मेगराज खड्का
शुक्रवार, जेठ ३, २०७६
593

रुकुम पश्चिमका दुर्गम क्षेत्रमा मोबाइल तथा फोन सेवामा समस्या भए पनि इन्टरनेटको सुविधा बढ्दै गएको छ । जिल्लाका सबैजसो वडा कार्यालय, स्वास्थ्य चौकी र विद्यालयहरुमा इन्टरनेटको सुविधा विस्तार भएको हो । सदरमुकाम नजिकै फोन सेवा राम्रो भए पनि जिल्लाको आठविसकोट नगरपालिकाका दुर्गम क्षेत्र स्यालाखदी, गोतामकोटलगायतका ठाउँमा फोनभन्दा इन्टरनेट राम्रो देखिएको हो ।
नेपाल टेलिकमका मोबाइल नेटवर्कमा स्पष्ट नबुझिने समस्या आउने गरे पनि निजी कम्पनीहरुले प्रदान गरेको इन्टरनेट सेवाबाट दुर्गम गाउँका सर्वसाधारणले सेवा लिन पाउँदा खुसी देखिएका छन् । निजी कम्पनीका विभिन्न इन्टरनेट सुविधा गाउँमा विस्तार भएपछि मोबाइल फोन नलाग्ने दुर्गम क्षेत्रमा पनि इन्टरनेटको पहुँच पुगेपछि कार्यालयका कामकाजका साथै व्यक्तिगत रूपमा सम्पर्क गर्न सजिलो भएको आठविसकोट नगरपालिका–६ का भावना केसीले बताईन । गाउँमा इन्टरनेट पुगेपछि सबैभन्दा बढी विदेशमा आफन्तहरुसँग सम्पर्क गर्न सहज भएको उनको भनाई छ । “मोबाइलको नेटवर्क राम्रो हुँदा फोन गर्न निकै समस्या हुन्छ ।” उनले भनिन, “वडा कार्यालयमा वाईफाई जोडेर भिडियो कल गर्न पाउँदा खुसी लागेको छ ।’ निःशुल्क रूपमा भिडियो कल गर्दा विदेशमा फोन गर्दा लाग्ने महँगो शुल्कबाट पनि जोखिएको स्थानीयहरु बताउँछन् ।
आफ्नो वडा कार्यालयमा नगरपालिकाले वल्र्ड लिंकको इन्टरनेट जडान गरेपछि कार्यालयको काम गर्न सहज हुनुका साथै आसपासका सर्वसाधारणलाई समेत सम्पर्क गर्न सजिलो भएको आठविसकोट नगरपालिका–४ का वडाध्यक्ष बाबुराम विष्टले बताए । कहिलेकाहीँ समस्या आए पनि मोबाइल नेटवर्कभन्दा इन्टरनेटको सेवा राम्रो भएको उनको भनाइ छ । जिल्लाका दुर्गम क्षेत्रमा वल्र्ड लिंकका साथै सुबिसु, एभरेस्टलगायतका निजी इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले सेवा दिँदै आएका छन् ।