कारोबार संवाददाता
मंगलबार, चैत्र २५, २०७६
664

नेपालको लोकप्रिय ई–कमर्स कम्पनी सस्तोडिलले लकडाउनको प्रतिकूल अवस्थामा अत्यावश्यक वस्तुको घरैमा डेलिभरी सेवा सुरु गरेको छ ।
उपभोक्ताले सस्तोडिल डट कमको वेबसाइटमा गएर आफूलाई आवश्यक सामग्री अर्डर गरेपछि कम्पनीले काठमाडौं उपत्यकाभित्र घरैमा डेलिभरी गर्ने कम्पनीका संस्थापक अमुन थापाले बताए । त्यसका लागि न्यूनतम १ हजार रुपैयाँको खरिद गर्नुपर्ने हुन्छ ।

अनलाइन अर्डर गर्ने उपभोक्ताले अनलाइनबाटै पैसा तिर्न सक्छ्न । पैसाबाट समेत कोभिड–१९ सर्न सक्ने भएकोले नगदभन्दा अनलाइनबाट गरिने भुक्तानीलाई प्रोत्साहन गरी क्युआर कोड स्क्यानबाट भुक्तानी गर्न सकिने थापाको भनाइ छ । सेलपेबाट भुक्तानी गर्नेले सामान डेलिभरीको समयमा दस थान मास्क निःशुल्क प्राप्त गर्नेछन् । कोरोना राहत कोषमा एनएमबी बैंकको कार्डमार्फत भुक्तानी गर्दा १५ प्रतिशत र आईएम ई–पेमार्फत भुक्तानी गर्दा २ सय ५० रुपैयाँ सहयोग गरिने थापाले जानकारी दिए । अनलाइन भुक्तानी गर्न असमर्थ ग्राहकका लागि डेलिभरीको बेला नगद तिर्ने सुविधासमेत रहेको छ । नेपाल सरकारले विद्युत्को महसुलमा छुट दिएसँगै र बजारमा ग्यासको सर्वसुलभता नभएको सन्दर्भमा इन्डक्सन चुलो र राइसकुकरको माग बढेको थापाको भनाइ छ ।
सस्तोडिलका काममा खटिने कर्मचारीले पीपीई प्रयोग गरी काम गर्छ्न् । स्वास्थ्य सावधानी अपनाउनु पर्ने समय भएकाले कर्मचारीको साथै उपभोक्ताको स्वास्थ्यको मध्यनजर गर्दै काम गरेको बताइएको छ ।
सस्तोडिल डटकमद्वारा ट्राफिक प्रहरीलाई सहयोग
जोखिम समयमा जनताको सेवामा खटिएका ट्राफिक प्रहरीलाई सस्तोडिल डट कमले मास्क र सेनिटाइजर सहयोग गरेको छ । एन ९५ मास्क २०० थान, सर्जिकल मास्क ५ सय थान र १ सय थान सेनिटाइजर ट्राफिक प्रहरी प्रमुख एसएस पी भीमप्रसाद ढकाललाई हस्तान्तरण गरिएको हो ।