कारोबार संवाददाता
शुक्रवार, जेठ १७, २०७६
1171

अमेरिकाको हाइटेक वस्तु उत्पादनका लागि चाहिने दुर्लभ खनिजको कुल आयातको ८० प्रतिशत चीनले निर्यात गर्ने गरेको छ । कम्प्युटर, विद्युतीय कार र हातहतियार उत्पादन र सञ्चार प्रणालीको उत्पादनका लागि चाहिने कच्चा पदार्थ दुर्लभ खनिज हो ।

उन्नत प्रविधिको विकास र सय वर्ष पुरानो विश्व व्यवस्थामा हुन लागेको फेरबदलको संघारमा विश्वका दुई ठूला अर्थतन्त्र अमेरिका र चीनबीच भीषण व्यापार युद्ध जारी छ । अमेरिकाले नयाँ विश्व व्यवस्थाको नेतृत्व चीनलाई सहजै दिन खोजेको देखिँदैन ।
नयाँ अर्थव्यवस्थाका लागि महाशक्ति देशको रूपमा उदीयमान शक्ति चीनसँग अमेरिकाले युद्ध थालेको हो । अमेरिकाले यो लडाईको दुई मोर्चा खोलेको छ । एक चिनियाँ मालसामानको अमेरिकी प्रवेशमा अतिरिक्त भन्सार शुल्क वृद्धि गरेको छ भने चिनियाँ टेक कम्पनी ह्वावेले उत्पादन गर्ने दूरसञ्चार सम्बन्धी वस्तुको कारोबारलाई अमेरिकाले रोक लगाएको छ । साथै ह्वावेले तयार पारेको नयाँ पुस्ताको इन्टरनेट प्रविधि फाइभ जीलाई निरूत्साहित गराउन अमेरिकाले आफ्ना निकटतम सहयोगीमाथि दबाब दिँदै आएको छ ।

यसको जवाफमा चीनले अमेरिकालाई धरतीको दुर्लभ खनिज पदार्थ (रेयर अर्थ मिनरल) नदिने मनसाय सार्वजनिक गरेको छ । चीनको वाणिज्य मन्त्रालयले सार्वजनिक गरेको अभिव्यक्तिले यस्तो संकेत गरेको छ । मन्त्रालयले भनेको छ, “दुर्लभ खनिज पदार्थका लागि विश्वका अन्य देशबाट भइआएका आवश्यक माग पूरा गर्न चीन चाहिरेको छ तर त्यही वस्तुबाट बनेका उत्पादनमा रोक लगाएर चीनमाथि हैकम लाद्ने व्यवहार चीनलाई स्वीकार हुने छैन ।” चीनको वाणिज्य मन्त्रालयका प्रवक्ता गाओ फेङले साप्ताहिक पत्रकार सम्मेलनमा कुनै देशको नाम नलिएर भने, “यस्तो व्यवहार चीनलाई स्वीकार्य हुने छैन ।”
गत साता चिनियाँ राष्ट्रपति सी जिनपिनले दुर्लभ खनिज पदार्थको कारखाना रहेको क्षेत्रमा भ्रमण गरेयता अमेरिकासँगको व्यापार युद्धका लागि यो दुर्लभ खनिज पदार्थको निर्यातलाई अचूक अस्त्र बनाउन त खोजेको होइन भन्ने आंशका अन्तर्राष्ट्रिय क्षेत्रमा उत्पन्न भएको छ । पृथ्वीको दुर्लभ खनिज पदार्थको विश्वमा निर्यात गर्ने देशमा चीन सबैभन्दा ठूलो निर्यातक हो । अमेरिकालाई पनि चीनले यो दुर्लभ खनिज पदार्थ निर्यात गर्छ ।
अमेरिकासँगको व्यापार युद्धमा यो दुर्लभ खनिज पदार्थको निर्यात बन्दले चीनलाई सहज होला भन्ने अनुमान सत्य नजिक देखिएको छ । दुलर्भ खनिज पदार्थमा १७ रासायनिक तत्वहरू हुन्छन् । यी तत्वहरूको प्रयोग उच्च प्रविधि (हाइटेक) इलेक्ट्रोनिक्स सामान देखि सेनाका लागि निर्माण गरिने आवश्यक उपकरण निर्माणका लागि गरिन्छ । यसैले चीनलाई अमेरिकासँगको व्यापार युद्धमा मोलमोलाइ गर्ने महत्वपूर्ण विषय यो बनेको देखिएको छ । आइफोनदेखि विद्युतीय मोटर कारहरू बनाउन मात्र नभएर सेनाको जेट विमान, स्याटेलाइट र लेसर उपकरणका लागि यो दुर्लभ खनिजकामा रहेका तत्वहरू महत्वपूर्ण छन् ।
इलेक्ट्रोनिक्स वस्तुका लागि महत्वपूर्ण वस्तु रिचार्ज गर्न सकिने व्याट्रीहरू हुन्छन् । विद्युतीय र हाइब्रिड कार, उन्नत खालका सेरामिक वस्तु, तेल प्रशोधन गर्ने उपकरण, टेलिभिजन, मोनिटर, प्रकाश दिने उपकरण, लेजर उपकरण, फाइबर अप्टिक्स, सुपरकन्डक्टर र सीसा पोलिस गर्ने वस्तु बनाउनका लागि दुर्लभ खनिज समूहका तत्वहरूको प्रयोग गरिन्छ । नियाडाइमियम र डाइस्प्रोसियम जस्ता दुर्लभ खनिज पदार्थका तत्वहरू विद्युतीय वाहनको निर्माणका लागि अति महत्वपूर्ण मानिन्छ ।
यो खनिज पदार्थ भित्रका अन्य तत्वहरू सेनाका लागि अतिआवश्यक हुने जेट इन्जिन, मिसाइल गाइडेन्स सिस्टम, एन्टि मिसाइल डिफेन्स सिस्टम, स्याटेलाइट र लेजर बनाउन नभइ नहुने तत्वहरू छन् । यो खनिज भित्र रहेको ल्याथानमको कुरो गर्दा सेनाले अँध्यारो रातमा आक्रमण गर्न शत्रुका विमान वा शत्रुको ठेगाना हेर्न बनाइने रात्रि दृष्टि उपकरण (नाइट भिजन डिभाइस)हरूको उत्पादन गर्न चाहिन्छ ।
अमेरिकाको रक्षा विभागले दुर्लभ खनिजको अमेरिकी मागको १ प्रतिशत हो । यो विश्वमा दुर्लभ खनिजको मागको ९ प्रतिशत बराबर रहेको अमेरिकी सरकारको अकाउन्टबल अफिसले सन् २०१६मा तयार पारेको प्रतिवेदनमा उल्लेख गरिएको छ । चिनियाँ दुर्लभ खनिज पदार्थमा आधारित कम्पनीहरूको अवस्था बारेमा विचार गर्दा रेथेअन कम्पनी, लकहिड मार्टिन कोर्प र बीएइ सिस्टम जस्ता कम्पनीहरूले जटिल प्रकारका क्षेप्यास्त्रहरू बनाउँछन् । यी कम्पनीहरूले बनाउने मिसाइलका लागि गाइडेन्स सिस्टम र सेन्सरका लागि दुर्लभ खनिजको प्रयोग गर्छन् ।
यसबारेमा यी कम्पनीहरूले अन्तर्राष्ट्रिय सञ्चारमाध्यम समक्ष तत्काल मुख खोलेको देखिएको छैन । टेकको क्षेत्रमा सबै भन्दा बढी रूचाइएको ब्रान्ड एप्पल हो । एप्पललाई आइफोनको निर्माताको रूपमा पनि चिनिन्छ । एप्पलका स्मार्टफोनमा स्पिकर, क्यामरा र फोनमा कम्पन ल्याउने विधि ह्याप्टिक इन्जिनका लागि चाहिने कच्चा पदार्थ भनेको दुर्लभ खनिज समूह हो । यो कम्पनीले जनाए अनुसार यसका टेक डिभाइसमा प्रयोग गरिने दुर्लभ खनिजको परिणाम धेरै सानो हुन्छ । यति सानो परिणामका दुर्लभ खनिज पदार्थलाई परम्परागत पुनप्र्रयोगकर्ता (रिसाइकल्र्स)ले रिसाइकल गरी फेरि ल्याउन सक्दैनन् ।
अमेरिकी सरकार र त्यहाँको निजी उद्योगले सन् २०१० यता दुर्लभ खनिज र त्यसबाट बन्ने वस्तुहरूको भण्डारण गरेका छन् । यो जानकारी अमेरिकाको रक्षा मन्त्रालय पेन्टागनका पूर्व वरिष्ठ अधिकारी एवं आपूर्ति शृंखलाका जानकार मानिएका तथा नोटरे डामे विश्वविद्यालयका शिक्षक युगीन गोल्जले दिएका छन् । १७ तत्वहरू समावेश भएको यो दुर्लभ खनिजमा ल्यान्थानिम, सेरियम, प्रासेओडाइमियम, निओडाइमियम, प्रोमेथियम, सामारियम, युरोपियम, गाडोलनियम, टरबियम, डाइप्रासियम, होलोमियम, एबियम, थुलियम, यत्रेबियम, लुटेटियम, स्कानडियम र यत्रिरियम रहेका छन् ।
यी तत्वहरू न्यून घनत्व भएको भूमिमा हुन्छ । यी तत्वहरूको प्रशोधनका लागि ठूलो क्षमताको विकास चीनले गरेको छ । चीनले प्रशोधन गरेका यी दुर्लभ खनिज पदार्थको ८० प्रतिशत अमेरिकाले लिने गरेको छ । सन् २०१४ देखि २०१७ सम्मको आँकडाले यो जनाएको छ । अमेरिकाले सन् २०१७ मा विश्वको कुल दुर्लभ खनिजको उत्पादनको ८१ प्रतिशत उत्पादन गरेको अमेरिकाको जियोलजिकल सर्वेक्षणले जनाएको छ । चीन र जापानबीच सन् २०१७ को बीचमा कूटनीतिक विवाद भएयता दुर्लभ खनिजको आयातकर्ताहरूले यसको परिणाम घटाएनन् ।
अमेरिकाको हाइटेक वस्तु उत्पादनका लागि चाहिने दुर्लभ खनिजको कूल आयातको ८० प्रतिशत चीनले निर्यात गर्ने गरेको छ । कम्प्युटर, विद्युतीय कार र हातहतियार उत्पादन र सञ्चार प्रणालीको उत्पादनका लागि चाहिने कच्चा पदार्थ दुर्लभ खनिज हो ।
क्यालिफोर्नियाको माउन्टेन पासमा मात्र दुर्लभ खनिजको सञ्चालन सुविधा छ । यो माउन्टेन पासबाट ५० हजार टन दुर्लभ पदार्थ प्रशोधनका लागि क्यालिफोर्नियाबाट चीन जाने गरेको छ । यो पदार्थको चीन प्रवेशमा २५ प्रतिशत अतिरिक्त महशुल व्यापार युद्धको क्रममा थपेको छ । यसैबीच अस्ट्रेलियाको लिनास कर्पोरेशन लिमिटेडले टेक्सासस्थित ब्लु लाइन कोर्पसँग दुर्लभ खनिजको प्रशोधन गर्ने कारखाना स्थापना गर्ने सम्झौता भएको जनाएको छ ।
यो दुर्लभ खनिज भारत, दक्षिण अफ्रिका, क्यानाडा, अस्ट्रेलिया, इस्टोनिया, मलेसिया र ब्राजिलजस्ता देशमा छ । चीनले अमेरिकासँगको व्यापार युद्ध जित्ने विश्वास व्यक्त गर्दै आएको छ । यसैबीच चिनियाँ राष्ट्रपति सीले मे २० तारिखमा दुर्लभ खनिजको प्रशोधन गरिने दक्षिण चीनस्थित कारखानाहरूको भ्रमण गरे । सीको यो भ्रमणले अन्तर्राष्ट्रिय बजारमा कतै दुर्लभ खनिजलाई त चीनले अचुक अस्त्र बनाउन खोजेको होइन भन्ने आंशका पैदा गराएको छ ।
यो आंशका अस्वाभाविक देखिएको छैन । अमेरिकी अधिकारीहरूले दुर्लभ खनिजको प्रशोधन र उत्पादन देशभित्रै गर्ने अभिव्यक्ति सार्वजनिक गरेपछि यो आंशकाको पुष्टि भएको देखिएको छ । चुम्बक र स्पिकरमा प्रयोग हुने निओडाइमियमको मूल्य मे २० तारिखमा २६.५ प्रतिशतले वृद्धि भई प्रतिकिलो ५० अमेरिकी डलरबाट बढेर ६३.२५ अमेरिकी डलर प्रतिकिलोमा पुगेको छ । यसैगरी डाइस्प्रोसियम, एरबियम अक्साइड र गाडोलिनियम अक्साइडको मूल्य १० प्रतिशतले वृद्धि हुन पुगेको छ । यी अक्साइड चिकित्सा क्षेत्रमा तस्बिर लिने र इन्धन कोषका लागि प्रयोग हुन्छ ।
टेक, हाइटेक र एडभान्स्ड टेकको क्षेत्रमा निर्माण गरिने वस्तुहरूका लागि चाहिने दुर्लभ खनिज पदार्थ चीनका लागि व्यापार युद्ध जित्न कत्तिको प्रभाव पार्छ त्यसको मापनका लागि अझ केही समय कुर्नुपर्ने देखिएको छ । विद्यमान आँकडाले अमेरिकालाई पनि यसले समस्या उत्पन्न गराउनेमा संकेत भने गरेको छ ।
चिनियाँ अधिकारीहरूले व्यापार युद्धबाट कोही जित्दैन, दुबै गुमाउने नै छ तर युद्धबाट हामी नडराएको बताउनुले यसको हल दुबैले केही गुमाएर नै गर्ने मनस्थितिमा रहेको देखिन्छ । ह्वावेको विषयमा ९० दिनको समय दिनुको पछाडि पनि यस्तै नियत लुकेको देखिन्छ । यसबीचमा अन्तर्राष्ट्रिय शक्तिहरूले कुनै न कुनै सन्तुलनको स्थिति कायम गरी दोहनको विद्यमान विधिलाई निरन्तरता दिने हुन वा यसमा केही सुधार गर्ने हुन त्यसका लागि पर्खनुपर्ने हुन्छ ।