कारोबार संवाददाता
बिहिवार, असार १९, २०७६
797

उपत्यका ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजले मोबाइल एप्समा आधारित ट्याक्सी सेवा दिन सुरु गरेको छ । उपत्यकाका ५ हजारभन्दा बढी स्वरोजगार ट्याक्सी चालकहरू आबद्ध समाजले आफ्ना यात्रुहरूको सुविधाका लागि प्रविधिमा आधारित ट्याक्सी सेवाको सुरुवात गरेको हो ।
प्रविधिको बढ्दो प्रयोगलाई अंगिकार गर्दै समाजले मोबाइल एप्स ‘इजी ट्याक्सी नेपाल’ मार्फत वैशाखदेखि नै यात्रुहरूलाई दिने सेवाको परीक्षण गर्दै आएको जनाएको छ । अब भने समाजले इजी ट्याक्सीनेपालमार्फत आबद्ध ट्याक्सीहरूमार्फत प्रविधिमा आधारित रहेर यात्रुले सेवा लिन सकिने घोषणा गरेको हो । इजी ट्याक्सी नेपाल ट्याक्सी सेवा हाल काठमाडौं उपत्यकाभर सञ्चालनमा आइसकेको छ ।

यसका लागि ‘इजी ट्याक्सी नेपाल एप्सको सेवाका लागि यात्रुले सो एप्स डाउनलोड गरेर आफूलाई दर्ता गर्नुपर्ने हुन्छ । यसको लागि कस्टमर लगइन रजिस्टर बनाइएको छ भने यात्रुले लगइन गरेपछि त्यसमा रियलटाइम म्यापमा आफू बसेको स्थान देखिन्छ भने जाने गन्तव्य छनोट गर्नुपर्छ ।
यात्रुले एप्समा गरेको अनुरोधको आधारमा सो क्षेत्रमा नजिक भएका ट्याक्सीचालकहरूले सोही एप्समार्फत सो अनुरोधलाई स्विकार गर्नेछन् । र त्यसमा भएको यात्रुको मोबाइल नम्बरमा फोन गरेर यात्रु भएको स्थानमा गएर सेवा दिनेछन् ।
उपत्यका ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजका अध्यक्ष सानु पूर्वा छानेले भने, “अब नेपालमा पनि प्रविधिमा आधारित ट्याक्सी सेवा सुरु भएको छ । सरकारले पर्यटकहरू नेपाल भिœयाउन भिजिट नेपाल–२०२० अभियान गर्दैछ भने इजी ट्याक्सी नेपाल एप्सले पनि सोहि अभियानलाई साथ दिन प्रचार–प्रसार गर्दै स्वदेशी र विदेशी पर्यटकहरूलाई यात्रुमैत्री सेवा प्रदान गर्नेछौं ।”
सफ्टवेयर कम्पनीको सहयोगमा तयार पारिएको एप्सबाट यात्रुले अनुरोध गरेपछि ट्याक्सीले यात्रु भएकै स्थानमा ५ मिनेटमा नै पुगेर सेवा दिने अध्यक्ष छानेले स्पष्ट पारे । पहिलो चरणमा २७ सय भन्दा बढी ट्याक्सीमार्फत सेवा सुरु गरिएको छ भने अन्य ट्याक्सी तथा चालकहरू सो एप्समा जोडिँदै छन् ।
हालका लागि यात्रुले सो एप्समा लगइन गरेर यात्रा गर्दा नगदमा नै भुक्तानी गर्न सक्नेछ भने छिट्टै डिजिटल वालेटमार्फत पनि भाडा भुक्तानी गर्न सक्ने सुविधाको तयारीमा लागेको छ ।
इजी ट्याक्सी नेपालको सेवाको लागि आगामी दिनमा कलसेन्टरमार्फत अफलाइन सेवाअन्तरगत बुकिङ गर्नुपरेमा, अन्य स्थानहरूमा विशेष भ्रमण प्याकेज चाहिएमा, लामो अवधिसम्म ट्याक्सी सेवा चाहिएमा सेवा दिइनेछ भने यो एप्स र यसको प्रयोगका बारेमा जानकारी लिन सक्नेछन् ।
उपत्यका ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजका महासचिव पूर्णलाल मोक्तान (तामाङ), ले काठमाडौंको अहिलेको सेवा शुल्कमा प्रविधिमा आधारित रहेर ट्याक्सी सेवा सञ्चालन गर्न निकै कठिन भए पनि चालकहरूका साथै सबैको सहयोगमा इजी ट्याक्सी नेपाल एप्स सञ्चालनमा ल्याएको बताए ।
“अहिलेको ट्याक्सीको भाडादर वैज्ञानिक छैन भने धेरै वर्षदेखि ट्याक्सी भाडादर समायोजन गरिएको छैन्, तर पनि एप्समार्फत यात्रुहरूलाई उचित मूल्यमा सेवा दिने प्रयास गरेका छौं,’ महासचिव मोक्तान (तामाङ) ले भने ।
इजी ट्याक्सी नेपाल एप्समा उपत्यका ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजका सबै सदस्य चालकहरू क्रमशः दर्ता हुनेछन भने यात्रुले दिउँसो र राति दुवै सिफ्टमा सेवा प्राप्त गर्नेछन् ।
त्यसैगरी यो एप्समा आबद्ध भएका चालक र यो एप्समार्फत सेवा लिने यात्रु दुवैको ५ लाख रुपैयाँको दुर्घटना बिमा गरिएको छ । समाजले इजी ट्याक्सी नेपाल एप्समा आधारित ट्याक्सी सेवा आगामी दिनमा अन्य शहरी क्षेत्रहरूमा पनि बिस्तार गर्ने योजना लिएको छ ।
इजी ट्याक्सी नेपाल एप्स हाल एन्ड्रोयड प्ले स्टोरमा मात्र रहेको छ निकट भविश्यमा नै एप्पलको एपस्टोरमा उपलब्ध हुनेछ । काठमाडौं उपत्यकाभर आफ्नो सेवा सञ्चालन गरिरहेको उपत्यका ट्याक्सी व्यवसायी तथा चालक सेवा समाज विसं. २०७५ सालदेखि संगठित रूपमा सक्रिय छ । यसले ट्याक्सी सेवालाई बिकृतिमुक्त बनाउने, चालकहरूलाई जिम्मेबार बनाउने र ट्याक्सी सेवालाई भरपर्दो र विश्वसनीय बनाउन यातायात व्यवस्था विभाग, नेपाल प्रहरी, ट्राफिक प्रहरी, ट्याक्सी धनी, ट्याक्सी चालक र नागरिक समाजसँगको सहकार्यमा विभिन्न कार्यक्रम तथा गतिविधिहरू गर्दै आएको छ ।