कारोबार संवाददाता
शुक्रवार, श्रावण ३, २०७६
488

विश्व बजारमा ड्रोनको प्रयोग व्यावसायिक, सामाजिक सेवा र व्यक्तिगत प्रयोजनमा पनि प्रयोग बढ्दो छ । विश्वमा ड्रोनको बजार द्रुतगतिमा बढिरहेका बेला अमेरिकाले भने चिनियाँ ड्रोन उत्पादनप्रति आंशका व्यक्त गरेको छ ।
आगामी दशकमा विश्वव्यापी गैरसैनिक प्रयोजनको ड्रोन बजार १४.३ अर्ब अमेरिकी डलर भन्दा बढीले विस्तार हुने देखिएको छ । चीनका उत्पादकहरूको वर्चस्वले गर्दा आगामी दशकमा अहिलेको भन्दा तीन गुना भन्दा बढीको बिक्री ड्रोन बजारमा हुने देखिएको हो । तर अमेरिकी अधिकारीहरूले यसलाई राष्ट्रिय सुरक्षाका लागि जोखिम हुने भनी चेतावनी दिएका छन् । यो वर्ष ड्रोनको हालको बजार ४.९ अर्ब अमेरिकी डलर बराबरले विस्तार गरिएको पाइएको छ ।

अमेरिकाको हवाई नियामक संघीय उड्डयन प्रशासनले ड्रोनलाई अनुमति दिएको छ भने वाणिज्य उद्योगले यसलाई प्रयोगमा ल्याएयता बिक्री बढेको हो । टील ग्रुपले यससम्बन्धी गरेको अध्ययनका आधारमा ड्रोन बजार यसरी विस्तार हुने जनाइएको हो । अमेरिका र अमेरिकाका निजी कम्पनीले चिनियाँ कम्पनीका ड्रोनहरूले गम्भीर प्रकृतिका डेटा र फुटेज चिनियाँ सरकारलाई पु¥याउने चिन्ता व्यक्त गर्छन् । चिनियाँ उत्पादनका ड्रोनहरूले यो बजारमा तीन चौथाइ हिस्सा ओगटेका छन् । गत मेमा अमेरिकाको गृह मन्त्रालयले चिनियाँ ड्रोनबाट अमेरिकाको राष्ट्रिय सुरक्षामा जोखिम थपिएको भनी चिन्ता जाहेर गरेको थियो ।
ड्रोन बनाउने कम्पनी डीजेआईले यस्तो आरोपलाई निराधार र भ्रमपार्ने खालको रहेको प्रतिवाद गरेको छ । तर आफूले बनाएको ड्रोनको डेटाहरूमाथिको पूर्ण नियन्त्रण ग्राहकहरूमा नै हुने गरेको कम्पनीका प्रवक्ताले जनाएका छन् । ड्रोनहरूको प्रयोग, निर्माण, ऊर्जा र खानी क्षेत्रका प्रसारण लाइन लगायतका काममा ड्रोनले सघाउने गरेको छ । साथै कृषि क्षेत्रमा पनि ड्रोनले खेतमा बिउ छर्ने, खेतमा हुने उब्जनीको अनुमान जस्ता काम पनि गर्ने गरे गरी बजार विस्तार हुने गरेको छ ।
सन् २०१७ मा अमेरिकी सेनाले चिनियाँ कम्पनी डीजेआईले बनाएका ड्रोनको प्रयोगलाई रोकेको थियो । राष्ट्रिय प्रतिरक्षा प्राधिकरण कानुनमा चिनियाँ ड्रोनको प्रयोग विषयमा रोक लगाएका प्रावधान समावेश छ । क्यालिफोर्नियामा रहेको कम्पनी केइपले ड्रोनका सफ्टवेयर बिक्री गर्ने गर्दै आएको छ । यो ड्रोन कम्पनीले कानुन कार्यान्वयन गर्ने विभिन्न नियोगहरूलाई सफ्टवेयर बिक्री गर्ने गरेको छ । उसले डीजेआइ र अन्य चिनियाँ कम्पनीहरूसँगको सम्बन्ध रोक्ने जानकारी दिएको छ । ड्रोन बनाउने कम्पनीको विवाद राष्ट्रिय सुरक्षामा खतराको विषयमा जोडिन पुगेको पहिलो चिनियाँ कम्पनी होइन । यसअघि यहि कारणले ह्वावे र अमेरिकाबीचको विवाद बढेको देखिएको थियोे ।