लिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख चूडामणि नेपालले बताए ।

नगरपालिकाका अनुसार गत वर्ष २ हजार ८ सय ५८ ज्येष्ठ नागरिकको बिमा गरिएकामा ४ सयले बिमाअनुसारको सेवा लिएका थिए । बिमा गरेका व्यक्तिले एक वर्षभित्र सो मूल्य बराबरको औषधि उपचार, ल्याब, औषधिलगायत सेवा निःशुल्क प्राप्त गरेका थिए ।
साठी वर्षमाथिका दलित र ७० वर्ष माथिका सबै वर्गका समुदायमा सो अभियान ल्याइएकामा नगरपालिकाले ३६ लाख ९५ हजार र करिब १३ लाख रुपैयाँ उक्त कलेजले बेहोरेको थियो । यसैबीच नगरपालिकाले अहिले पनि प्रत्येक ४ महिनामा ज्येष्ठ नगारिकको नियमित स्वास्थ्य परीक्षण गर्दै आइरहेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नेपालले बताए ।