कारोबार संवाददाता
शुक्रवार, बैशाख २०, २०७६
700

मुलुकको समृद्धि र विकासको लागि प्रविधि क्षेत्रको विकासमा सरोकारवालाले जोड दिएका छन् । सोमबार नेपालमा मनाइएको राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०७६ का अवसरमा यस क्षेत्रका विज्ञहरुले सूचना प्रविधिको क्षेत्रलाई समृद्धिसँग जोडेर लैजानुपर्नेमा जोड दिएका हुन् । विज्ञहरुले अपांगमैत्री प्रविधि विकासमा जोड दिएका छन् ।
लर्न एशियाले सूचना तथा सञ्चार प्रविधि विषयमा अपांगता भएका व्यक्तिहरुको स्वतन्त्र जीवनयापन प्रबद्र्धन गर्न सामान्य तथा तत्काल कार्यान्वयन गर्न सकिने उपायहरुसहितको श्वेतपत्र जारी गरेको छ । दुई वर्षे अनुसन्धानको आधारमा तयार पारिएको सो प्रस्तावमा अल्पकालिन तथा दिर्घकालिन समाधानका उपायहरु समेटिएको छ । लर्न एशियाका अध्यक्ष समराजीवाले अपांगता भएका व्यक्तिहरुलाई थप स्वतन्त्र रुपमा जीउन सहयोग गर्ने विषय उनीहरुका लागि मात्र नभई उनीहरुका परिवार र सम्पूर्ण समाजको लागि नै राम्रो कुरा भएको बताए । सो अनुसन्धानका अनुसार नेपालमा १५ देखि ६५ वर्ष उमेर समूहका १.६ प्रतिशत जनसंख्या अपांगता भएका व्यक्तिका रुपमा रहेको छ । कार्यक्रममा विज्ञहरुले सूचना प्रविधि क्षेत्र अपांगतामैत्री नभएको भन्दै त्यसलाई अपाङ्गतामैत्री बनाउन ठोस नीति बनाउनु पर्नेमा जोड दिए ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको नेतृत्वमा वैशाख १९ र २० गते विविध कार्यक्रम गरेर मनाइएको छ । मन्त्रालयले यसअघि नै यो वर्षको राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको नारा ‘डिजिटल नेपालः विकास र समृद्धिको आधार’ तय गरिसकेको थियो । कार्यक्रम अन्तर्गत राजधानी काठमाडौंमा बिहीबार बिहान स्कुल, कलेज, बैंक, प्रविधि कम्पनीहरु, क्यान महासंघ र सम्बन्धित सरकारी निकाय लगायतको संलग्नतामा प्रभातफेरि गरिएको थियो भने दिउँसो अन्तरक्रिया कार्यक्रम गरिएको थियो ।
आइसीटी डेको अवसरमा लर्न एशिया, इन्टरनेट सोसाईटिद्वारा आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव महेन्द्र मान गुरुङ्गले सूचना प्रविधिलाई आर्थिक समृद्धिको आधारको विकास गर्ने प्रतिवद्धता व्यक्त गरे । “हामीले सूचना प्रविधि क्षेत्रलाई आर्थिक समृद्धिको आधारको रुपमा अगाडि बढाउन नै डिजिटल नेपालको फ्रेमवर्क बनाउँदै छौं र यो छिटै सार्वजनिक रुपमा आउनेछ,” उनले भने । नेपालले विगत २ वर्षदेखि मे २ तारिखमा सूचना प्रविधि दिवस मनाउँदै आएको छ ।
सचिव गुरुङ्गले डिजिटल नेपाल बनाउन समावेशीता हुनुपर्ने भन्दै अपांगता भएका व्यक्तिहरुलाई पनि त्यसमा समावेश गरिनुपर्ने बताए । भौतिक पूर्वाधारहरु पनि अपांगतामैत्री हुनुपर्ने भन्दै उनले सूचना प्रविधिका आधारभूत आवश्यकतालाई सबैले प्रयोग गर्न सक्ने किसिमको हुनुपर्नेमा सरकारले प्राथमिकता दिएको दाबी गरे । कार्यक्रममा नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक मीनप्रसाद अर्यालले सूचना प्रविधिको प्रयोग अपांगता भएका व्यक्तिहरुको लागि विशेषरुपमा उपलब्ध गराउने किसिमको कानुन आवश्यक भएको औंल्याए । उनले प्राधिकरणले दूरसञ्चार कम्पनीहरुको लागि सोहि अनुसारको निर्देशिका समेत बनाएको जानकारी गराए ।
प्रतिवेदन अनुसार अपांगता भएका व्यक्तिहरुमध्ये केवल ३२ प्रतिशतसँग मात्र मोबाइल फोन छ भने ४१ प्रतिशतले स्मार्टफोन प्रयोग गर्ने गरेका छन् । अपांगता भएका मोबाइल प्रयोगकर्ताहरुमध्ये केवल ३ प्रतिशतसँग मात्र विशेष मोबाइल फोन प्याकेजहरु रहेको अनुसन्धानमा उल्लेख छ । नेपाल टेलिकमका सहप्रवक्ता कृष्णप्रसाद भण्डारीले अपांगता भएका व्यक्तिहरुलाई हेर्ने दृष्टिकोणमा नै परिवर्तन गरिनुपर्ने भन्दै सूचना प्रविधिको पहुँचमा वृद्धि गर्नुपर्ने बताए । वल्र्डलिंक कम्युनिकेसन्सका सीमित जैनले अपांगतामैत्री सूचना प्रविधिको विकास गर्न सरकार र निजी क्षेत्र मिलेर जानुपर्ने भन्दै निजी क्षेत्रले अझ छिटो सो विषयमा काम गर्न सक्ने बताए । कार्यक्रममा लर्न एशियाका अध्यक्ष रोहन समराजीवाले अपांगता भएका व्यक्तिहरुलाई सूचना तथा संचार प्रविधिमा जोड्न सकिने उपायहरुको बारेमा जानकारी दिएका थिए ।