कारोबार संवाददाता
सोमवार, पुष ९, २०७५
1261

समितिले गरेको परिमार्जनअनुसार १ करोड रूपैयाँभन्दा कम मूल्यको घरको बिमा गराउँदा प्रतिहजार रूपैयाँको ४० पैसाका दरले बिमा शुल्क तिरेर बिमा गराउन सकिने भएको छ ।

सम्पत्ति बिमा शुल्क ६५ प्रतिशतसम्म घट्ने भएको छ । बिमा समितिले २०५८ सालको सम्पत्ति बिमा निर्देशिका आइतबार परिमार्जन गरेपछि बिमाको शुल्क घट्ने भएको हो । निर्देशिकालाई समय सापेक्ष बनाउन परिमार्जन गरिएको समितिका अध्यक्ष चिरन्जीवी चापागाईँले बताए ।
समितिले आइतबार पत्रकार सम्मेलन गर्दै बिमा निर्देशिकालाई समय सापेक्ष परिमार्जन गर्नुपर्ने आवश्यक भएकाले परिमार्जन गरिएको जनाको छ । समितिका अध्यक्ष चापागाईँले भने, “परिमार्जित सम्पत्ति बिमा निर्देशिकाअनुसार एकीकृत सम्पत्ति बिमामा ६५ प्रतिशत शुल्क घट्ने छ ।” निर्जीवन बिमा कम्पनीसँग सल्लाह गरेर मध्यम वर्गलाई लक्षित गर्दै निर्देशिक परिमार्जन गरिएको पनि उनले जनाए ।

सम्पत्ति बिमा लेखअन्तर्गत सामान्य सम्पत्ति बिमालेख, छोटो अवधिको सम्पत्ति बिमालेख, मूल्यांकित सम्पत्ति बिमालेख, फ्लोटिङ सम्पत्ति बिमालेख र पुनस्र्थापना सम्पत्ति बिमालेख पर्छन् ।
समितिले गरेको परिमार्जनअनुसार १ करोड रूपैयाँभन्दा कम मूल्यको घरको बिमा गराउँदा प्रतिहजार रूपैयाँको ४० पैसाका दरले बिमा शुल्क तिरेर बिमा गराउन सकिने भएको छ । यस्तो बिमामा हुलदंगा तथा आतंकवाद जोखिम भने समावेश हुने छैन । यो शुल्क अनुसार १ करोड रूपैयाँको घरको बिमा बार्षिक ४ हजार रूपैयाँ बिमा शुल्कमा गर्न सकिनेछ ।
यस्तो व्यवस्थाले हाल प्रचलनमा रहेको अनिवार्य जोखिम (अग्नी र भूकम्प) सहित सबै बिमायोग्य जोखिम लिँदासमेत कूल बिमा शुल्कमा औसतमा ६५ प्रतिशतका दरले बिमा शुल्क कम पर्ने छ । शुल्क घटेपछि बिमाको दायरा बढ्ने अपेक्षा रहेको समितिले जनाएको छ ।
जमिनमा आधारित सम्पत्तिको लागि अग्नी बिमाको हालसम्म प्रचलनमा रहेको अग्नी बिमासम्बन्धी सामान्य नियमहरू २०५८ असान्दर्भिक भइसकेको र वर्तमान बिमा बजारमा भएका थुप्रै बीमित र बीमक मैत्री नयाँ सिद्धान्त, अभ्यास र प्रचलनहरू अद्यावधिक हुन नसकेकाले निर्देशिका परिमार्जन गर्नु परेको समितिले जनाएको छ ।
परिमार्जित बिमा निर्देशिकामा सबै प्रकारका बिमायोग्य जोखिम एउटै प्याकेजमा अनिवार्य गरिएको र हुलदंगा तथा आतंक वा जोखिम समूहबाहेक अन्य कुनै पनि जोखिम हटाउन नपाइने उल्लेख छ ।