कमल रेग्मी
सोमवार, मंसिर २५, २०७४
1224

एउटै बिमालेखका माध्यमबाट जोखिम एवं लगानी समेटेर सञ्चालन गरिने बिमालेख नै युनिप लिंक बिमा योजना हो । अर्को शब्दमा जोखिम रक्षावरण एवं धितोपत्रका विभिन्न संयन्त्रमा लगानी गरी मिश्रित रूपमा लाभ लिन सकिने प्रकृतिको बिमालेख नै युलिप हो ।एउटै बिमालेखका माध्यमबाट जोखिम एवं लगानी समेटेर सञ्चालन गरिने बिमालेख नै युनिप लिंक बिमा योजना हो । अर्को शब्दमा जोखिम रक्षावरण एवं धितोपत्रका विभिन्न संयन्त्रमा लगानी गरी मिश्रित रूपमा लाभ लिन सकिने प्रकृतिको बिमालेख नै युलिप हो ।बिमालेखबापत बिमितले प्राप्त गरेको बिमा शुल्कमध्ये निश्चित रकम मोटालिटी जोखिम खर्च, व्यवस्थापन खर्च र अन्य तोकिएका खर्च कट्टा गरी बाँकी रहेको बिमा शुल्क विभिन्न फन्ड (इक्विटी फन्ड, डेब्ट फन्ड, ब्यालेन्स फन्ड, मनि मार्केट फन्ड, ग्रोथ फन्ड, इन्कम फन्ड, डाइभर्सिटी फन्ड) मा बिमक (बिमा कम्पनी) का फन्ड व्यवस्थापन अधिकृतको प्राविधिक राय, परामर्श, सल्लाह, सुझावमा बिमित (बिमालेख खरिद गर्ने व्यक्ति, संस्था) ले चाहेको फन्डमा बिमकले लगानी गरिदिने गर्छ । बिमालेखमा प्राप्त प्रतिफलको अंश सोही लगानीको अनुपातमा बिमितले पाउने गर्छ । यसमा परम्परागत बिमालेखजस्तो बिमकले छनोट गरेको क्षेत्रमा रकम लगानी गरी बिमितलाई बोनस (लगानीको नाफा वा प्रतिफल) दिने नभई बिमितले चाहेको क्षेत्रमा लगानी गरी सोही आधारमा लाभांश दिने भएकाले लाभांश समान नभई बिमितहरूबीच समेत लाभांश फरक–फरक हुन सक्छ । परम्परागत बिमालखेको तुलनामा यस्ता फन्डमा लगानी गर्दा जोखिमको अंश बढी हुन्छ भने लाभांशसमेत सोही अनुपातमा घटी-बढी हुन सक्छ । बच्चा, युवा, ज्येष्ठ नागरिक सबैका लागि उपयोगी हुने गरी विभिन्न बिमाङ्क रकम प्राप्त हुने गरी बिमा शुल्क कायम गरी यो बिमालेख तयार गरिएको हुन्छ । सामान्य बिमा शुल्कको अतिरिक्त थप बिमा शुल्क भुक्तानी गरी थप सुविधासमेत यस बिमालेखमा लिन सकिने गरी प्रस्ताव गरिएको हुन्छ । जोखिम रक्षावरण, लगानी र बचतको माध्यमबाट बिमितले आवश्यकताअनुसार लाभ लिन सक्नेछ । फन्ड म्यानेजमेन्ड अफिसरले दिएको राय, सल्लाह, सुझावबमोजिम बिमितले लगानी गर्न चाहेको क्षेत्रमा बिमकका तर्फबाट लगानी गर्ने भएकाले बिमा कम्पनीमा लगानीको विशेष ज्ञान, अनुभवयुक्त प्राविधिक विशेषज्ञका रूपमा फन्ड म्यानेजर अफिसर अनिवार्य रूपमा आवश्यक पर्छ ।बिमा व्यवसायमा प्रतिस्पर्धा रहेको हुँदा कसरी नयाँ नयाँ बिमालेख योजना बजारमा ल्याई बिमितलाई बढी लाभान्वित एवं आकर्षित बनाउने र बिमकले समेत नाफाको भागीदार हुने भन्ने सोचमा बिमा कम्पनीहरूले यस्तो बहुलाभ युक्त बिमालेखको विकास गरी प्रचलनमा ल्याएका छन् ।
प्रमुख विशेषता लचकता : परम्परागत बिमालेखको तुलनामा यो बिमालेखका सर्तहरू बढी नै स्वतन्त्र रहने गर्छ । यसमा सिंगल प्रिमियम, लिमिटेड प्रिमियम र रेगुलर प्रिमियम तिरेर बिमालेख लिई विभिन्न फन्डमा बिमितको चाहनाबमोजिम लगानी गर्न सकिन्छ । लगानीमा विविधता र व्यावसायिक फन्ड म्यानेजर : बिमितबाट प्राप्त प्रिमियमलाई उसैको इच्छा, चाहनाअनुसार बिमकका तर्फबाट व्यवस्था गरेको फन्ड म्यानेजरले दिएको सुझावबमोजिम लगानी हुने गर्छ । यस बिमालेखमा अनेकन फन्डमा बिमित आफैंले फन्ड म्यानेजरको निःशुल्क राय, सल्लाहबमोजिम लगानी गर्न सक्नेछ । हाल बजारमा प्रचलनमा रहेका फन्डहरूमा लगानी गर्ने अवसर बिमितलाई प्राप्त हुने गर्छ ।स्वीचिङ सुविधा : हाल बजारमा प्रचलनमा रहेका यस्ता बिमालेखमा लगभग ५० भन्दा बढी क्षेत्रमा निःशुल्क रूपमा स्वीचिङ सुविधा बिमकबाट बिमितले पाउन सक्छ । यसको जानकारी बिमितले दैनिक रूपमा दिनको अपरान्ह ३ बजेसम्ममा जानकारी पाउने व्यवस्था रहेको छ । सोही जानकारीका आधारमा सेयर बजारमा लगानी गरेसरह आफ्नो बिमा शुल्कलाई आगामी दिनमा बिमितले बिमकमार्फत माथि उल्लेख भएअनुसारका विभिन्न लगानीका संयन्त्रमा लगानी गर्न सक्नेछ ।सुरक्षित पुँजी :परम्परागत बिमालेखमा प्राप्त हन सक्ने बोनसको तुलनामा यस बिमालेखको बिमा शुल्क विभिन्न नयाँ–नयाँ अवसरयुक्त क्षेत्रमा लगानी गरिने भएकाले भविष्यमा प्राप्त हुन सक्ने बोनसको दर बढी सुरक्षित हुने देखिन्छ ।प्रिमियम होलिडेको स्वतन्त्रता : बिमितले पाँच वर्षसम्म बिमा शुल्क भुक्तानी गरेपश्चात् केही वर्षसम्म प्रिमियम भुक्तानी नै नगरी निष्क्रिय रूपमा रहन सक्ने र बिमितको चाहना पुनः भएमा सोही बिमा योजनालाई निरन्तरता दिन सक्ने सुविधा यस बिमालेखमा रहन्छ । यसलाई प्रिमियम होलिडे भनिन्छ ।आंशिक रकम फिर्ता र सरेन्डर : तोकिएको निश्चित अवधि (सामान्यतया न्यूनतम पाँच वर्ष) पछि बिमितले बिमा शुल्कका रूपमा बिमक कहाँ जम्मा भएको रकम र सोही अवधिसम्मको बोनससहितको रकम बिमालेखमा उल्लेखित सर्तको अधीनमा रही जारी भएको बिमालेखलाई स्थायी वा अस्थायी रूपमा बिमालेख निष्क्रिय तुल्यार्ई बिमितले पूरै वा आंशिक रकम फिर्ता लिन सकिने सुविधा यस बिमालेखमा रहने गर्छ । बिमालेखको फोर्स क्लोजर : एक निश्चित समयपछि बिमितले तिरेको प्रिमियबाट मोटालिटी र केही व्यवस्थापन खर्च कटाएर बाँकी रकम बिमितिले बिमालेख बन्द गरी सोबापतको रकम लिन पाउनेछ । यसलाई बिमाको शब्दावलीमा फोर्स क्लोजर भनिन्छ । फ्री लुक पिरियड : बिमितले सामान्य जानकारीका आधारमा वा अभिकर्ताको गलत सूचनाका आधारमा वा अन्य कुनै किसिमबाट बिमा गराई बिमालेख जारी गरेको रहेछ र उसलाई एक निश्चित अवधिपश्चात् सो बिमालेखप्रति शंका–उपशंका वा आर्थिक प्रतिफल आदिका कारणबाट सन्तुष्टि नभएमा उक्त प्रि–लुक पिरियड वा १५ दिन भित्रमा बिमालेख रद्द गराउन सक्नेछ । भुक्तानी गरेको बिमा शुल्क रकमबाट बिमकले बिमालेखमा उल्लेख भएका सर्तको अधिीनमा रही केही चार्ज कट्टा गरी बाँकी रकम बिमितले फिर्ता लान सक्ने सुविधा यसमा रहेको छ । ग्रेस पिरियड : बिमितले बिमा शुल्क तिर्ने समय अवधिमा केही छुट पाउनेछ । वार्षिक प्रिमियमको हकमा ३० दिन र अर्धवार्षिकको हकमा १५ दिन ग्रेस पिरियड उपलब्ध गराइन्छ । पुनर्जागरण : परम्परागत बिमालेखमा तोकिएको अवधि एवं थप अवधिमा समेत बिमा शुल्क भुक्तानी नगरेमा बिमालेख स्वतः ल्याप्स हुने सक्ने र बिमकले चाहेमा नियमनकारीको अनुमतिले सोही बिमालेख पुनः जागरण गराउन सकिने प्रावधान रहेका हुन्छ । तर, यस योजनामा निश्चत अवधिसम्म प्रिमियम भुक्तानी नभए पनि बिमालेख स्वतः ल्याप्स नहुने र बिमितको चाहनाबमोजिम केही समयको अन्तरालपछि प्रिमियम भुक्तानी गर्दा उक्त बिमालेख स्वतः पुनः जागरण हुने गरी सुविधा प्रदान गरिएको छ ।थप बोनसको ग्यारेन्टी : यस बिमालेखमा बिमितले छनोट गरेको लगानीबाट प्राप्त हुने बोनसका अतिरिक्त कम्पनीले लिएको बिमा शुल्क रकम लगानीबाट थप बोनसको व्यवस्था गरी उपलब्ध गराउने व्यवस्था हुन्छ ।  नेपालमा विद्यमान अवस्था नेपालमा विभिन्न प्रकारका नयाँ–नयाँ बिमालेखहरू बिमा कम्पनीहरूले प्रचालनमा ल्याएका भए पनि युलिप बिमालेखको प्रत्यक्ष विशेषता भएको बिमालेखहरू भने बिमा समितिबाट अनुमोदन भएको देखिन्न । नेपाली बिमा कम्पनीमा प्रचलनमा आउनुअघि सबै बिमालेखहरू बिमा समितिमा अनुमोदनका लागि पेस गर्नुपर्ने हुन्छ । समितिले आफ्नो बिमाङ्की परामर्शदाताको प्राविधिक राय, सिफारिसका आधारमा मात्र अनुमोदन गर्ने गर्छ । त्यसैले यो प्रकृतिको बिमालेख बिमा कम्पनीमा प्रचलनमा ल्याउँदा पूर्णतः बिमाङ्की परामर्शबाट अनुमोदन हुने भएकाले सर्वसाधारणका लागि जोखिम कम नै हुने गर्छ । बिमाको जोखिम र धितोपत्रका सुरक्षणहरूमा समेत लगानी गरी बिमितलाई लाभान्वित बनाउने बिमालेख भएकाले बिमितहरूले खरिद गरी उपयोग गर्न सकिन्छ । त्यसका लागि बिमा नियमनकारी निकाय बिमा समिति, बिमा कम्पनी, बिमा गर्ने व्यक्ति वा निकाय र धितोपत्र क्षेत्रको नियमन निकाय धितोपत्र बोर्ड आदि पक्षको आपसी सहयोग आदानप्रदान छलफलबाट यो बिमालेख नेपाली बजारमा लागू गराई सबै पक्ष लाभान्वित हुन सक्ने देखिन्छ । 

चुनौती बिमालेख नेपालका लागि बिल्कुलै नौलो प्रकृतिको भएको बिमित र लगानीकर्ताहरूमा सचेतना कम रहेको, बजारको हल्ला वा साथीभाइको लहलहैमा मात्र प्रतिफलयुक्त यस्ता कार्यमा लगानी गर्ने हुनाले आर्थिक रूपमा चेतना फैलाउन नसकेसम्म कार्यान्वयनमा जान अवश्य नै पनि चुनौती रहने देखिन्छ । सामान्य बिमालेखहरू नेपालमा प्रचलनमा रहँदा समेत बिमाको चेतना अत्यन्तै कम भएको अवस्थामा यो बिमालेख लागू गर्ने सन्दर्भमा चुनौतीहरू अवश्य नै छन् । चुनौती नै व्यवस्थापनका कच्चापदार्थ हुन् भन्ने भनाइलाई शिरोधार्य गरी युनिट लिंक बिमालेख योजनालाई अवसरका रूपमा लिई अगाडि बढ्नु जरुरी छ । यसका लागि नियमनकारी निकाय, बिमकका कर्मचारीहरूलाई अल्प अवधि, मध्यअवधि र लामो अवधिका तालिमहरूमा पठाई चुनौतीलाई अवसरमा परिणत गर्न सकिन्छ । 
समाधानका उपाय युनिट लिंक बिमालेख योजनालाई कार्यान्वयनमा ल्याउनका लागि सर्वप्रथम बिमालेखाको विकास गर्ने, नियमनकारी निकायका कर्मचारीहरू र विशेष गरी बिमा कम्पनीका अन्डर राइटिङलगायतका अन्य विभागका कर्मचारीलाई अभिमुखीकरण, आधारभूत एवं विशेष तालिम प्रदान गर्ने, सेयर बजार र सोसँग सम्बन्धित आर्थिक लगानीकर्ताहरूलाई सहभागी गराएर गोष्ठी, छलफलको आयोजना गर्ने गर्नुपर्छ । बिमा समितिले नियमित रूपमा विज्ञहरूसँगको सहकार्यमा नियमित एवं सघन निरीक्षण, सुपरिवेक्षण गर्नुका साथै देखिएका समस्यालाई अविलम्ब सुधार गर्नुपर्छ । यसो गर्न सके नेपाल र नेपालीको आर्थिक विकाससँगै बिमाको दायरा बढाउन कुनै गाह्रो  नहुने देखिन्छ । (लेखक बिमा समितिका निर्देशक हुन् ।)