राजेन्द्र बस्नेत
मंगलबार, जेठ ७, २०७६
253

डिजिटल नेपालको शुभारम्भ

मास्टार (धादिङ)-प्रधानमन्त्री केपी शर्मा ओलीले डिजिटल नेपाल निर्माण गर्न अप्टिकल फाइबर महामार्ग हुने बताएका छन् । उनले नेपाल हरेक दिन एक पाइला अघि बढेको बताउँदै अप्टिकल फाइबरको फाइदा हरेक नेपालीले पाउने उल्लेख गरे । 

धादिङको गल्छी–४ मास्टरमा आयोजित पुष्पलाल मध्यपहाडी लोकमार्ग सूचना महामार्गको निर्माणकार्यको सोमबार शिलान्यास गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले भने, “सबै कारोबार इन्टरनेटमार्फत गर्दैछौं । सामाजिक सुरक्षा भत्ता, योगदानमा आधारित सामाजिक सुरक्षा भत्ता, तनखा, बचतसहितका कारोबार बैंकमार्फत गर्दैछौं । कहाँ के भइरहेको छ । आफूलाई चाहिने सबै कुरा नेटमार्फत प्राप्त गर्न यसलाई सञ्जालीकरण गरिएको हो ।”
यो महामार्गले प्रदेश १, २, ३ लाई जोड्ने छ । अप्टिकल फाइबर सञ्जालीकरणमा जिम्मा लिनेले समयमै पूरा गर्नुपर्ने प्रम ओलीले बताए । उनले शिक्षा, स्वास्थ्यसहितका क्षेत्रमा आमूल परिर्वतन गरी विकसित, अनुशासित, शान्त र स्थिरता भएको देश बनाउन चाहेको बताए । उनले जेठ १५ मा आउने बजेटले गेयर चेन्ज गर्ने बताउँदै स्थानीय तहलाई बलियो बनाउने गरी लोककल्याणकारी बजेट ल्याइने दाबी गरे । कृषिको आधुनिकीकरण, व्यावसायिकीकरण र यान्त्रिकीकरण मार्फत विदेशमा खाद्य सामग्री भित्र्याउन रोक्नुपर्छ । हामीसँग भएका खेतीयोग्य जमिनको अधिकतम उपयोग गरी खाद्य सामग्री निर्यात गर्नुपर्छ । उत्पादन र उत्पादकत्व बढाउने र पेट भर्नेमात्र होइन । स्वस्थ खाना खानुपर्छ । त्यसका लागि प्रांगारिक खेती गर्नुपर्छ । अब भान्छामा विषाक्त खाना होइन, प्रांगारिक खाना तयार गर्नुपर्छ । अब औद्योगिककरणमा जोड दिनुपर्छ । यसअघिका सरकारले उद्योगहरू सिध्याए । अब हामी बाँकी रहेका रुग्ण उद्योगको पुनः सञ्चालन गर्ने हो । कार्यक्रममा सूचना प्रविधि तथा सञ्चारमन्त्री गोकुल बाँसकोटा, मुख्यमन्त्री डोरमणि पौडेल, चिनियाँ राजदूत हौ यान छिलगायतको उपस्थिति थियो ।