कारोबार संवाददाता
शुक्रवार, मंसिर ६, २०७६
292

प्रविधि कम्पनी गुगलले सार्वजनिक रुपमा भोटरहरुलाई प्रभावित पार्ने राजनीतिक विज्ञापनहरु रोक्ने भएको छ । कम्पनीले हालै ब्लगस्पटमा भोटरको रेकर्ड वा सामान्य राजनीतिक सम्बन्ध भएको डाटासहितको निर्वाचन विज्ञापन रोक्ने बताएको हो । विशेषगरी २०२० मा आयोजना हुने अमेरिकी राष्ट्रपतिय निर्वाचनलाई ध्यानमा राखेर यस्तो कदम चालिएको हो ।
गुगलले चुनावी विज्ञापनहरुका लागि अडियन्स लक्ष्यलाई सीमित गर्ने र त्यसमा उमेर, लिंग र पोस्टल कोड लेभलमा भएको जनरल लोकेसन रहेका छन् । यसको अर्थ उमेर, लिंग र स्थानको आधारमा लक्षित गरेर भने चुनावी अभियान गर्न सकिनेछ ।

यो कदम सामाजिक मिडिया प्लेटफर्महरुमा राजनीतिक विज्ञापन रोक्न दबाब निकै रहेको समयमा आएको छ । गुगलले यो नयाँ नियम यूट्यूब र गुगल सर्चमा पनि लागू गर्ने भएको छ । यो नियम सबैभन्दा पहिले बेलायतमा एकसाता भित्रै लागू हुनेछ भने त्यसपछि बिस्तारै अन्य स्थानहरुमा जानेछ । यो नियम यूरोपेली संघमा यो वर्षको अन्त्यमा र अन्य देशहरुमा जनवरी ६ तारिखदेखि क्रमशः लागू गर्नेछ ।
कम्पनीले भ्रामक तथ्यांक र जानकारी भएका विज्ञापनहरुमाथि एक्सन लिने बताएको छ । यसअघि गुगलमा भेरिफाइड राजनीतिक विज्ञापनहरुले यूजरको व्यवहारहरुलगायतका डाटा प्रयोग गर्न पाउने गर्दथे । जसले गर्दा भोटरहरुको राजनीतिक झुकावको बारेमा जानकारी हुन्थ्यो ।