कारोबार संवाददाता
बुधवार, असार १७, २०७७
507

नेपाल धितोपत्र बोर्डले लगानीकर्ता पूर्णरुपमा प्रविधिसँग नजोडिएकाले लकडाउन अवधिभर बजार बन्द भएको दावी गरेको छ । बोर्डले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सुझाव माग्ने क्रममा प्रविधिक प्रयोगमा लगानीकर्ता कमजोर हुँदा बजार बन्द भएको जनाएको हो ।
कार्यक्रममा धितोपत्र बोर्डका अध्यक्ष भिष्म ढुङगानाले कोरोनाको असर, लकडाउन अवधि र लगानीकर्ताहरू प्रविधिसँग पूर्णरूपमा नजोडिएकाले बाध्यात्मक रूपमा बजार बन्द भएको बताएका हुन् । लकडाउन अवधिमा बजार व्यवस्थापन तथा सञ्चालनका लागि सम्बन्धित सबै निकाय र सरोकारवाला, लगानीकर्तासँग पर्याप्त छलफल पछि सुचारु गर्ने वातावरण तयार गरेको उनले बताए ।

कार्यक्रममा बोर्डका पूर्वअध्यक्ष प्रा. डा. शुरवीर पौड्यालले धितोपत्र बोर्डको संरचना परिवर्तन गर्नुपर्ने तथा कार्यालय भवन बनाउन सुझाव दिए । त्यसैगरी उनले बजारमा संस्थागत सुशासन अभिवृद्धि गर्न आवश्यक रहेकोसमेत बताए ।
बोर्डका पूर्वअध्यक्ष बाबुराम श्रेष्ठले धितोपत्र बजारको अनलाइन कारोबार प्रणाली प्रभावकारी र विश्वसनीय हुनुपर्ने तथा प्राविधिक जानकारीसमेत दिने गरी वित्तीय साक्षरतासम्बन्धी कार्यक्रम सञ्चालन गर्नुपर्ने सुझाव दिए ।
बोर्डकै पूर्वअध्यक्ष डा. रेवतबहादुर कार्कीले अर्थतन्त्रको ऐनाको रूपमा रहेको बजारलाई जुनसुकै विषय परिस्थितिमा बन्द गर्न नहुने बताउँदै बोर्डले क्षमता अभिवृद्धि गर्दै स्वायत्तता हासिल गर्नुपर्ने सुझाए । विशिष्टिकृत लगानी कोषको शिघ्र स्वीकृति दिनसमेत कार्कीले सुझाव दिए । प्रतिष्पर्धाका लागि अर्को स्टक एक्सचेञ्ज ल्याउनुपर्ने तथा वाणिज्य बैंकको सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिनुपर्नेसमेत उनको सुझाव रहेको छ ।
यस्तै बोर्डका पूर्वसदस्य नरबहादुर थापाले ऋणपत्र बजार बिना धितोपत्र बजारको पूर्णरुपमा विकास नहुने धारणा बताए । बोर्डले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा ऋणपत्र बजारको विकासमा ध्यान दिनुपर्ने उनको भनाइ छ ।
नेप्सेको प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले विदेशी रणनीतिक साझेदार ल्याउने गरी नेप्सेको पुर्नसंरचना गर्नुपर्ने सुझाए । त्यसैगरी साउदले ऋणपत्रको कारोबारका लागि प्लेटफर्म बनिसकेको हुनाले यसको विकासका लागि बोर्डले नेतृत्व गर्नु समेत सुझाए ।
यस्तै मर्चेन्ट बैंकर एशोसियसन अफ नेपालका अध्यक्ष ध्रुव तिमल्सिनाले कानुनी व्यवस्था सुदृढ तथा अध्ययन अनुसन्धानमा आधारित हुनुपर्ने धारणा राख्दै धितोपत्र व्यवसायीको क्षेत्र, दायरा तथा कार्यहरू सम्बन्धमा स्पष्ट व्यवस्था हुनुपर्ने बताए ।
स्टक ब्रोकर एशोसिएसन अफ नेपालका अध्यक्ष भरत रानाभाटले ब्रोकरको आधिकारिक प्रतिनिधि व्यवस्था कार्यान्वयनमा आउनुपर्ने सुझाए । ब्रोकर डिलरको नीतिगत व्यवस्था हुनुपर्ने, लगानी व्यवस्थापन र एडभाइजरी सेवा ब्रोकरका लागि खुला हुनुपर्ने समेत उनले माग राखे ।
विभिन्न लगानीकर्ता संघ संस्थाका प्रतिनिधिहरूले नीति तथा कार्यक्रम दोहोरिन नहुने बताएका छन् । ब्रोकरेज कमिशन न्यून हुनुपर्ने, सूचना प्रवाहमा प्रभावकारिता र विश्वसनियता हुनुपर्नेमा समेत लगानीकर्ताले जोड दिएका छन् । अनलाइनमा आवद्ध हुन प्रोत्साहनमुलक व्यवस्था हुनुपर्ने, टी प्लस टु लागू गर्न समेत बोर्डलाई सुझाएका छन् । लगानीकर्ताले सूचीकृत कम्पनीको वार्षिक साधारण सभाको प्रभावकारी नियमन हुनुपर्ने समेत उनीहरुले आग्रह गरेका छन् । एनआरएन प्रवेशमा सहजीकरण हुनुपर्ने बताउँदै नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा उनीहरुले जोड दिएका थिए ।