धर्मेन्द्र कर्ण
शुक्रवार, फाल्गुन ९, २०७६
1027

फाइभजीको विश्वको आर्थिक प्रभाव आगामी १५ वर्षमा १२ ट्रिलियन अमेरिकी डलर बराबरको हुने अनुमान गरिएको छ । फाइभजीको व्यापक अंगीकरणले विशाल नयाँ पूर्वाधारको आवश्यकता औंल्याउनेछ । यसबीच फाइभजी टेक्नलजिको विश्वव्यापी कार्यान्वयनको लागत सन् २०२० को अन्त्यसम्म २.७ ट्रिलियन अमेरिकी डलर बराबरको हुनेछ ।

काठमाडौं । विश्वभरिका व्यवसाय, सरकार र गैरसरकारी संघसंस्थाहरू सूचना प्रविधिको नयाँ पुस्ता फाइभजीको लाभबाट उत्साहित भएका छन् । सूचना प्रविधिका विज्ञहरूले फाइभजीलाई वास्तवमै क्रान्तिकारी प्रविधिको रूपमा बुझिन्छ । यसले विशाल अवसरको ढोका खोल्नेछ । सेवा नपाएको समुदायलाई जोड्ने छ । सुदूर क्षेत्रमा आर्थिक समृद्धि ल्याउने छ । मानव समुदायहरूलाई झन बढी होसियार र सुरक्षित बनाउने छ । अनि प्रविधि क्षेत्रका विभिन्न क्षेत्रमा वृद्धिलाई शक्तिशाली बनाइ रहने छ । यसका कारण विश्वभरि फाइभजी बारे उत्साह फैलिएको छ ।
उत्साह छ भनिँदैमा सबै थोक पूरा हुने होइन । फाइभजी कार्यान्वयन गर्न सक्ने आवश्यक पूर्वाधारको आवश्यकता पर्छ । उदाहरणका लागि चीनमा त्यहाँको राज्य नियन्त्रित अर्थतन्त्रले फाइभजीको पूर्वाधारका लागि व्यापक र द्रुतगतिमा विस्तार गर्न अनुमति दिएको छ । यसको विपरीत अमेरिकामा तारविहीन सेवा प्रदायकहरूले त्यहाँको स्थानीय , प्रदेश र संघीय सरकारसँग मिलेर काम गर्नुपर्छ । त्यहाँका नियामकहरू र हजारौं स्थानीय समुदायहरूले आवश्यक पूर्वाधार निर्माण गरी मिलेर काम गर्नुपर्छ । अमेरिकाले यसमा ध्यान नदिए वा ठोस बाटो नअपनाए फाइभजी टेक्नलजिको पूर्वाधार विस्तारमा पछि पर्ने देखिएको कतिपयको बुझाइ छ ।

फाइभजीलाई सामान्य रूपमा मोबाइल ब्रोडब्यान्ड टेक्नलजि पठाउने पूविधिको पाँचौ पुस्ताको रूपमा बुझिन्छ । फोर जीमा सुधार गरी द्रुतगतिमा डेटा विस्तार र नेटवर्क संवादमा हुने ढिलाईमा तीव्रता थप्ने गरी फाइभजी आउन लागेको हो । फाइभजी त्यसैले विश्वभरको कनेक्टिभिटी र ट्राफिकको आयतनमा व्यापक वृद्धिमा सहयोग गर्न सक्छ । मोबाइल मोबाइलबीचको सम्पर्क, समुदाय समुदायबीचको सम्पर्क, अर्थतन्त्र अर्थतन्त्र बीचको सम्पर्क, प्रतिष्ठान प्रतिष्ठानबीचको सम्पर्क विश्वभर गराउने कनेक्टिभिटी र ट्राफिकको वृद्धि विस्तार गराउने अर्थमा यसलाई बुझ्नुपर्छ ।
अमेरिकामा फाइभजीलाई इतिहासकै सबैभन्दा ठूलो पूर्वाधार परियोजनाको रूपमा लिइएको छ । कृत्रिम वौद्धिकता, स्वचालन वाहन, इन्टरनेट वस्तु, औद्योगिक सफ्टवेयर, रोबोटिक्स र सेमिकन्डक्टर जस्ता क्षेत्रमा फाइभजीका तैनाथीले निर्माण हुने आर्थिक मूल्य सन् २०२५ सम्म २ ट्रिलियन अमेरिकी डलर बराबरको हुनेछ । दीर्घकालीन शर्तमा भन्दा फाइभजीले विश्वको आर्थिक प्रभाव आगामी १५ वर्षमा १२ ट्रिलियन अमेरिकी डलर बराबरको हुने अनुमान गरिएको छ । फाइभजीको व्यापक अंगीकरणले विशाल नयाँ पूर्वाधारको आवश्यकता औंल्याउनेछ । मिकिन्सीको अध्ययन अनुसार फाइभजी अप्लिकेशनको कार्यान्वयनले मोबाइल ब्रोडब्यान्डलाई बलियो पार्छ । केही अनुमान अनुसार फाइभजी टेक्नलजिको विश्वव्यापी कार्यान्वयनको लागत सन् २०२० को अन्त्यसम्म २.७ ट्रिलियन अमेरिकी डलर बराबरको हुनेछ । फाइभजीका लागि दक्ष जनशक्तिको आवश्यकता हुन्छ । फाइभजीको उपकरण जडान गर्न कामदारहरूमा आवश्यक प्राविधिक सक्षमता हुनुपर्ने छ । केही सन्दर्भमा कामदालाई १०० फिटको पोलमा चढनुपर्ने क्षमता हुनुपर्ने हुन्छ । अमेरिकाको विद्यमान श्रम बजारमा तालिम प्राप्त कामदारका लागि स्थानीय सरकारले शैक्षिक प्रतिष्ठानहरूसँगको समन्वयमा कार्यक्रम अघि बढाउनुपर्ने देखिएको छ ।
स्थानीय सरकारहरूको सयोग प्राप्त गर्न सहिष्णु नियम कानुन तथा प्रक्रियाहरू सुनिश्चित गर्नुपर्ने हुन्छ । तालिमको कार्यहरूको समन्वय गर्नुपर्ने हुन्छ । नीजी क्षेत्रले अधिकारीहरूलाई फाइभजीको विषयमा शिक्षित पार्नुपर्ने हुन्छ । यसका लागि अमेरिकामा सीटीआइएले प्रसंशनीय काम गरिरहेको छ । विश्व परिवेशमा अमेरिकाले फाइभजीको अगुवा गर्न चाहेको छ भने फाइभजीको कार्यान्वयनलाई शीर्षस्थानमा राखेर गति अघि बढाइरहेको देशसँग पाइला मिलाएर हिँडनुपर्ने आवश्यकता रहेको विज्ञहरूको भनाइ छ । फाइभजीको क्षेत्रमा अगुवा देशहरूमा चीन, दक्षिण कोरिया, अस्ट्रेलिया, कतार, स्विटजरल्यान्ड, फिनल्यान्ड, स्पेन र युनाइटेड अरब इमिरेट्स रहेका छन् । विश्वभर शीर्ष पाँचमा अमेरिका पनि रहेको छ ।
चीनको सन्दर्भमा त्यहाँको सरकारले १३औं पञ्च वर्षे योजनामा फाइभजीलाई रणनीतिक उदीयमा उद्योग भनी व्याख्या गरिएको छ । साथै यसलाई वृद्धिको नयाँ क्षेत्र भनिएको छ । यसैगरी दक्षिण कोरियाले फाइभजीलाई उत्प्रेरित गर्ने नीति बनाएको छ । दक्षिण कोरियाले सन् २०२६ सम्म ६ लाख रोजगार सिर्जना गर्ने र ७३ अर्ब अमेरिकी डलर बराबरको निर्यात गर्ने महत्वाकांक्षी लक्ष्य लिएको छ । व्यापारिक सेवाको क्षेत्रमा अमेरिका अहिले पनि अगाडि रहेको छ । चिनियाँ सञ्चालकहरूले सन् २०२०सम्म फाइभजी सेवा शुरूवात गर्ने योजना नबनाएको अवस्थामा अमेरिकाका प्रमुख वायरलेस कम्पनीले केही शहरहरूमा फाइभजी सेवा सञ्चालनमा ल्याएको छ । उनीहरूले यसलाई विस्तार गर्ने निश्चित योजनाको घोषणा गर्ने भएको छ ।
अमेरिकाको केही ठाउँमा पब्लिक प्राइभेट साझेदारीले फाइभजीलाई द्रुतगतिमा काम अगाडि बढाउन लागेको देखिएको छ । सन् २०१७मा साक्रामेन्टो, क्यालिफोर्नियाले भर्जनको परीक्षण कार्यक्रम घोषणा गरेको थियो । यसै गरी परीक्षण कार्यक्रम प्रक्रियामा रहेको वा तत्काल रोकिएको एन्ड आर्बर, मिचिगन, एटलान्टा, जर्जिया, डालास र हटसन, टेक्सास, डेनभर, कोलोराडो, मियामी, फ्लोरिडा, सियाटल, वासिंटन र वासिंटन डिसी रहेका छन् ।
अमेरिकाले फाइभजीबाट फाइदा लिन ढिलाइ गरेमा रोजगार, सिर्जना, शिक्षा, स्वास्थ्य तथा सुरक्षा र सामुदायिक विकासमा पछि पर्नु हुने विज्ञहरूको बुझाइ छ । साथै अमेरिकाले यसको न्यायपूर्ण हिस्सा विश्व अर्थतन्त्रलाई पनि दिनुपर्ने हुन्छ । यसो गरेमा मात्र अमेरिकाले फाइभजीमा अगुवाइ भूमिका पाउन सकिन्छ । अमेरिकाका लागि फाइभजीमा अगुवा भूमिका पाउन केही मत्वपूर्ण बाटो तय गर्नुपर्ने विज्ञहरूले आवश्यकता औंल्याएका छन् । प्रदेश र स्थानीय सरकारका नियम कानुन र अनुमति प्रक्रिया सहिष्णु र समन्वयकारी हुनुपर्ने छ । दक्ष जनशक्तिको आपूर्ति सुनिश्चित गर्ने तालिम कार्यक्रम अगाडि बढाउनुपर्ने हुन्छ । फाइभजी नवपवर्तन र तैनाथी सम्बन्धी कार्यमा पब्लिक प्राइभेट पार्टनरसीपको स्थापना गर्नुपर्छ ।
नेपालमा फोर जीको विस्तार भइरहेको छ । निकट भविष्यमा फाइभजीलाई ल्याउने योजना यस्तै आधारमा गर्नुपर्ने हुन्छ । नेपालका विभिन्न राजनीतिक दलले नेपालको आर्थिक विकासका लागि सार्वजनिक नीजी साझेदारीको बाटो भएको स्वीकार गरिसकेका छन् । फाइभजीको बाटो भएर नेपालले छलाङ मार्ने भएकाले यस्ता विषयमा अन्तर्राष्ट्रिय क्षेत्रको अनुभवलाई निकटबाट नियालिरहनु पर्ने हुन्छ । यस्ता प्रविधिले अर्थतन्त्रमा दिने मुनाफाको अवस्था र समस्याको चाङ दुवैलाई तुलनात्मक अध्ययन गरिहनुपर्ने हुन्छ । सरकाले एक्लै चाहेर पनि सबै थोक गर्न नसक्ने भएर बाटो भनेको पीपीपी नै हो ।