कारोबार संवाददाता
मंगलबार, मंसिर १९, २०७४
2096

छिमेकी राष्ट्र भारतका पूर्वराष्ट्रपति तथा वैज्ञानिक अब्दुल जे कलामले सन् २००६ को अगस्ट १० गते नयाँ दिल्लीमा जन्नापिथ पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दा भनेका थिए, “मेरो मृत्युमा कुनै बिदा घोषणा नगर्नु, बरु थप एक दिन बढी काम गर्नु ।” कर्मशीलहरू कामलाई सम्मान गर्दा आफू सम्मानित भएको ठान्छन् तर हाम्रो देशमा चाहि“ सार्वजनिक बिदालाई प्रतिष्ठाको विषय बनाउने प्रचलन बढ्दै जाँदा पूरै देश ठप्प पार्ने सार्वजनिक बिदाको संख्या दिनानुदिन बढ्दै जान थालेको छ ।
बिदाको दिन नियमित कार्यतालिकाबाट मुक्त भइने र व्यक्तिगत इच्छाअनुसार समय बिताउन पाइने हुँदा प्रायःजसो बिदालाई खुसीको अवसरमा गणना गरिन्छ । संसारभरि नै विशेषतः जागिरेहरू क्यालेन्डरको पानामा बिदा कहिले छ भनेर खोजिरहेका हुन्छन् तर नेपालमा बिदाका दिन यति धेरै हुन थाले कि बिदा पाउँदा रमाउनेहरूलाई समेत बिदाप्रति वितृष्णा लाग्ने समय आएको आभास हुन थालेको छ ।

सरकारले २०७३ चैत १५ गतेको राजपत्रमा विक्रम संवत् २०७४ सालभर समुदायविशेष र स्थानविशेषमा हुने १९ दिनको बिदा तथा शनिबारको साप्ताहिक बिदासहित दसैँ, तिहार, दिवस र जन्मजयन्तीसमेत गरी वर्षभरिमा १ सय २ दिन बिदा दिने सूचना प्रकाशित गरेको थियो । त्यसयता पनि नयाँ–नयाँ अवसरको बहानामा विदाको संख्या थपिँदै गएको छ । यसरी नै बिदाको संख्या बढाउँदै जाने हो भने कुनै समय वर्षभरिमा काम गर्ने दिनभन्दा बिदाको दिन धेरै हुने अवस्था आयो भने अनौठो मान्नु पर्दैन ।
व्यवस्थित बिदा प्रणालीले देश विकास र समग्र अर्थतन्त्रमा सकारात्मक भूमिका खेलेको हुन्छ । बिदाका अवसरमा प्राप्त गर्ने आरामको समयले शारीरिक र मानसिक स्वाथ्यलाई सबल बनाउने मात्र होइन, व्यक्तिको सिर्जनात्मक क्षमतासमेत अभिवृद्धि गर्न मद्दत पुर्याउछ । बिदाले सामाजिक–सांस्कृतिक सम्बन्धहरूलाई सुमधुर बनाउन सहयोग गर्छ । विशेषतः चाडपर्वमा दिइने बिदाले अर्थतन्त्रमा उपभोगको मात्रा बढाउने हुँदा वाणिज्य क्षेत्रमा सकारात्मक प्रभाव पारेको हुन्छ । बिदाको अवसरले पर्यटनजन्य उद्योगहरूको गतिविधि बढाउन योगदान गर्छ । त्यसैले व्यवस्थित सार्वजनिक छुट्टीहरू व्यक्तिगत, समुदाय र सांस्कृतिक लाभको हिसाबले महत्वपूर्ण छन् । तर, यसका लागि बिदा प्रणाली सान्दर्भिक, व्यावहारिक, मौलिक, वस्तुनिष्ठ र वैज्ञानिक हुन जरुरी हुन्छ ।
बिदाको संख्या हुँदा देशको उद्योगधन्दामा प्रतिकूल प्रभाव परेको हुन्छ । बिदाको दिन ज्यालामा काम गर्ने मजदुरले आफ्नो तलब गुमाउँछ भने तलबमा काम गर्ने कर्मचारी रहेको उद्योगमा बिदाको दिन उत्पादन शून्य भए पनि कर्मचारीको तलब–विद्युत्लगायतको महसुल नियमित तिर्नैपर्छ, जसका कारण उत्पादनको लागत बढ्न जान्छ । सार्वजनिक बिदाले वैयङ्किक क्षेत्रलाई विशेष असर गर्छ । अहिलेको विश्वमा बैंकमा बिदा हुँदा बचतकर्ता, लगानीकर्ता, उत्पादकलगायत सबैको लेनदेन ठप्प हुँदा समग्र अर्थतन्त्रमै प्रतिकूल प्रभाव परेको हुन्छ ।
क्यालेन्डरमा छापिएका बिदाबाहेक अनियोजित र अपर्झट घोषणा गरिएका बिदाले वित्तीय र पुँजीबजारलाई क्षति महत्व
छन् । अपर्झट घोषणा हुने बिदाले विकास आयोजनाको दैनिक कार्ययोजनालाई नै पछाडि धकेलिदिने सम्भावना हुन्छ, जसले गर्दा विकास आयोजना सम्पन्न गर्नका लागि आवश्यक लागत र समय दुवै बढ्ने अवस्था सिर्जना हुन्छ ।
नेपालमा सार्वजनिक बिदाको संख्या ज्यादा त छ नै, बिदाको व्यवस्थापन पनि वैज्ञानिक हुन सकेको छैन । सार्वजनिक बिदाबाहेक प्रायःजसो सार्वजनिक संस्थाहरूमा काम गर्ने कर्मचारीहरूले प्रत्येक वर्ष ३० दिन घर बिदा, १२ दिन बिरामी विदा, ६ दिन भैपरी बिदा र ६ दिन पर्व पनि पाउँछन् । कुल जनसंख्याको १ प्रतिशतभन्दा कम जनताले मनाउने कतिपय चाडपर्वमा समेत पूरै देशभर सार्वजनिक बिदा दिँदै गर्दा कर्मचारीलाई दिइने पर्व बिदाको कुनै औचित्य देखिँदैन । कर्मचारीले पाउने बिदाहरू पनि हचुवाकै भरमा लागू भएको देखिन्छ । उदाहरणका लागि जो कर्मचारीले सुत्केरी बिदा पाउँछन् तिनै कर्मचारीलाई विवाह बिदा दिने व्यवस्था देखिँदैन । विवाहपछाडिको महत्वपूर्ण समय एक–अर्कासँगसँगै बिताउँदा एकले अर्कालाई बुझ्ने, भविष्यको योजना बनाउन पाउने हुँदा पारिवारिक सम्बन्ध सुमधुर हुने वातावरण बन्छ । पारिवारिक हिसाबले सुखी व्यक्तिको उत्पादकत्व स्वभावैले बढी हुन्छ । यति मात्र होइन, हनिमुनका बेला नवदम्पतीहरू घरबाट टाढा गएर समय बिताउने हुँदा यसले पर्यटन उद्योगलाई समेत टेवा पु¥याएको हुन्छ ।
हाम्रो देशमा हचुवाको भरमा निर्मित बिदा प्रणाली छ । बिदाको फाइदा–बेफाइदाका बारेमा बहस, विश्लेषण र गहन छलफल गरी बिदा प्रणालीलाई वस्तुगत, वैज्ञानिक र अर्थतन्त्रमैत्री बनाउने प्रयास भएको पाइँदैन । ०६२÷६३ को जनआन्दोलनपछि पहिचानको मुद्दाले महŒव र प्राथमिकता पाउँदै जाँदा देशका विभिन्न जातीय समुदाय र धार्मिक सम्प्रदायका चाडपर्वका दिन देशव्यापी सार्वजनिक बिदा दिने प्रचलन बढेसँगै नेपालमा सार्वजनिक बिदाको संख्या बढ्ने क्रम जारी छ । बिदालाई कुनै पनि जात, धर्म, समुदायले प्रतिष्ठाको विषय बनाउन बन्द गर्नुपर्छ । चाडपर्वको बिदा दिँदा उक्त चाडपर्व मनाउने वर्ग, समुदाय र क्षेत्रमा मात्रै बिदा पाउने व्यवस्था हुन जरुरी छ । कुनै एक क्षेत्र विशेषमा मनाउने चाडका लागि देश नै ठप्प पार्ने गरी बिदा दिनु कुनै पनि तरिकाले पुष्टि हुन सक्दैन । त्यसैले सांस्कृतिक संरक्षण प्रवद्र्धनका लागि बिदाबाहेकका उपाय र माध्यमको खोजी गरिनु आवश्यक भएको छ । त्यस्तै, यातायातलगायतको सुविधा बढेको सन्दर्भमा देशको ठूलो समुदायले मनाउने र लामो समय बिदा दिइने दसैं–तिहारजस्ता चाडहरूको बिदामा समेत पुनरावलोकन गर्नुपर्ने समय आएको छ ।
हाल देश संघीय प्रणालीमा गएसँगै पछि स्थानीय र प्रादेशिक बिदाहरू समेत थपिएर अनगिन्ती बिदा हुन सक्ने खतरा बढेर गएको छ । त्यसैले बिदा व्यवस्थापनका सम्बन्धमा राष्ट्रिय नीति तय गर्नु जरुरी देखिन्छ । बिदा प्रणालीलाई व्यवस्थापन गर्न सबैभन्दा पहिला बिदाको वर्गीकरण गर्नु आवश्यक हुन्छ । हप्ताको एक दिन शनिबार दिइने बिदाबाहेक अरू बिदालाई सार्वजनिक बिदा भनिनु हुन्न । बाँकी दिनको बिदालाई राष्ट्रिय बिदा, प्रादेशिक बिदा र स्थानीय बिदा गरी वर्गीकरण गर्न सकिन्छ । बिदाको व्यवस्थापन गर्दा पर्यटनलगायतका आर्थिक क्षेत्रमा सकारात्मक असर पार्ने अवसरहरूमा ध्यान पु¥याउनु आवश्यक छ ।
बिदाको सान्दर्भिकता, व्यावहारिकता हेरेर जनशक्तिको सदुपयोग गर्दै अर्थतन्त्र र देश विकासमा उनीहरूको योगदान बढाउन बिदाको संख्या घटाउनैपर्ने बेला आएको छ । त्यसका लागि सबैभन्दा पहिला सार्वजनिक बिदालाई प्रतिष्ठा विषय बनाउने कार्यलाई निरुत्साहित गर्नैपर्छ । जुनसुकै अवसरमा पनि देश नै पूर्ण रूपमा ठप्प हुने गरी बिदा गर्ने चलन बढ्दै जाँदा सार्वजनिक बिदा धेरै भयो भनेर केही वर्षदेखि सबै क्षेत्रबाट आलोचना हुँदै आएको छ । तर, कसैले पनि बिदा प्रणालीलाई व्यवस्थित गर्ने विषयमा निर्मम भएर निर्णय गर्न नसक्दा समस्या जहाँको तहीं छ । त्यसैले देश विकासको रफ्तार अघि बढाउँदै आर्थिक समृद्धिलाई गतिशीलता प्रदान गर्न बिदा प्रणालीलाई सान्दर्भिक, व्यावहारिक, मौलिक, वस्तुनिष्ठ र वैज्ञानिक बनाउने सन्दर्भमा सरोकारवाला सबैको समयमै ध्यान जानु आवश्यक देखिन्छ ।

विस्नु प्रवा सापकोटा