सरस्वती ढकाल
मंगलबार, भदौ ३, २०७६
352

नेपाल दूरसञ्चार प्राधिकरणले व्यवसायी अजेयराज सुमार्गीको लगानीमा सञ्चालित नेपाल स्याटेलाइट टेलिकम कम्पनीको अनुमतिपत्र (लाइसेन्स) खारेज गरेको छ । प्राधिकरण वोर्ड बैठकले झन्डै ८० करोड रुपैयाँ बक्यौता नतिरेपछि कम्पनीको लाइसेन्स खारेज गर्ने निर्णय गरेको हो । कम्पनीले ‘हेलो नेपाल’ मार्फत पश्चिम नेपालमा दूरसञ्चार सेवा विस्तार गरेको छ ।
प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले सरकारलाई तिर्नुपर्ने बक्यौता नबुझाएपछि लाइसेन्स खारेज गरिएको जानकारी दिए । प्राधिकरणको निर्णय चित्त नबुझे कम्पनीले ३५ दिनभित्र सरकारविरुद्ध पुनरावेदनमा जान सक्नेछ । “दूरसञ्चार क्षेत्रमा ठूलो कम्पनीको लाइसेन्स खारेज भएको पहिलो पटक हो,” अध्यक्ष खनालले भने, “यो क्षेत्रमा सुधार धेरै गर्नुपर्ने छ, कानुनबमोजिम सेवा विस्तार नगर्ने कम्पनीमाथि अनुगमन गर्ने कार्य जारी छ ।” दूरसञ्चार क्षेत्रलाई व्यवस्थित र कानुनसम्मत ढंगले सञ्चालन गर्न कुनै कसर बाँकी नराख्ने उनले बताएका छन् ।

कम्पनीले ग्रामीण क्षेत्रमा दूरसञ्चार सेवा सञ्चालन गर्नेगरी २०६४ मा लाइसेन्स पाएको थियो । मध्य तथा सुदुरपश्चिममा सेवा दिइरहेको उक्त कम्पनीले उपत्यकाबाहिर मात्रै सेवा दिँदै आएको छ । कम्पनीले प्राधिकरणलाई बुझाउनुपर्ने रोयल्टी तथा नवीकरण शुल्क बुझाउन जेठ मसान्तसम्म अन्तिम समयसीमा र पछि फेरि समय थप गरेर आइतबारसम्मको समय दिएको थियो । तर, उक्त समयसीमा नाघेपछि प्राधिकरणको आइतबारको बोर्ड बैठकले लाइसेन्स खारेज गरेको छ ।
कम्पनीले मध्यपश्चिमको ग्रामीण क्षेत्रबाट सेवा थालेर सुदूरपश्चिम र पश्चिमाञ्चलमा सेवा दिनसक्ने गरी आधारभूत दूरसञ्चार सेवाको लाइसेन्स पाएको थियो । कम्पनीले प्राधिकरणबाट १८ सय ब्यान्डमा ९ मेगाहर्ज र ९ सय ब्यान्डमा ४.४ मेगाहर्जको फ्रिक्वेन्सी पाएको छ । यो कम्पनी अहिलेसम्म तोकिएको शर्त पूरा गरेर सहरी क्षत्रेसम्म सेवा विस्तार गर्न भने सकेको छैन । प्राधिकरणले इन्टरनेट सेवा प्रदायक आइटेल कम्युनिकेसन, वेबसर्फरको लाइसेन्ससमेत पनि खारेज गरेको छ ।
पछिल्लो एक दशकयता नेपालमा आक्रामक रुपमा विस्तार भएको दूरसञ्चार क्षेत्रमा प्रयोगकर्ता दिनप्रदिन बढेका छन् । दूरसञ्चार क्षेत्रको नियामक निकाय प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार ४ करोड ११ लाख १० हजारले भ्वाइस सेवा र १ करोड ९० लाख डेटा सेवा प्रयोगकर्ता छन् । स्याटेलाइट टेलिकमका ग्राहक शून्य भएको प्राधिकरणको जेठसम्मको प्रतिवेदनमा उल्लेख छ । नेपालमा इन्टरनेट प्रयोगकर्ताको संख्यासमेत दिनप्रतिदिन बढ्दो छ । हातहातमा मोबाइल र शिक्षामा भएको पहुँच वृद्धिसँगै इन्टरनेट प्रयोगकर्ता बढेका हुन् । एमआइएसअनुसार १ करोड ९० लाख अर्थात कुल जनसंख्याको ६४.४६ प्रतिशत नेपाली इन्टरनेट पहुँचमा छन् । स्याटेलाइट टेलिकमका ग्राहक इन्टरनेटमा पनि नभएको प्राधिकरणको प्रतिवदेनले उल्लेख छ ।