कृष्ण न्यौपाने
आइतवार, पुष २२, २०७५
1434

दमौली-तनहुँको बन्दीपुर गाउँपालिकाले गाउँपालिकाभित्र बसोबास गर्ने असहाय एवं आर्थिक रूपमा विपन्न परिवारको स्वास्थ्य बीमा गराउने भएको छ ।
चालू आवमा तीन सय घर परिवारलाई स्वास्थ्य बिमामा सहभागी गराइने गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले जानकारी दिए । उनले स्वास्थ्य बिमाका लागि लाग्ने खर्च गाउँपालिकाले बेहोर्ने बताए । उनले भने, “आर्थिक अभावमा स्वास्थ्य बिमामा सहभागी हुन नसक्ने घरपरिवारलाई स्वास्थ्य बिमामा सहभागी गराउँदैछौं, त्यसका लागि लाग्ने सम्पूर्ण खर्च गाउँपालिकाले उपलब्ध गराउनेछ ।” गाउँपालिकाभित्रका सबै नागरिकलाई स्वास्थ्य बिमामा सहभागी गराउन यो कार्यक्रम ल्याइएको उनले बताए । आर्थिक रूपमा सम्पन्न भएका घरपरिवार स्वास्थ्य बिमामा सहभागी हुनसक्ने भए पनि गरिब तथा विपन्न घरपरिवार स्वास्थ्य बिमाबाट वञ्चित नहुन् भन्नका लागि योजना ल्याइएको उनले जानकारी दिए ।

उनले भने, “हरेक नागरिकले स्वास्थ्य सेवा पाउनुपर्छ, स्वास्थ्य बिमाका लागि रकम हाल्न नसक्नेलाई गाउँपालिकाको खर्चमा स्वास्थ्य बिमा गराइन्छ ।” उनले असहाय घरपरिवारको तथ्यांक संकलनको काम भइरहेको जानकारी दिँदै आगामी आवमा थप तीन सय घरपरिवारलाई स्वास्थ्य बिमामा सहभागी गराइने बताए । उनले भने, “प्राथमिकताका आधारमा घरपरिवार छनोट गर्दैछौं, प्रत्येक वर्ष तीन सय घरपरिवारलाई स्वास्थ्य बिमामा सहभागी गराउने लक्ष्य रहेको छ ।” उनका अनुसार पाँच जनासम्मको परिवारले स्वास्थ्य बिमावापत वार्षिक दुई हजार पाँच सय शुल्क बुझाउनुपर्छ । उनका अनुसार वार्षिक रूपमा तीन सय घरपरिवारको सात लाख ५० हजार शुल्क गाउँपालिकाले बेहोर्नेछ ।
तनहुँमा २०७४ भदौ १ गतेबाट स्वास्थ्य बिमा शुरुवात भएको थियो । जिल्लामा हालसम्म १० हजारभन्दा बढी घरधुरी स्वास्थ्य बिमामा आबद्ध भइसकेको स्वास्थ्य बिमा कार्यालयले तनहुँले जनाएको छ । जसमध्ये बन्दीपुर गाउँपालिकाका ५ सय २६ घरका स्वास्थ्य बिमामा आबद्ध छन् ।
तनहुँमा दमौली अस्पताल, बन्दीपुरस्थित बन्दीपुर अस्पताल, भिमादस्थित भिमाद प्राथमिक स्वास्थ्य केन्द्र, भानु नगरपालिकाका पुरनडिही प्राथमिक स्वास्थ्य केन्द्र र बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा स्वास्थ्य बिमाको सेवा लिन सकिने व्यवस्था गरिएको छ ।
वैशाख, जेठ र असार महिनामा दर्ता गर्ने सर्वसाधारणले भदौ १, साउन, भदौ र असोजमा दर्ता गर्ने सर्वसाधारणले मंसिर १ गते, कात्तिक, मंसिर र पुसमा दर्ता गर्ने सर्वसाधारणले फागुन १ गते र माघ, फागुन र चैतमा दर्ता गर्ने सर्वसाधारणले जेठ १ गतेबाट सेवा प्राप्त गर्न सक्नेछन् ।
पाँच जनासम्मको परिवारले वार्षिक रूपमा दुई हजार पाँच सय रुपैयाँ तिर्नुपर्छ । परिवारमा पाँच जनाभन्दा बढी सदस्य भए प्रति थप सदस्यको चार सय २५ का दरले थप रकम तिर्नुपर्छ । बिमा गरिसकेपछि सदस्यले तोकिएका सेवा प्रदायक संस्थाबाट बहिरंग अन्तरंग र आकस्मिक कक्षबाट प्रदान गरिने सेवा, पाँच जनासम्मको परिवारले आवश्यक पर्दा वार्षिक पचास हजारसम्मको स्वास्थ्य सेवा उपभोग गर्न सक्नेछन् ।