सागर परियार
बुधवार, चैत्र २७, २०७५
416

जुम्ला-कर्णालीका नगदेबाली स्याउ, सिमी, मार्सि, ओखर र तरकारी खेती हुन् । तर उत्पादनको सुरक्षाका लागि यहाँका किसानमा बिमा चेतना भने निकै कमजोर पाइएको छ । लाखौं रूपैयाँ घाटा बेहोर्दै आए पनि उनीहरू कृषि फसलको बिमा गर्ने किसान भने न्यून छन् । हजारौं किसान स्याउ खेतीमा निर्भर रहे पनि सबै बिमाको पहुँच नआउनु दुखद पक्ष भएको कृषि ज्ञान केन्द्र जुम्लाका कृषि विज्ञ तपेन्द्र बहादुर शाहीको भनाइ छ । “मुलुकको आर्थिक विकासका लागि किसान र उनीहरूको उत्पादन सुरक्षाका लागि बिमा गर्न आवश्यक छ,” उनले भने, “बिमा कम्पनीले गाउँगाउँमा चेतना फैलाउन आवश्यक छ ।” स्याउको मात्र नभई सिमी, ओखर र तरकारी खेतीको पनि बिमा गराउन उनले किसानलाई सुझाव दिए ।
शिखर इन्स्योरेन्सका प्रमुख ऋषिराम पाण्डेले बिमा गर्न किसानले लोभ गर्ने गरेको बताए । बिमाबारे चेतनाको अभाव हुँदा यसको विस्तार हुन नसकेको उनको भनाइ छ । “अन्य बालीभन्दा कर्णालीमा स्याउको बिमा आवश्यक छ,” उनले भने ।

किसान र किसानको उत्पादनको सुरक्षाका लागि सरकाले आवश्यक नीति नल्याउँदा र बिमाका बारेमा कर्णालीका किसानलाई चेतना नहुँदा समस्या भएको छ । साविकको कर्णालीका मुगु, हुम्ला, डोल्पा र जुम्लामा स्याउ खेतीलाई प्रमुख आम्दानीका रूपमा लिने गरिन्छ । बर्सेनि करोडौं रूपैयाँ स्याउबाट जिल्लामा आम्दानी भित्रिने गरेको छ । तर किसान भने स्याउको बिमा गर्न चाहँदैनन् । बिमा नगर्दा पछिल्लो समयमा किसानले घाटा बेहोर्दै आएका छन् । जलवायु परिवर्तनका कारण प्रत्येक वर्ष जसो आउने असिना पानी, बाढीपहिरोले स्याउ, सिमी, ओखरलगायतका बालीमा क्षति हुने गरेको छ । त्यसको बिमा नगर्दा किसानलाई घाटा हुने गरेको छ । बिमाका बारेमा गाउँगाउँमा चेतना अभिवृद्धि गरेर किसानलाई जागरुक बनाउनुपर्नेमा सरोकारवालाहरूको जोड छ ।
करिब १८ हजार घरधुरी रहेको जुम्लामा करिब १६ हजार घरधुरी स्याउखेतीमा निर्भर भए पनि १ हजार २ सय १७ ले मात्रै बिमा गरेका छन् । यो तथ्यांकलाई हेर्दा ९५ प्रतिशत किसानमा बिमाको पहुँच नपुगेको पाण्डेको दाबी छ ।
अधिकांश किसानले स्याउको बिमा गराएका छैनन् । जिल्लामा दर्जन बढी बिमा कम्पनी छन् । चन्दननाथमा १ सय ६१ जना, पातारासीमा ५ सय ६४, गुठिचौरमा १ सय ६५, तातोपानीमा २ सय ६ र सिंजामा १ सय २१ जना स्याउ किसानले बिमा गराएका छन् । साढे ५८ हजार विरुवाको बिमा गरिएकोमा २ करोड ७३ लाख २० हजार ३ सय ६८ रूपैयाँ बिमांक रकम रहेको छ ।
किसानले तिरेको प्रिमियम २४ लाख १३ हजार ७ सय ४३ रूपैयाँ छ । यस्तै कालिकोट र मुगुमा १ हजार ८ सय २७ जनाले बिमा गराएका छन् । कालिकोट र मुगुमा ४ प्रतिशत किसान मात्रै बिमाको पहुँचमा रहेको पाण्डेले बताए । मुगु र कालिकोटको गरी जम्मा बिमांक रकम २१ करोड ९६ लाख १९ हजार १ सय ८३ रूपैया भएको छ । किसानको प्रिमियम रकम ३६ लाख २२ हजार ९९ सय ५ रहेको छ ।

किसानका लागि लघु बिमा
शिखर इन्स्योरेन्सले अफरका रूपमा लघु बिमा शुरुवात गरेको छ । स्याउ बगैंचामा काम गर्ने किसानका लागि मात्र रहेको लघु बिमासम्बन्धी किसान बगैंचामा काम गर्दैगर्दा कुनै कारणवश मुत्यु भएमा क्षतिपूर्ति पाउने व्यवस्था छ । स्याउ बगैंचाकै काम गर्ने क्रममा बाढी पहिरोमा परेर ज्यान गएका सम्बन्धित किसानलाई दिइने क्षतिपूर्तिका लागि लघु बिमा अफर ल्याएको कम्पनीले जनाएको छ । किसानको मृत्यु भएको ३५ दिनभित्र बिमांक रकम भुक्तानी दिने व्यवस्था छ ।
अहिलेसम्म जुम्लाका एक जना किसानले मात्र बिमा रकम पाएका छन् । चन्दननाथ नगरपालिका १ का रत्नराज गिरीलाई केही दिनमा २ लाखको चेक हस्तान्तरण गरिने भएको छ । शिखर इन्स्योरेन्सका प्रमुख ऋषिराम पाण्डेका अनुसार स्याउको बिमा गर्दा किसान रत्नराज गिरीले थप ६ सय लघु बिमाको प्रिमियम रकम दिएका थिए ।