कारोबार संवाददाता
आइतवार, जेठ २६, २०७६
379

ताप्लेजुङ-जिल्ला मालपोत कार्यालय ताप्लेजुङले भू–अभिलेख सूचना व्यवस्थापन प्रणालीमार्फत अनलाइन सेवा सुरु गरेको छ । नवनिर्मित भवनमा कार्यालय सरेसँगै अनलाइन सेवा सुरु गरिएको हो । योसँगै मालपोत कार्यालय ताप्लेजुङ अनलाइन सेवा प्रदान गर्ने ६२ औं मालपोत कार्यालय भएको छ । देशका १ सय ३१ वटा मालपोत कार्यालयमा सेवा विस्तार गर्ने उद्देश्य रहेको भूमि व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक गोकर्णमणी दवाढीले जानकारी दिए ।
महानिर्देशक दुवाडीका अनुसार जग्गा प्रशासनसम्बन्धी सेवा सूचना प्रविधि मैत्री, सहज, छरितो, पारदर्शी र विश्वसनीय बनाउन यो प्रणाली लागू गरिएको हो । यो प्रणालीमा हरेक दिन मुलुकभर कति जग्गाको कारोबार भयो, कति खरिदबिक्री भयो र कति कर संकलन भयो भन्ने जानकारी विभाग वा मन्त्रालयबाट पनि हेर्न मिल्छ ।

राजस्व संकलनलाई पनि यसले प्रभावकारी बनाउने अपेक्षा गरिएको छ । यो प्रणालीबाट देशभरिका जग्गा तथा जग्गाधनीको विवरण विभागको एउटै सर्भरमा केन्द्रीकृत रूपमा भण्डारण हुन्छ । विभाग तथा सरोकारवालालाई आवश्यक पर्ने तथ्यांक र विवरण सजिलैसँग एकै ठाउँबाट प्राप्त गर्न सकिने महानिर्देशक दुवाडीले बताए । घरजग्गाको स्वामित्व हस्तान्तरण हुँदा दिने र लिने तथा साक्षीहरूको औंठाछाप, दस्तखत तथा फोटो विद्युतीय उपकरणका माध्यमबाट प्रणालीमा समावेश गर्ने तथा सो घरजग्गा किनबेच गर्दा परीक्षण गर्ने व्यवस्था रहेको छ । घरजग्गाको स्वामित्व हस्तान्तरण हुँदा निवेदन र लिखत स्वीकृत हुनुभन्दा अगावै जग्गाधनीलाई एसएमएस र ईमेलमार्फत नोटिफिकेसन जाने व्यवस्था रहेको हुँदा किर्ते कारोबार प्रायः शून्य हुने मालपोत कार्यालयको दाबी छ ।
सरकारले कामलाई सरलीकृत गर्ने उद्देश्यले अनलाइन प्रणाली लागू गरे पनि दक्ष कर्मचारीको अभाव र प्राविधिक कमजोरीले सेवाग्राहीले झन्झट बेहोर्नुपर्ने विषयलाई समेत ध्यान दिनुपर्ने जिल्ला समन्वय समिति प्रमुख घनेन्द्र मादेनले बताए । मालपोत अधिकृत भगिमान मादेनले प्रविधिमैत्री सेवा प्रवाहमा कमजोर हुन नदिने प्रतिबद्धता व्यक्त गरे ।