कारोबार संवाददाता
बिहिवार, मंसिर ५, २०७६
332

कर दिवसका दिन उत्कृष्ट करदाताको सूचीमा नपरे पनि नेपाल टेलिकमले ठूला करदाता कार्यालयबाट भने विशेष सम्मान पाएको छ । कार्यालयले बुधबार टेलिकमलाई आफ्नो कार्यक्षेत्रबाट सबैभन्दा बढी आयकर बुझाएको भन्दै सम्मान गरेको हो । ‘आर्थिक वर्ष २०७४-७५ मा सबैभन्दा बढी आयकर दाखिला गर्नुभएकाले आठौं राष्ट्रिय कर दिवस २०७६ को अवसरमा यो सम्मानपत्र प्रदान गरिएको छ’ टेलिकमलाई ठूला करदाता कार्यालय ललितपुरले प्रदान गरेको सम्मानपत्रमा भनिएको छ ।
टेलिकमलाई ठूला करदाता कार्यालयले सबैभन्दा बढी आयकर बुझाएको भन्दै सम्मान गरे पनि आन्तरिक राजस्व कार्यालयले भने गत आइतबार सूर्य नेपाल प्रालिलाई सबैभन्दा बढी आयकर बुझाएको भन्दै सम्मान गरेको थियो । सोही अवसरमा विभिन्न क्षेत्रमा सबैभन्दा बढी कर तिर्ने १५ करदाता कम्पनीलाई सम्मान गरिएको थियो । त्यसमा ठूला करदाता कार्यालयमा रहेका १० वटामात्र कम्पनी सम्मानित भएका थिए । ११ औं नम्बरमा रहेको टेलिकमलाई कार्यालयको कार्यक्षेत्रबाट उत्कृष्ट करदाता कम्पनीको रुपमा सम्मानित गरिएको जनाइएको छ । प्रत्येक कार्यालयले आफ्नो कार्यक्षेत्रभित्र रहेका उत्कृष्ट करदातलाई सम्मान गर्ने प्रचलन रहेको छ । त्यसैका आधारमा सेवा क्षेत्रअन्तर्गत टेलिकमले यो सम्मान प्राप्त गरेको हो ।