कारोबार संवाददाता
शुक्रवार, पुष २५, २०७६
626

दक्षिण अमेरिकी देश ब्राजिलले चिनियाँ कम्पनी ह्वावेको फाइभजी नेटवर्कको लागि अमेरिकाको कुनै दबाब स्वीकार नगर्ने भएको छ । दक्षिण अमेरिकी देश ब्राजिलको विज्ञान प्रवधि नवपवर्तन तथा सञ्चार मन्त्री मार्कोस पोन्टेले जनाएका छन् ।
ब्राजिलमा फाइभजीका लागि बोलकबोलको प्रक्रिया यो वर्षको मार्चमा हुने तय भएको छ । त्यसमा ह्वावेले पनि भाग लिन पाउने भएको छ । खगोल शास्त्री समेत रहेका ब्राजिलका सञ्चार मन्त्री पोन्टेले ह्वावेको फाइभ जी नेटवर्कलाई प्रतिस्पर्धामा रोक लगाउन नहुने बताए ।

चिनियाँ बहुराष्ट्रिय कम्पनी ह्वावे आफ्नो फाइभ जी प्रविधि विस्तारमा जोडतोडले लागिरहेको छ । यद्यपी अमेरिकाको प्रतिबन्धका कारण फाइभ जी विस्तार विश्वभर बहसको विषय पनि बनेको छ । विश्वका मुलुकसँग फाइभ जी विस्तारको सम्झौता गर्दै आएको ह्वावेलाई क्यानडा समेत सकारात्मक देखिएको छ ।
ह्वावेका संस्थापककी छोरी मेइ वाङझुलाई अमेरिकाको निर्देशनमा पक्राउ गरेको क्यानडामा पछिल्लो पुस्ताको टेलिकम्युनिकेसन प्रविधिप्रति भने सकारात्मक देखिएको हो । यद्यपी क्यानाडामा त्यहाँको सरकारले ह्वावेको फाइभ जीलाई अनुमति दिने विषयमा निर्णय गर्न खोज्दा त्यहाँ राजनीतिक दबाब बढ्दै गएको देखिएको छ । क्यानाडाको नयाँ पुस्ताको मोबाइल नेटवर्क बनाउन चिनियाँ कम्पनी ह्वावेलाई अनुमति दिने नदिने विषयमा त्यहाँको उदारवादी सरकारले निर्णय लिन खोजेको हो ।
फाइभजी नेटवर्कले मानिसहरूबीचको सम्पर्कलाई द्रुतगतिमा गराउने र धेरै भन्दा धेरै डेटा उपलब्ध गराउने भएकोले यसको प्रयोग गरिँदै छ । भर्चुअल रियालिटी र स्वचालित वाहन जस्तो क्षेत्रमा यसको उपयोग धेरै लाभकारी हुने अपेक्षा गरिएको छ । इन्टरनेट वस्तु तथा सेवालाई अझ द्रुतगतिमा काम गर्न सक्ने बनाउनेछ ।
क्यानाडामा फाइभ जीका लागि चिनियाँ कम्पनी ह्वावे, स्विडेनको एरिक्सन र फिनल्यान्डको नोकिया प्रतिस्पर्धामा रहेका छन् । क्यानाडाको प्रतिपक्षी दल कन्जरभेटिभ पार्टीले उदारवादी पार्टीमाथि फाइभ जीको पूर्वाधार विस्तार गर्न ह्वावेलाई नदिन दबाब दिन थालेका हुन् । उनीहरूले ह्वावेलाई अनुमति दिए यसले चिनियाँ सरकारका लागि जासुसी गर्ने आरोप लगाइरहेका छन् ।
केही सुरक्षा विज्ञहरूले ह्वावेको फाइभ जी सुरक्षित रहेको जनाइरहेकाले अनुमति दिन हुने तर्क गरिरहेका छन् । गत नोभेम्बरमा हालिफ्याक्सको मञ्चमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकारले ह्वावेलाई अनुमति नदिन आग्रह गरेका थिए ।
क्यानाडाका लागि चिनियाँ राजदूत कङ पियुले हुवावेइमाथि लगाइएको आरोप निराधार भएको सार्वजनिक अभिव्यक्ति दिएको एक दिनपछि अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकारको यस्तो चेतावनी सार्वजनिक भएको थियो । अमेरिकी राष्ट्रपति ट्रम्पले ह्वावेमाथि प्रतिबन्ध लगाएपछि हाउस अफ कमन्सका कन्जरभेटिभहरूले ट्रडउ सकारमाथि दबाब दिन थालेका हुन् । कन्जरभेटिभ सांसद स्टिभन ब्लानीले भने, “लिबरल सरकारले ह्वावेमाथि कहिले प्रतिबन्ध लगाउँछ?” क्यानाडाले ह्वावे फाइभजीका बारेमा बेलायतको निर्णय पर्खि बसेको देखिएको छ । यता भारतमा भने ह्वावेको फाइभ जी परिक्षण हुने भएको छ । ह्वावेले हालै मात्र भारतबाट यस्तो अनुमति पाएको हो ।
अमेरिकी प्रतिबन्धका बाबजुद सन् २०१९ मा ह्वावेको बजार घटेको छैन । उल्टै १८ प्रतिशतले बढेको तथ्यांक छ । ह्वावेले एक वर्षमा २ करोड ४० लाख स्मार्टफोन विश्व बजारमा विक्री गरेको छ । ह्वावेले अमेरिकी प्रतिबन्धपश्चात एन्ड्रोइड अपरेटिङ सिस्टम औपचारिक रुपमा प्रयोग नगरी स्मार्टफोन बजारमा ल्याउन थालेको छ ।