कारोबार संवाददाता
शुक्रवार, श्रावण ३, २०७६
456

अमेरिकी सांसदहरूले फेसबुकले ल्याउन खोजेको क्रिप्टोकरेन्सी ‘लिब्रा’ योजनाको कटु आलोचना गरेका छन् । विश्वको वित्तीय प्रणाली र ग्राहकका डेटा संरक्षण गरी सुरक्षा प्रदान गर्ने पत्यारिलो आधार फेसबुकले उपलब्ध गराउन नसकेको अमेरिकी सांसदहरूले बताएका छन् ।
सुनुवाईको क्रममा देखिएको आलोचनाले गर्दा फेसबुकको ‘लिब्रा’ योजनालाई तुहाइदिने गरी धक्का पुगेको अनुमान गरिएको छ । फेसबुकले इन्टरनेट मुद्राको रूपमा चिनिएको क्रिप्टोकरेन्सीको रूपमा लिब्रा ल्याउन लागेको जनाएको थियो । यो नयाँ डिजिटल मुद्रा हुने भन्दै सन् २०२०मा फेसबुकले लिब्रा ल्याउन चाहेको हो ।

विश्वका २ अर्ब ३८ करोड मानिस फेसबुकका उपभोक्ता छन् । डिजिटल मुद्रालाई उनीहरूले अंगीकार गर्ने अपेक्षा फेसबुकले गरेको भए पनि सांसद र वित्तीय प्रणालीको निगरानी गर्ने नियामक निकायहरूले तत्काल सम्भावनालाई टाढा पु-याएको देखिएको छ । अमेरिकी सदनको वित्तीय सेवा समितिमा यो विषय सुनुवाईका लागि प्रस्तुत हुँदा समितिकी अध्यक्ष म्याक्सिन वाटर्सले फेसबुकको डिजिटल मुद्रा र डिजिटल वालेटको निर्माण योजनामा गम्भीर आंशका रहेको आफ्नो प्रारम्भिक सम्बोधनमा भनिन् । उनले भनिन्, “फेसबुकले ल्याउन खोजेको यो योजना सफल भए कम्पनी र यसका साझेदारहरूले आर्थिक शक्ति कब्जा गरी विश्वका मुद्राहरू र सरकारहरूलाई हल्लाइदिन सक्ने छन् ।”
समितिका अन्य सदस्यहरूले पनि लिब्राले ल्याउने समस्याको समाधान, डेटाको गोपयनीयता, ग्राहकको संरक्षण र सम्पत्ति शुद्धीकरणका समस्याबारे फेसबुकले कुनै ठोस योजना प्रस्तुत नगरेको भनी आलोचना गरे । अमेरिकी सदनको संसदीय समितिमा लिब्रामाथिको संसदीय सुनुवाईका क्रममा तनावको स्थिति पैदा गरायो । पछिल्ला केही समययता फेसबुक कानुनी समस्यामा फसेको छ । फेसबुक विरूद्ध ग्राहकका डेटालाई सुरक्षा प्रदान गर्न नसकेको र उपभोक्ता डेटाको ठीक तवरले प्रयोग गर्न नसकेको आरोप लागेको छ ।
अमेरिकी राष्ट्रपति चुनाव २०१६ मा रसियनहरूले गरेको हस्तक्षेप रोक्न फेसबुक नसकेको र उपभोक्ताका डेटाहरूको दुरूपयोग गरिएको आरोप विभिन्न निकाय अन्तर्गत रहेको छ । अमेरिकाको संघीय नियामक निकायले फेसबुकले यस्तै एक ऊजुरीमा ५ अर्ब अमेरिकी डलर बराबको जरिवाना हुनुपर्ने सिफारिश गरेको छ । यसको अन्तिम निर्णय अमेरिकाको न्याय विभाग हुन भने बाँकी रहेको छ । फेसबुकले आफ्नो वालेट क्यालिब्राले मात्र आवश्यकता परेको बेला फेसबुक र बाह्य पार्टीसँग डेटा साझा गर्ने जनाएको छ ।
यसबीच विश्वभरका सामाजिक स१जालमा फेस एप भाइरल भएको छ । यसअघि पनि यस्तो एप भाइरल नभएको हैन तर यस पटक विश्वभर यसको प्रयोग दिनानुदिन बढिरहेको छ । नेपालमा पनि हालको फोटो पोष्ट गरेर बुढ्यौलीमा देखिने फोटो बनाइदिने एप भाइरल भइरहेको छ । आर्टिफेसियल इन्टिलिजेन्सको प्रयोगले फोटोमा परिवर्तन गराउने यो एपबाट उपभोक्ता रोमाञ्चित भइरहेका देखिन्छन् । तर, यस्तो एपमा सुरक्षा चुनौति रहेको भन्दै अमेरिकन सिनेटहरुले यसको विरोध गरेका छन् ।