रमेश घिमिरे
सोमवार, मंसिर १८, २०७४
1491

नेपालमा सबैभन्दा दु्रत गतिमा फैलिरहेको गल्ली–गल्ली र गोरेटोसम्म पुगेको बिजनेस स्मार्ट मोबाइल सेट, ल्यापटप कम्प्युटर र इन्टरनेट हो । सूचना–प्रविधि भनेको मुख्यतः यिनै तीन चिजको संयोजन हो । यसका प्रयोगकर्ता हरेक वर्ष दोब्बर बढेको पाइन्छ । नेपालमा सूचना–प्रविधि प्रयोग गर्नेको आधार संख्या कम भएको हुनाले वृद्धि दु्रत देखिएको हो । सूचना–प्रविधिसम्बन्धी सामग्रीको मूल्य एकातिर हरेक वर्ष घट्दै जाने र अर्कातर्फ त्यसको प्रयोग गर्ने विधि तथा उपयोगिताबारे सर्वसाधारणले पनि बुभ्दै गएकाले यसको प्रयोग बढेको हो ।
एक दशकअघि १० हजार रुपैयाँ (वर्तमान मूल्यमा २६ हजार रुपैयाँ) पर्ने मोबाइल सेटको विशेषता भएका सेट अहिले १८ सय रुपैयाँमा आउँछ भने त्यो समयमा डेढ लाख रुपैयाँ (वर्तमान मूल्य ३ लाख ९० हजार रुपैयाँ) पर्ने ल्यापटपको विशेषता भएका ल्यापटप अहिले ३५ हजार रुपैयाँमा पाइन्छ । नयाँ मोडलको ग्याजेटको मूल्य बढ्दै जान्छ र त्यो मोडल पुरानो हुँदै गएपछि मूल्य क्रमशः घट्दै जान्छ । ५ हजार रुपैयाँमा पनि स्मार्टफोन पाइन्छ भने ब्रान्डेड नयाँ मोडलको मूल्य १ लाख २० हजार रुपैयाँसम्म पर्छ । नौ वर्षअघि व्यक्तिगत प्रयोगकर्ताले इन्टरनेट किन्नै नसक्ने मूल्य थियो । अहिले मासिक १ हजार रुपैयाँ तिरेर प्राप्त हुने अवस्था आएको छ ।

ल्यापटप, मोबाइल सेट, ट्याब्लेट पीसी वा इन्टरनेटमा भएका विशेषतामध्ये आफूलाई चाहिने के–के हुन् ? त्यो पहिले निक्र्योल गरेर मात्र पैसा खर्च गर्नुपर्छ । ल्यापटप किन्न जाने धेरै ग्राहक लेटेस्ट भर्सन चाहियो भन्छन् । मोबाइल सेट पनि अलि धेरै पैसाको किन्नुपुर्या भनेको सुनिन्छ । धेरै ग्राहकलाई जति महँगो सामान किन्यो, उति गुणस्तरीय होला भन्ने भ्रम हुन्छ । वास्तवमा थोरै मूल्यको सामानमा थोरै काम गर्न मिल्ने र धेरै मूल्यको सामानमा धेरै काम गर्न मिल्ने हो । कम्प्युटर चलाउने सामान्य ज्ञान मात्रै छ भने ग्राफिक्स डिजाइनिङ गर्ने, भिडियो इडिटिङ गर्ने, धेरै क्षमताको प्रोसेसर भएको, धेरै क्षमताको याम भएको र धेरै जीबी फाइल भण्डारण गर्न मिल्ने हार्डडिस्क भएको ल्यापटप किन्नु व्यर्थको खर्च हो । १ लाख रुपैयाँको ल्यापटप किने पनि ३५ हजार रुपैयाँको ल्यापटपमा पाउने सुविधाभन्दा बढी आफूलाई उपभोग गर्ने ज्ञान र आवश्यकता दुवै छैन भने ७० हजार रुपैयाँ अनावश्यक खर्च हो ।
मोबाइलबाट आफूले लिन चाहेको सेवा के–के हो ? पहिले त्यसमा निश्चित हुनुपर्छ । सस्तो सेटमा पनि एसएमएस र फोनका अतिरिक्त छोटो रेकर्डिङ, क्यामेरा, सयौं व्यक्तिको विवरण सुरक्षित गर्ने क्षमता, जीपीआरएस (इन्टरनेट), ब्लूटुथ, फोटो र आवाज पठाउने एमएमएस आदि सेवा उपलब्ध हुन्छन् । योभन्दा बढी सुविधा चाहियो भने मात्र महँगो सेट किन्नुपर्छ । धेरै मानिसको हातमा १ लाख रुपैयाँ मूल्यबराबरको सेट देखिन्छ, तर ५ हजार रुपैयाँको सेटमा भएका सुविधा पनि उसले उपयोग गरेको हुँदैन । धेरै एप्स प्रयोग गर्नुपर्ने छैन भने बढी इन्टरनल मेमेरी भएको सेट किन्नु अनावश्यक खर्च हो, किनकि इन्टरनल मेमेरीको क्षमताका आधारमा सेटको मूल्य महँगो पर्छ ।
त्यस्तै, आफूलाई कति गतिको इन्टरनेट चाहिन्छ र कति समय चलाउनुपर्छ भन्ने कुरा यकिन गरेर मात्र यस्तो सेवा किन्नुपर्छ । लगातार चलाउनुपर्ने छ भने अनलिमिटेड सेवा लिनु उपयुक्त हुन्छ । कहिलेकाहीं मात्र आवश्यक पर्ने हो भने एमबी डाइनलोडअनुसार शुल्क लाग्ने सेवा लिनुपर्छ । इन्टरनेटमा धेरै काम गर्नुपर्ने छैन, ठूला साइजका फाइल डाउनलोड वा अपलोड गर्नु छैन भने बढी गतिको इन्टरनेट लिएर बढी शुल्क तिर्नु अनावश्यक खर्च मात्र हो ।
सूचना–प्रविधि साध्य होइन, साधन हो । यसले आफै कुनै पनि काम फत्ते गर्दैन, कामलाई छिटोछरितो पारिदिने मात्र हो । यदि फुर्सदै फुर्सद छ भने सूचना–प्रविधिको प्रयोग गर्नु नै अनावश्यक खर्च हो । आफूलाई कति छिटो काम सक्नुपर्ने हुन्छ, त्यहीअनुसार दु्रत काम गर्ने वा अलिक ढिलो काम गर्ने सूचना प्रविधिका सामग्री र सेवा किन्नुपर्छ । मोबाइल वा ल्यापटप नयाँ मोडलमा महँगो हुन्छ र निकै छिटो त्यसको मूल्य घट्छ । त्यसैले यदि नयाँ मोडलको महँगो सेट किन्ने हो भने त्यो सेटको मूल्य एक महिनामा जति रुपैयाँले घट्छ, कम्तीमा त्यति रुपैयाँबराबरको उपयोगिता एक महिनाभित्र त्यो सेटबाट लिइसक्नुपर्छ । नयाँ मोडलबाट पनि पुरानो मोडलबाटै गर्न सकिने काम गर्ने हो भने नयाँमा गरिएको लगानी व्यर्थ हुन्छ ।
हरेक दुई÷तीन महिनामा मोबाइल र ल्यापटपका नयाँ भर्सन बजारमा आउँछ । भर्सन नयाँ हुँदैमा पुरानो मोडलभन्दा त्यो एकदमै राम्रो हुँदैन । प्रोसेसरको क्षमता कति बढेको छ, त्यो हेर्नुपर्छ । त्यस्तै पुराना सुविधा मोडिफाई मात्र गरिएको छ कि नयाँ सुविधा थपिएको छ भनेर पनि हेर्नुपर्छ । नाम फरक भए पनि नयाँ मोडल आउँदा त्यति धेरै अन्तर हुँदैन । अर्काे कुरा, यति क्षमताको प्रोसेसर, यति मेगापिक्सेलको क्यामेरा, यो फरम्याटको रेकर्डर आदि मात्र हेरेर हुँदैन । कुनै कम्पनीको २ मेगापिक्सलको क्यामेरा अर्काे कम्पनीको ५ मेगापिक्सलको भन्दा धेरै गुणस्तरीय हुन्छ । लेखिएको ब्याट्री क्षमता एउटै भए पनि कुनै कम्पनीको बढी समय टिक्छ भने कुनैको छिटो चार्ज गर्नुपर्ने हुन्छ ।
नेपाली बजारमा चाइनिज ब्रान्डका ल्यापटप र मोबाइल सेट प्रशस्तै आएका छन् । बहुराष्ट्रिय ब्रान्डका तुलनामा अधिकांश ग्याजेटको गुणस्तर कमजोर छ । यद्यपि चाइनिज सेटमा फङ्सन भने पूरा राखिएको हुन्छ । त्यसैले उच्च गुणस्तरको सेवा नचाहिएको अवस्थामा यस्ता सेट किन्न सकिन्छ । मोबाइल सेट किन्दा मुख्यतः नेटवर्क टिप्ने क्षमतामा ध्यान पुर्याउनु आवश्यक हुन्छ । टेलिकम सेवाप्रदायकको गुणस्तर खराब भएर मात्र मोबाइल नेटवर्क नटिप्ने होइन, सेट पनि यसमा जिम्मेवार हुन्छ । धेरै चाइनिज सेटमा टेलिकमको टावर टाढा हुँदा राम्रो नेटवर्क आउँदैन । नेपालमा आउने बहुराष्ट्रिय ब्रान्ड पनि प्रायः चीनमै निर्मित हुन् । चीनमा उत्पादन भएका बहुराष्ट्रिय ब्रान्ड र चीनका स्थानीय ब्रान्ड वा नन–ब्रान्ड छुट्ट्याएर चिन्नुपर्छ । यसर्थ आफूले कतिसम्म महँगो प्रविधि प्रयोग गरेर काम गर्दा लागत उठ्छ वा उत्पादकत्व बढ्छ, त्यो हेरेर खर्च गर्नुपर्छ ।