कारोबार संवाददाता
सोमवार, असार २, २०७६
580

काठमाडौं महानगरपालिकाले मोबाइलबाटै पार्किङ स्थल बुक गर्न मिल्ने गरी स्मार्ट पार्किङ प्रणाली सञ्चालनमा ल्याएको छ । काठमाडौं महानगरपालिकाको आइतबारदेखि न्यूरोडका पाँच स्थान रामेश्वरम, विशाल बजार, खिचापोखरी, धर्मपथ र पाकोमा स्मार्ट पार्किङ प्रणाली सञ्चालनमा ल्याएको हो ।
सो प्रणालीको उद्घाटन काठमाडौँ महानगरपालिकाका विद्यासुन्दर शाक्यले गरेका छन् । यो प्रणाली लागू भएसँगै अबदेखि काठमाडौँको व्यापारी स्थल न्यूरोडका केही स्थानमा मोबाइलबाटै पार्किङ स्थल बुक गरी सवारी साधन पार्किङ गर्न सकिने छ । यसका लागि गुगल प्ले स्टोरमा गएर ‘पार्क केटिएम’ एप डाउनलोड गर्नुपर्ने हुन्छ । एपले पार्किङ स्थल भए–नभएको जानकारी दिएसँगै आफूलाई आवश्यक ठाउँ बुक गर्न सकिनेछ । पार्किङका लागि १५ मिनेट पहिले नै बुक गर्नुपर्ने व्यवस्था मिलाइएको छ । यदि बुक गरेको १५ मिनेटभित्र पार्किङ नगरे बुकिङ रद्द हुने स्मार्ट पार्किङका सञ्चालक कम्पनी ह्विल्स ट्रुलीले जानकारी दिएको छ ।

हालका लागि दुई पांग्रे सवारी साधनका लागि प्रतिघण्टा २५ र चारपांग्रेका लागि ८० रुपैयाँ तोकिएको छ । काठमाडौँ महानगरपालिकाका मेयर शाक्यले पाइलट प्रोजेक्टका रुपमा सुरु गरिएको उक्त प्रोजेक्ट विस्तारै अन्य ठाउँमा पनि विस्तार गर्दै लगिने बताए । उनले नयाँ कार्यको थालनी गर्दा बुझेर वा नबुझेर विरोध हुने गरेको भन्दै यसलाई विस्तारै परिस्कृत गर्दै लगिने पनि बताए ।
मेयर शाक्यले सडकमा पार्किङ गर्ने प्रवृत्ति महानगरपालिकाको समस्याको रुपमा रहेको उल्लेख गर्दै सो सेवाबाट सडकमा पार्किङ गर्ने निरुत्साहित हुने विश्वास पनि व्यक्त गरे । यसैगरी, काठमाडौँ महानगरपालिकाले केही दिनभित्रै दरबारमार्ग क्षेत्रमा पनि यो प्रणाली लागू गर्ने तयारी गरेको छ । हाल काठमाडौँका शहरी क्षेत्रमा सवारी साधन पार्किङ स्थल व्यवस्थापन मुख्य समस्याको रुपमा रहेको छ ।