कारोबार संवाददाता
शुक्रवार, चैत्र १, २०७५
888

हुवावेलाई जर्मनीमा प्रवेश नदिन अमेरिकाले थर्काएलगत्तै जर्मनीले बोली फेर्न लागेको देखिएको छ । जर्मनीको संसदीय समितिलाई त्यहाँको गुप्तचर संस्थाले हुवावे फाइभ जी नेटवर्क विस्तारका लागि विश्वसनीय नभएको भनेको समाचार सार्वजनिक भएको छ ।
जर्मन सरकारले चीनको टेक्नलजि कम्पनीलाई फाइभजी नेटवर्क विस्तार गर्न करिब करिब पक्का भइरहेका बेला अमेरिकाले दबाब बढाएको हो । यसैक्रममा ब्लुमबर्गले जर्मनीको गुप्तचर अधिकारी अधिकारीहरूले हुवावेलाई रोक्न प्रयास गरिरहेको समाचार छापेको हो ।

यसअघि अमेरिकी दबाब थेगेर भएपनि चिनियाँ कम्पनी हुवावेसँग सम्झौता गर्ने धारणा जर्मनी सरकारको एक मन्त्रीले सार्वजनिक गरेका थिए । सो अभिव्यक्ति सार्वजनिक भएलगत्तै अमेरिकाले उसलाई त्यसो नगर्न थर्कायो । मोबाइलको फाइभ जी नेटवर्क सञ्चालन गर्न हुवावेलाई सहभागी गराए जर्मनीलाई बौद्धिक साझेदारीबाट अलग पार्ने अमेरिकाले चेतावनी दियो ।
अमेरिकाको वाल स्ट्रिट जर्नलले जनाए अनुसार अमेरिकी राजदूतले जर्मनीलाई एक पत्र लेखेर यसरी थर्काएको हो । अमेरिकाले हुवावेलाई विश्वबाट अलग्याउन लबिङ गर्दै आइरहेका बेला जर्मनीले चिनियाँ कम्पनीसँग सम्झौता गर्ने जनाएको थियो । अमेरिकी राजदूत रिचार्ड ग्रेनेलले जर्मनीको सुरक्षा नियोगसँगको सहयोगमा कमी ल्याउने जनाए ।
यसअघि यसो गरिए वासिंटनसँग व्यापार युद्ध होला भनि सोधिएको प्रश्नको जवाफमा जर्मनीका अर्थमन्त्री पिटर अल्टमाएरले युरोपेली युनियन आफ्नो हितको संरक्षण गर्न खडा रहने बताएका थिए । फाइभजी मोबाइल नेटवर्कको विकास गर्न हुवावेलाई ठेक्का दिइने संकेत गर्दै उनले जेडडीएफ टेलिभिजनमा यस्तो बताएका हुन् । जर्मनीबाट हुवावेलाई बन्द गर्न अमेरिकाबाट धेरै दबाब आएको बताउँदै उनले यो खुलाए । उनले भने, “हामीले अब कुनै कम्पनीलाई बाहिर निकाल्ने छैनौं ।”
अमेरिकाले हुवावेमाथि जासुसी गरेको आरोप लगाइ सो कम्पनीलाई दूरसञ्चारको व्यवसायबाट निकाल्न खोजेको छ । हुवावेले हालै अमेरिकी सरकार विरूद्ध मुद्दा दायर गरेको छ । सो मुद्दामा आफू विरूद्ध लगाइएको आरोपको प्रमाण प्रस्तुत गर्न माग गर्दै हुवावेले मुद्दा दायर गरेको हो । चिनियाँ विदेशमन्त्री वाङ यीले चिनियाँ कम्पनी र चिनियाँ नागरिक विरूद्ध हाल गरिएको कारबाही स्पस्ट रूपमा राजनीतिक दबाब दिन गरिएको भएको बताए ।
अमेरिका र चीनबीच व्यापार युद्ध जारी रहेको छ । यी दुई देशका व्यापार प्रतिनिधिहरूबीच निरन्तर वार्ता भइआएको छ । अमेरिकाले युरोपका कार निर्माता कम्पनी बीएमडब्लु एजी र डाइमलर एजी जस्ता कम्पनीमाथि दबाब दिएर जर्मनीमाथि दबाब दिन सक्ने देखिएको छ ।