प्रा.डा. कमलराज ढुंगेल
सोमवार, मंसिर १८, २०७४
1726

कुनै पनि अर्थतन्त्रका चार अंग उपभोग, उत्पादन, विनिमय र वितरण हुन्छन् । यी सबैको क्रियाशीलता सन्तुलित ढंगले हुँदा मात्र देश विकासले पाइला चाल्न सक्छ । आर्थिक समृद्धि प्राप्त हुन्छ । नागरिकको जीवनस्तरमा बढोत्तरी हुन्छ । दरिद्रता हट्छ र स्वच्छ समाजको परिकल्पना गर्न सकिन्छ । आर्थिक जगत्का यी सबै अंगमध्ये उत्पादन र उपभोग प्रारम्भिक अंगका रूपमा रहेका हुन्छन् । उपभोगका निम्ति उत्पादन जरुरी हुन्छ । कुनै वस्तु वा सेवा एउटा अवस्थाबाट अर्को अवस्थामा रूपान्तरण गर्नुलाई उत्पादन भनिन्छ । उत्पादित वस्तु तथा सेवालाई निश्चित मूल्यमा बजारमार्फत उपभोक्ताहरूसमक्ष पुर्याउने कार्य विनिमयले गर्छ । उपभोक्ताहरूले आफ्नो आवश्यकताअनुसार मुद्राको माध्यमद्वारा खरिद गर्छन् । अर्थात्, उत्पादकले वस्तु तथा सेवाको उत्पादन गरी बजारमा पुर्याउँछन् भने उपभोक्ताहरूले सो उत्पादित वस्तु तथा सेवा निश्चित मूल्यमा बजारबाट खरिद गर्छन् । यो प्रक्रियाद्वारा उपभोक्ताले खरिद गरेको वस्तुबाट प्राप्त रकम उत्पादकले पाउँछन् । उत्पादकले वस्तु उत्पादन गर्दा विभिन्न उत्पादनका साधनहरू (भूमि, पुँजी, श्रम र संगठनको प्रयोग गरेका हुन्छन् । बजारमा वस्तु तथा सेवाको बिक्रीबाट प्राप्त आम्दानी यी सबै उत्पादनका साधनहरूमा विभाजन गरिन्छ । उत्पादकले बजारमार्फत उपभोक्ताहरूबाट प्राप्त आम्दानी विभिन्न उत्पादनका साधनहरूमा विभाजन गर्ने कार्यलाई वितरण भनिन्छ । अर्थतन्त्रका यी चार अंगमध्ये नेपालको सन्दर्भमा उत्पदनको चर्चा यो लेखमा गरिन्छ ।
उत्पादन : उत्पादनका साधनहरू भूमि, पुँजी, श्रम र संगठनको प्रयोग गरी कुनै ठोस पदार्थको एक अवस्थाबाट अर्को अवस्थामा रूपान्तरण गर्ने कार्यलाई उत्पादन भनिन्छ । तयारी वस्तु तथा सेवा उपलब्ध गराउन उद्यमशिलताको आवश्यक्ता पर्छ । नेपालमा उद्यमशीलताका साथै उपयुक्त निति तथा कार्यनीतिको अभावका कारण आवश्यकताअनुसार वस्तुको उत्पादन गर्न उद्योग–व्यवसायको विकास हुन सकिरहेको छैन ।
१. कृषि पनि वस्तु उत्पादन गर्ने एउटा उद्योग हो । नेपालको सन्दर्भमा कुरा गर्दा परापूर्व कालदेखि चल्दै आएको घरघरमा गरिने आर्थिक क्रियाकलापमध्ये कृषि एक हो । हालका वर्षहरूमा कृषि उत्पादनको वृद्धि उत्साहजनक छैन । कृषिउपजमा उलेख्य वृद्धि हुन नसके पनि नेपालको कुल गार्हस्थ्य उत्पादनमा करिब २९ प्रतिशत योगदान कृषिक्षेत्रकै छ । अझ भन्नुपर्दा नेपालको आर्थिक वृद्धिदर कृषिमै निर्भर रहँदै आएको छ । यति मात्र होइन, निर्यातमा ७५ प्रतिशत योगदान कृषिक्षेत्रले नै गर्दै आइरहेको छ । अर्कातिर ७५ प्रतिशत मानिसको मुख्य पेसा कृषि नै हो । माछामासु, फलफूलको कुरा गर्दा नेपाल धेरै समयअगाडिदेखि नै परनिर्भर थियो र आज पनि यसले निरन्तरता मात्र पाएको होइन कि यसको आयात दिन–परदिन बढिरहेको छ । खाद्यान्नमा पाँच–छ दशकअगाडि नेपाल आत्मनिर्भर थियो । तर, आज खाद्यान्न आपूर्तिमा पनि परनिर्भर हुन पुगेको छ । नेपाली अर्थतन्त्रको जग मानिने कृषिक्षेत्रको विकास समयअनुकूल हुन सकेन । खेतीयोग्य जमिनको उचित संरक्षण हुन सकेन । उर्वर भूमिमा प्लटिङ व्यवसाय मौलाउँदै गयो । राजनीतिक कार्यकर्ताको कमाउने माध्यम प्लटिङ हुन पुग्यो । यसैकारणले पनि यसले मौलाउने मौका पायो । जनसंख्याको वृद्धिसँगै कृषि विकासलाई समायोजन गर्ने कार्य हुन सकेन ।
२. केही निर्माण सामग्रीका वस्तुहरू (डन्डी, जस्तापाता, खानेपानी पाइप, सिमेन्ट आदि) बाहेक नेपालमा अन्य उद्योगहरू क्रियाशील छैनन् । निर्माण सामग्रीसम्बन्धी उद्योग–व्यवसायले केही गति लिएको देखिए पनि यसमा पूरै आत्मनिर्भर भने हुन सकेको छैन । घरघरमा दैनिक रूपले प्रयोग हुने विभिन्न आवश्यकीय सामानको उत्पादन नेपालभित्र हुन सकिरहेको छैन । उदाहरणस्वरूप सन् १९६०–१९८० का दशकहरूमा नेपालमा साबन उत्पादन गर्ने प्रशस्त उद्योग खुलेका थिए । त्यसताका साबुनको आपूर्तिमा नेपाल आत्मनिर्भर हुन लागेको थियो । तर, ती उद्योगहरूको उपस्थिति आज नेपालमा छैन । यो त एउटा उदाहरण मात्र हो । यस प्रकारका धेरै उद्योगको उपस्थिति थियो, तर आज ती सबैको उपस्थिति छैन । वास्तवमा भन्ने हो भने जति नेपालमा वस्तु उत्पादन गर्ने संगठित उद्योगहरू थिए तिनीहरूको विनाश सन् १९९० को दशकपछि नै भयो । हालका वर्षहरूमा नेपालको कुल गार्हस्थ्य उत्पादनमा ५–७ प्रतिशत मात्र उद्योगक्षेत्रको योगदान रहेको छ । विगत एक दशकको अवधिमा उद्योगक्षेत्रको औसत वृद्धिदर केवल २ प्रतिशत छ । यो योगदान पनि खाद्यान्न, चुरोट, पेय पदार्थ विशेष गरी मदिरा उत्पादन आदिमा निर्भर छ । उद्योगक्षेत्रको निराशाजनक उपलब्धिले के पुष्टि गर्छ भने नेपालको अर्थतन्त्र परजीवी हुन पुगेको कुरा कसैले पनि नकार्न सक्दैन । यो क्षेत्रको विकासले अवसरहरूको सिर्जना हुन्छ । नागरिकले काम गर्ने मौका पाउँछन् । फलस्वरूप उनीहरूले कमाउँछन् । यसले उनीहरूको जीवनस्तर उकास्नमा मद्दत गर्छ । उद्योग–व्यवसायको स्थापनाले दैनिक उपभोगका वस्तु, निर्माण सामग्री र अन्य धेरै आयात प्रतिस्थापनका वस्तुहरूको उत्पादन हुन्छ । यो कदमले प्रतिकूल व्यापार घाटालाई अनुकूल बनाउँछ । उद्योग–व्यवसाय सञ्चालनमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुने हुनाले सरकारले निजी क्षेत्रलाई प्रोत्साहन गर्नुपर्छ ।

माग र आपूर्तिको सन्तुलन
उपभोगको आधार उत्पादन हो । उपभोक्ताहरूको उपभोग रुचि, फेसन, सामाजिक मान्यता र आवश्यक्तामा भर पर्छ । अझ महत्वपूर्ण उपभोगको निर्धारक तत्व आम्दानी हो । नागरिकको आम्दानीमा जतिजति वृद्धि हुँदै जान्छ त्यति–त्यति उपभोगमा पनि वृद्धि हुन्छ । आम्दनीमा र उपभोगमा वृद्धि हुँदा बजारमा उपभोग्य वस्तुको मागमा वृद्धि हुन्छ । नेपालको कुल राष्ट्रिय आम्दानीको ९० प्रतिशतभन्दा बढी भाग उपभोगमा खर्च हुन्छ । उपभोगले मागको सिर्जना गर्छ । उपभोगमा वृद्धिका कारण उपभोग्य वस्तुको मागमा वृद्धि हुन्छ । उद्यमी र व्यवसायीहरूले बजारमा बढ्दो मागको सम्बोधन साधारणतया दुई तरिकाले गर्ने गर्छन् । पहिलो, वस्तुको उत्पादनमा विस्तार गराई मागमा वृद्धि भएअनुसार आपूर्ति बढाउँछन् । यो प्रक्रियाले उद्योग–व्यवसायमा विस्तार गराउँछ । घरेलु उद्योगहरूको विस्तार भई रोजगारीका अवसरहरूमा वृद्धि हुन्छ । नागरिकको आम्दानीमा वृद्धि हुन्छ । यसले फेरि उपभोगमा वृद्धि गराउँछ । बजारमा सबै प्रकारका वस्तुहरूको मागमा वृद्धि हुन्छ । यो प्रक्रिया अनन्तकालसम्म चलिरहन्छ । दोस्रो, बढ्दो मागको सम्बोधन आयातबाट गरिन्छ । नेपालको सन्दर्भमा बजार मूल्यमा कुनै परिवर्तन नभई नागरिकको आम्दानीमा वृद्धि हुँदा वस्तुको माग मात्रामा पनि वृद्धि हुने गर्छ । उद्योग–व्यवसायले गति लिन नसकेका कारण वस्तुको मागमा वृद्धि हुँदा उत्पादनमा वृद्धि हुदैँन । आयातबाट आपूर्ति बढाइने गरेको छ ।

सन्तुलित व्यापार
यो सामान्य प्रक्रिया हो कि आर्थिक विकासले गति लिँदै जाँदा बढ्दो मागको सम्बोधन घरेलु उत्पादन र आयातको सम्मिश्रणबाटै गरिन्छ । अझ विश्वव्यापीकरणले अन्तर्राष्ट्रिय व्यापारलाई सहज बनाएको छ । अन्तर्राष्ट्रिय व्यापारले विशिष्टीकरणलाई मलजल गरिरहेको छ । संसारका मुलुकहरूले तुलनात्मक लाभका आधारमा वस्तु तथा सेवाको आयात र निर्यात गरिरहेका छन् । जुन वस्तुको उत्पादन देशभित्र हुदैँन, सो वस्तुको आयात गरी पूर्ति बढाउँछन् । आफ्नो देशमा जुन वस्तुको उत्पादन हुन्छ सो वस्तुको निर्यात गर्छन् । यो दोहोरो प्रक्रियाले अन्तर्राष्ट्रिय व्यापार सन्तुलनमा रहन्छ । विश्वव्यापीकरणका कारण आज संसारका सबै देशको उपभोग आयातित वस्तुमा निर्भर रहेको छ । तर, यो निर्भरता तुलनात्मक र पारस्पारिक लाभका आधारमा हुन्छ ।

नेपालको सन्दर्भ
विश्वका मुलुकहरूले कुनै न कुनै व्यवसायमा (कृषिउपज, सवारीका साधन, लत्ताकपडा, औषधि–उपचारका साधन, निर्माण सामग्री, कम्प्युटर, मोबाइल फोन, रेफ्रिजेरेटर, टिभी), पर्यटन, पेट्रिलियम, कोइला, हवाई यातायात, सेवा आदि क्षेत्रमा विशिष्टीकरण गर्न सफल छन् । यी मुलुकहरूले उपभोगका निमित्त जति आयात गर्छन् त्यति नै निर्यात पनि । यसले व्यापार सन्तुलित राख्न सहयोग गरेको छ । नेपालमा यो मान्यताले कार्य गरिरहेको छैन । उपभोगका निमित्त आयात गरिन्छ, तर निर्यातका निमित्त सम्भावित स्रोतको विकासका निम्ति कदम चालिँदैन । चुरे पर्वतमा रहेको ढुंगा, माटो र बालुवाको अन्धाधुन्ध दोहन गरी निर्यात गरिन्छ । भविष्यमा यसले पार्न सक्ने असरका बारेमा लेखाजोखा गरिँदैन । यही वर्षको मधेस डुबान हुनुमा अव्यवस्थित ढंगबाट दोहन गरिएको ढुंगा, माटो र बालुवाको निर्यात धेरै कारणमध्ये एक कारण हो भन्न सकिन्छ । मधेसका उर्वर जग्गाहरूमा प्लटिङ गरेर बझ्याइन्छ अनि चामलको आयात गर्ने गरिन्छ । नेपालमा निर्यातयोग्य स्रोतसाधनहरू पर्याप्त छन् । उदाहरणका निम्ति औषधि, उद्योग, जलविद्युत्, पर्यटन आदि । नेपालले यी क्षेत्रको विकास गरी विशिष्टीकरण गर्न सक्छ । यसका निमित्त प्रतिबद्धता चाहिन्छ ।