कारोबार संवाददाता
शुक्रवार, बैशाख २०, २०७६
661

प्रधानमन्त्री केपी शर्मा ओलीले सूचना प्रविधिको विकास र विस्तारसँगै सामाजिक सञ्जालको दुरुपयोग बढेको भन्दै यसलाई नियन्त्रण गर्नुपर्ने धारणा राखेका छन् । उनले प्रविधिको प्रयोगले सजिलो भए पनि सामाजिक सञ्जाल प्रयोगमा गलत प्रवृत्ति देखिएको भन्दै त्यसलाई निस्तेज पार्ने बताएका छन् ।
बिहीबार राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रविधि नकारात्मक कुराको प्रचार गर्ने माध्यम बनेको टिप्पणी गरे । प्रधानमन्त्रीले यसलाई नियन्त्रण गर्ने संकेत पनि गरे । उनले भने, “सामाजिक सञ्जाल र सूचना प्रविधिलाई गलत रुपमा उपयोग गर्नु मुन्तलामा ऐँजेरु र धानमा साँवा पलाए जस्तै हो, यस्ता प्रवृतिलाई निस्तेज पार्दै लैजानुपर्छ ।”
सूचना प्रविधिलाई देशव्यापी रूपमा विकास गरेर मात्रै ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारा साकार हुने उनले बताए । उनले सूचना प्रविधिको प्रयोग बढेअनुसार नै उत्पादकत्वमा प्रयोग गर्न सकिएमा कुल गार्हस्थ्य उत्पादन र रोजगारी सिर्जनामा टेवा पुग्ने बताए । “हामीले सूचना प्रविधिको उच्चतम प्रयोग गरेपनि उत्पादकत्व बढाउन सकिरहेका छैनौं, त्यसतर्फ सरोकारवाला पक्षले ध्यान दिन आग्रह गर्दछु,” प्रधानन्त्री ओलीले भने, “प्रविधिलाई कुनै न कुनै रूपमा उत्पादनसंग जोड्नुपर्ने अवस्था छ ।”
सूचना र प्रविधिको विकासबिना समृद्धिको यात्रा पूरा नहुने भएकाले यसको चौतर्फी विकास गर्ने लक्ष्य सरकारले राखेको उनले बताए । कृषि, स्वास्थ्य, शिक्षा, वित्त, पूर्वाधार निर्माणलगायतका क्षेत्रमा सूचना–प्रविधिको पहुँच पु¥याउने सरकारी लक्ष्य रहेको र त्यसमा निजी क्षेत्रलाई साथ दिन पनि उनले आग्रह गरे । नेपाली समाजले सूचना प्रविधिमा छोटो समयमा नै फड्को मारेको उनको टिप्पणी छ । नेपालमा डेढ दशकअघिसम्म मोबाइल चलाउनु अनौठो मानिने भए पनि अहिले अत्यावश्यक भइसकेको उनले बताए । “केही वर्ष अघिसम्म हङकङमा ड्राइभरले मोबाइल चलाएको कुरा सुन्दा नेपालीहरू अनौठो मान्थे तर अहिले आफ्नै घरमा बच्चालाई मोबाइलबाट जोगाउन गाह्रो भइसक्यो,” प्रधानमन्त्रीले भने । कार्यक्रममा मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले नेपालमा सूचना प्रविधिको प्रयोग बढेको भन्दै उच्चतम उपयोगमा ध्यान दिनुपर्ने बताए । उनले कुल गार्हस्थ्य उत्पादनमा सूचना प्रविधिको योगदान अन्य देशमा बढ्दै गएको उदाहरण दिँदै नेपालमा पनि त्यसतर्फ ध्यान दिन निजी क्षेत्रलाई आग्रह गरे ।

‘डिजिटल फाइनान्स’मा सम्झौता
कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंक र नेपाल टेलिकमबीच डिजिटल फाइनान्ससम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । जसअनुसार टेलिकमले विभिन्न वस्तु तथा सेवा खरिद गर्दा मोबाइलबाटै पैसा तिर्न मिल्ने ‘मोबाइल मनी’ सेवा सुरु गर्ने भएको छ । जसका लागि टेलिकमले राष्ट्रिय बाणिज्य बैंकसँग सहकार्य गर्नेछ । यससँगै मोबाइलबाटै भुक्तानी सेवा दिनसक्ने व्यवस्था हुनेछ । बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी र टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले यससम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरे । सरकारी स्वामित्वका दुवै संस्थाको संयुक्त लगानीमा भुक्तानी सेवा प्रदायक पब्लिक कम्पनीमार्फत डिजिटल बैंकिङ सेवा उपलब्ध हुनेछ ।

कास्कीको विश्वशान्ति पहिलो नमुना स्मार्ट स्कुल
कास्कीको रूपा गाउँपालिका ५ स्थित देउरालीमा रहेको विश्वशान्ति माध्यमिक विद्यालयलाई सूचना प्रविधिमैत्री विद्यालय (नमुना स्मार्ट स्कुल)को रूपमा घोषणा गरिएको छ । दोस्रो राष्ट्रिय सूचना तथा प्रविधि दिवसको अवसर पारेर विश्वशान्ति माविलाई ‘नमुना स्मार्ट स्कुल’ घोषणा गरिएको हो । सूचना प्रविधिमा आधारित शिक्षण सिकाइलाई प्रभावकारी बनाउने उद्देश्यले विद्यालयलाई सरकारको योजना अनुसारको नमुना स्मार्ट स्कुलको अवधारणामा रूपान्तरण गरिएको हो । स्कुलमा प्रोजेक्टरको सहायताले अडियो तथा भिडियो माध्यमबाट पठनपाठन गराइने भएको छ । स्मार्ट स्कुलका लागि ६० थान कम्प्युटर, स्मार्ट बोर्ड, सबै कक्षाकोठामा सिसि क्यामेरा तथा टिभी, प्रोजेक्टर लगायतका प्राविधिक उपकरण जडान गरिएको छ ।