कारोबार संवाददाता
सोमवार, भदौ २, २०७६
317

चौथो संस्करणको आईसिटी अवार्ड–२०१९ मा १० विधामा अवार्ड वितरण गरिएको छ । ‘सूचना प्रविधिमा सम्भावना र उत्कृष्टताको खोजी’ मूल नारासहित भएको अवार्ड कार्यक्रमका विजयीहरूलाई शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल, पूर्वमन्त्री गणेश साह, पूर्वमन्त्री एवं सांसद महेश बस्नेतले सम्मानपत्र वितरण गरेका हुन् ।
१० विधाअन्तर्गत स्टार्टअप आईसिटी अवार्ड ई–डिजिटल नेपाल, प्रडक्टतर्फ मेडिफ्लो सिस्टम एन्ड सर्भिसे र राइजिङ स्टुडेन्ट प्रोजेक्ट अवार्ड पुल्चोक क्याम्पसका विद्यार्थीहरूले विकास गरेको प्लाटफर्म ‘रक्तदान’ले जितेको छ । आईसिटी पायोनियर अवार्ड राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष एवं विकास अभियान्ता महावीर पुनले पाए भने आईसिटी आन्टरप्रेनियर अवार्डबाट जानकी टेक्नोलोजीका प्रमुख कार्यकारी अधिकृत अमित अग्रवालले पाएका छन् ।

विदेशमा रहेर पनि नेपालको आईटी क्षेत्रमा उल्लेख्य योगदान दिने व्यक्तिलाई दिइने नेपाली डायस्पोरा आईसिटी अवार्ड एआई कम्पनी फ्युज मेसिनका संस्थापक डा. समीर मास्केले पाएका छन् ।
आइसिटी अवार्डअन्तर्गत सार्वजनिक सेवाप्रवाहमा सूचना प्रविधिको उच्चतम प्रयोग गर्ने सरकारी कार्यालय÷संस्थालाई दिइने डिजिटल गभर्नेन्स अवार्ड लोकसेवा आयोगले प्राप्त गरेको छ । त्यसैगरी सूचना प्रविधिलाई अधिकतम प्रयोग गरी शिक्षण पद्धतिमा सुधार ल्याएको मूल्यांकन गर्दै नेपाल खुला विश्वविद्यालयलाई डिजिटल एजुकेसन आइसिटी अवार्ड पाएको छ । १९ वटा प्रडक्ट तथा स्टार्टअपमध्ये किताबयात्रा प्रालिले पब्लिक च्वाइस अवार्ड–२०१९ प्राप्त गरेको छ ।