कारोबार संवाददाता
सोमवार, असार २३, २०७६
544

नेपाली स्टार्टअप कम्पनी खल्तीले संयुक्त राष्ट्र संघअन्तर्गतको संयुक्त राष्ट्रसंघीय पुँजी विकास कोष (यूएनसीडीएफ) र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्र संघीय आर्थिक तथा सामाजिक आयोग (युनेस्क्याप) ले संयुक्त रूपमा आयोजना गरेको फिनटेक इनोभेसन फन्ड जित्न सफल भएको छ । खल्तीसँगै एसिया र प्रशान्त क्षेत्रका जम्मा १० वटा उद्यमहरू उक्त इन्नोभेसन फन्डको विजेता घोषित भएका हुन् ।
उक्त फन्ड जितेपछि खल्तीले महिलाले नेतृत्व गरेका लघु, साना र मझौला आकारका उद्यमहरूलाई व्यवसाय वृद्धि र बजार विस्तारका लागि सहयोग गर्न एक विशेष कार्यक्रम ल्याउने जनाएको छ । खल्तीले उक्त कार्यक्रम कार्यान्वयन गर्न ३ हजार ५ सय महिला आबद्ध भएको सञ्जाल सार्क बिजनेस एसोसिएसन अफ होम बेस्ड वर्कर्स (सबह) नेपालसँग सहकार्य गर्ने भएको छ । सबह नेपालले गृहिणीहरूको सीपलाई व्यवसायीकरण गरी विभिन्न सामान उत्पादन गर्दै आएको छ । परियोजना सञ्चालन गर्नका लागि यूएनसीडीएफ र युनेस्क्यापले संयुक्त रूपमा खल्तीलाई वित्तीय र प्राविधिक सहयोग प्रदान गर्नेछन् ।

यस परियोजनाअन्तर्गत पूर्वमा संखुवासभादेखि पश्चिममा दार्चुलासम्मका १२ वटा जिल्लाहरूमा ३ हजार ५ सयभन्दा बढी महिला उद्यमीहरूलाई सहयोग गरिनेछ । खल्तीले उनीहरूलाई आत्मनिर्भर हुन र व्यवसाय थप विस्तार गर्न मद्दत पु-याउनेछ । साथै खल्तीले स्मार्ट छोरीहरूलाई पनि उक्त महिला उद्यमीहरूलाई सहयोग गर्न परिचालन गर्नेछ ।
इन्नोभेसन फन्डको विजेता घोषित भएपछि खल्तीका निर्देशक अरविन्द साहले नेपालको सन्दर्भमा हेर्ने हो भने लघु, साना र मझौला आकारका उद्यमहरू रोजगारीका महत्वपूर्ण स्रोत भएको बताए । यस्ता उद्यमहरूले व्यवसाय सञ्चालन तथा विस्तारका लागि ऋण र अन्य वित्तीय सेवाहरू प्राप्त गर्न कठिनाइको सामना गरिरहेको भन्दै उनले खल्तीको मोबाइल एपमा एउटा डिजिटल बजारको व्यवस्था गर्ने बताए । “साथै यसरी भएको आम्दानीको आधारमा हामीले उनीहरूलाई हाम्रा साझेदार बैंकमार्फत ऋण प्राप्तगर्न र व्यवसाय थप विस्तार गर्न सहयोग गर्नेछौँ,” उनले थपे ।