दीननाथ बराल
सोमवार, भदौ ३०, २०७६
1380

पोखरा-नेपालमा डिजिटल पेमेन्ट सेवा प्रदान गर्दै आएको कम्पनी ई–सेवाको दुरुपयोग हुँदा सेवाग्राही ठगिन पुगेका छन् । सामाजिक सञ्जाल (फेसबुक) तथा मोबाइल फोनको माध्यमबाट ह्याकरले ई—सेवामार्फत सेवाग्राहीको रकम ठगी गरेका छन् ।
पोखरा क्षेत्रमा केही दिनयता ह्याकरले फेवबुक नै ह्याक गरी ई—सेवा सञ्चालन नगरेका तर फेसबुक कम चलाउने व्यक्तिहरूको फेसबुक ह्याक गरी विभिन्न व्यत्तिहरूसँग म्यासेन्जरबाट रकम माग गरी ठगी गरेको रहस्य खुलेको हो । ४ दिनअघि पोखराकी जया पौडेलले आफन्तको अनुरोधमा पोेखराकै गुप्त शर्माको ई—सेवामा ३ हजार रुपैयाँ पठाइन तर उक्त रकम शर्माको ई—सेवामा देखिएन् । तर, उक्त रकम ह्याकरले दुरुपोयोग गरेको शर्माले बताए । शर्माका आफन्तले ई—सेवामा पैसा पठाएको बिषयमा जानकारी गराएपछि शर्माले आफ्नो फेसबुक ह्याक भएको जनाए ।

त्यसैगरी शर्माको फेसबुकबाट ह्याकरले स्याङजाका नविन पौडेलसँग २ हजार रुपैयाँ माग गरी ठगी गरेको छ । म्यासेन्जरमा तपाईसँग ई–सेवा छ भनेर सोध्ने र छ भने पछि मलाई अप्ठ्रो प¥यो भन्दै २ हजार माग गरेसँगै पौडेलले आफन्तसँगबाट ई–सेवामार्फत २ हजार पठाएका थिए । पोखरा २२ का राजु क्षेत्रीको म्यासेन्जरमा शर्माको म्यासेन्जबाट कुराकानी गर्दै मोबाइल नम्बर माग गरेको थियो । ह्याकरले क्षेत्रीको मोबाइलमा आएको भेरिफिकेसन कोर्ट नम्बर माग गरेपछि क्षेत्रीले रातिको समयमा के कुरा गरेको भने पछि ह्याकरले थप कुराकानी नगरेकेको क्षेत्रीले जनाए । क्षेत्रीले हालसम्म कुनै ई–सेवा समेत नखोलेको उनले जनाए । ह्याकरले राति १० बजेदेखि १२ बजेसम्म कुराकानी गर्ने गरेको पीडितहरूले गुनासो गरे । शर्माले आफ्नो फेसबुक ह्याक भएको कुरा जिल्ला प्रहरी कार्यालयमा जानकारी गराएसँगै कास्की प्रहरीले उनको फेसबुक रिकोभर गरेकोे थियो ।
यसरी ई–सेवाबाट रकमको ठगी गर्न ह्याकरले सर्वप्रथम कम सेक्युरिटी भएका फेसबुक एकाउन्टलाई ह्याक गर्ने गरेको भेटिएको छ । ह्याकरले कसैको फेसबुक ह्याक गरिसके पछि फेसबुकको साथीहरूको लिस्टबाट सबैभन्दा नजिक देखिने तर फेसबुकमा कम कुराकानी हुने साथीहरूको लिस्ट तयार पारी उनीहरूको मोबाइल नम्बर माग्ने गर्छन् । मोबाइल नम्बर मागेपछि ह्याकरले सोही नम्बरमा ई–सेवा एकाउन्ट छ कि छैन भनेर चेक गर्ने र नभएमा ई–सेवा एकाउन्ट खोल्ने गर्छन् । नयाँ ई–सेवा एकाउन्ट खोल्नलाई ई–सेवाले भेरिफिकेसन कोड पठाउने गर्छ । जब ई–सेवाले भेरिफिकेसन कोड उक्त नम्बरमा पठाउँछ ह्याकरले पुनः सोही व्यक्तिलाई हजुरको मोबाइलमा कोड आएको छ कोड पठाइ दिनुहोस् भनेर अनुरोध गर्छन् । जब व्यक्तिले कोड दिन्छन् त्यतिबेला कोडसँगै आफ्नो नम्बरको ई– सेवा आईडी अन्जानमा ह्याकरलाई सुम्पिन्छन ।
यसरी एउटा ह्याकरले पैसा माग्न फेसबुक ह्याक गरेर एउटालाई शिकार बनाउँछ, पैसा पठाउनेलाई आर्थिक हिसाबले शिकार बनाउँछ र जसले जो भनेर पैसा पठाएको हुन्छ त्यो पैसा पाउने भन्ने व्यक्तिको नाममा ह्याकरले ई–सेवा एकाउन्ट खोलेर उसलाई समेत शिकार बनाउँछ । ह्याकरले केही ठाउँमा अस्लील फोटो तथा भिडियोसमेत अन्य चिने जानेकालाई पठाउने गरेको पाइन्छ ।
पछिल्लो समय ई–सेवामा ठगीका उजुरी तथा गुनासो धेरै आउन थालेको ग्राहक सेवा केन्द्रका कर्मचारी बिन्दु दर्लामीले बताइन् । अनभेरिफाइड आइडीबाट दिनमा अधिकतम ५ हजार कारोबार गर्न मिल्ने बताउँदै दर्लामीले यदि कोही ठगिएमा पुलिस रिपोर्ट गरेमा वा कुनै आधारबाट ई–सेवालाई निवेदन दिएमा त्यो आइडिको कारोबार ब्लक गरेर २० देखि ३० दिनसम्ममा सम्बन्धित व्यक्तिको रकम फिर्ता गराउन सकिने बताइन् ।