कारोबार संवाददाता
बुधवार, असार १७, २०७७
548

खल्ती मोबाइल वालेटले जापान र कोरियाबाट नेपालमा रेमिट्यान्स भित्र्याउन सुरू गरेको छ । खल्तीले सिटी एक्स्प्रेस मनी ट्रान्सफरसँगको सहकार्यमा सिटी एक्सप्रेस मनी ट्रान्सफर जापान कम्पनी लिमिटेड र दक्षिण केरियाको जी मनी ट्रान्सफरमार्फत खल्ती मेबाइल वालेटमा सिधै रेमिट्यान्स भित्र्याउन थालेको हो ।
खल्तीले यी दुई मुलुकबाट मोबाइलमा सिधै रकम पठाउन मिल्ने सेवा सुरू गरेपछि नेपालमा रकम प्राप्त गर्ने व्यक्तिले पिन नम्बर र आफ्नो परिचयपत्र लिएर रेमिट्यान्स कम्पनीको एजेन्टकहाँ धाउनु पर्ने झन्झट अन्त्य भएको बताइएको छ । जापानमा रहेका नेपालीले सिटी एक्स्प्रेस मनी ट्रान्सफरको नजिकैको एजेन्टकहाँ गएर नेपालमा रहेका आफन्तको खल्ती मोबाइल खातामा सिधै रकम पठाउन सक्ने छन् । यस्तै कोरियाबाट रकम पठाउन चाहनेले मोबाइल एपबाटै ट्रान्सफर गर्न सक्ने छन् । त्यहाँस्थित जी मनीका ३ ओटा शाखाहरूमा गएर पनि खल्ती वालेटमा रकम पठाउन सकिने कम्पनीले बताएको छ ।
सिटी एक्सप्रेसको जापानमा टेकियो सिन्जुकु–कु, नागोया, फुकुओका र तेचिगीमा शाखा सञ्चालनमा छ भने जी रेमिटका केरियामा सोल, ग्योंगी–डो र ग्योंसांनाम–डोमा शाखा सञ्चालनमा रहेको सिटी एक्स्प्रेसका व्यवसाय विकास प्रबन्धक सागर खनालले जानकारी दिए ।