कारोबार संवाददाता
बिहिवार, पुष २७, २०७४
968

सिन्धुलीमा स्वास्थ्य बिमा कार्यक्रम लोकप्रिय बन्दै गएको छ । सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमअन्तर्गत सरकारद्वारा सञ्चालित बिमा कार्यक्रममा हालसम्म १० हजार भन्दाबढी स्वास्थ्य बिमा गरिसकेका छन् ।
जिल्लास्थित सामाजिक स्वास्थ्य सुरक्षा विकास कार्यालयकोे तथ्यांकअनुसार जिल्लाभर अहिले १० हजार २२ जनाले स्वास्थ्य बिमा गरेका छन् । कार्यालयका निमित्त जिल्ला प्रबन्धक रमेश कुमार घिमिरेका अनुसार कमलामाई नगरपालिकाका, दुधौली नगरपालिका, सुनकोशी गाउँपालिका र मरिण गाउँपालिकाका सर्वसाधरणले उत्साहजनक रुपमा स्वास्थ्य बिमा गरेका छन् ।

त्यस्तै फिक्कल गाउँपालिका, गोलन्जोर गाउँपालिकामा भने सन्तोषजक रुपमा स्वास्थ्य बिमा गरेको उनले बताए । जिल्लाको हरिहरपुरगढी गाउँपालिका र घ्याङलेख गाउपालिकामा भने स्वास्थ्य बिमा खासै प्रभावकारी हुन सकेको छैन । सिन्धुलीमा ग्रामीण क्षेत्रमा भन्दा शहरी क्षेत्रमा स्वास्थ्य बिमा कार्यक्रम प्रभावकारी भएको देखिएको छ । हालसम्म स्वास्थ्य बिमा गर्नेहरूमा सदरमुकाम र आसपासका स्थानीय धेरै रहेको बताइएको छ ।
शहरी क्षेत्रमा शिक्षित परिवारको बसोबास भएका स्थानमा बढी मात्रामा बिमाको कार्यक्रम प्रभावकारी बन्दै गएको प्रबन्धक घिमिरेले बताए । बिमा कार्यक्रमको प्रभावकारिताबारे ग्रामीण क्षेत्रमा जानकारी गराउन नसक्दा ती क्षेत्रमा कार्यक्रम कम प्रभावकारी भएको उनले भनाई छ ।
शिक्षित वर्ग यस कार्यक्रम प्रति सकारात्मक र सहयोगी बनेकै कारण शहरी क्षेत्रमा यसको प्रभावकारिता बढेको हो । स्वास्थ्य बिमा दर्ता गर्नेको संख्या बढाउन बिमा दर्ता प्रक्रिया नियमितरुपमा सञ्चालन भइरहेको छ भने दर्ता सहयोगी गाँउ–गाँउमा खटाइएको छ ।
कार्यक्रमअन्तर्गत पाँचजनाको परिवारले वार्षिक २ हजार ५ सय बिमा शुल्क भुक्तानी गरेपछि रु ५० हजारसम्मको उपचार सेवा पाउनेछन् । पाँच जनाभन्दा बढी सदस्य भएमा प्रतिव्यक्ति ४ सय २५ रुपैयाँ थप भुक्तानी गरेपछि प्रतिव्यक्तिको १० हजारसम्मको उपचार सेवा थपिनेछ । यो कार्यक्रमको अधिकतम सीमा रु एक लाख तोकिएको छ ।
बिमा गर्ने सेवाग्राहीले रोज्ने स्वास्थ्य संस्था राम्रो भएको ठाँउमा स्वास्थ्य बिमा बढी प्रभावकारी भएको र सेवा दिने स्वास्थ्य संस्था नराम्रो भएको ठाउमा स्वास्थ्य बिमा कम प्रभावकारी भएको पनि निमित्त प्रबन्धक घिमिरेको भनाई छ । बिमा गर्ने विमितलाई उपचारका लागी पाएक पर्ने र उनीहरूले रोजेका स्वास्थ्य संस्थाबाट सेवा लिन पाउने छन ।
सिन्धुलीका जिल्ला अस्पताल सिन्धुली, प्राथमिक स्वास्थ्य चौकीहरू, काभ्रेको बनेपामा रहेका धुलिखेल अस्पताल, उदयपुरको कटारी अस्पताल, भक्तपुरका विभिन्न अस्पतालबाट सिन्धुलीमा बिमा गर्ने व्यक्तिले सेवा लिन सक्ने प्रबन्धक घिमिरे बताए ।