अनन्त सदाबहार
बिहिवार, जेठ ३, २०७५
3214

मुख्यतया ३० र ४० को दशकको नेपाली समाज र राज्यको तत्कालीन परिवेशमा लघुवित्तको अवधारणा आएको थियो । पञ्चायती शासन व्यवस्था, अशिक्षा, गरिबी, दाताहरूमा निर्भर अर्थतन्त्र र विकासे प्रोजेक्टहरूले फैलाएका विभिन्न भ्रम, भौतिक पूर्वाधारको अभाव आदि त्यस समयका प्रमुख विषेशताका रूपमा रहेका थिए । त्यसो त नेपालमा लघुवित्त प्राचीन कालदेखि कुनै न कुनै स्वरूपमा प्रचलनमा रहेको पाइन्छ, तर आधुनिक नेपालमा लघुवित्तको पहिलो प्रारूप २०१३ सालमा राप्ती विकास आयोजनाअन्तर्गत चितवनमा स्थापित बचत तथा ऋण सहकारी संस्थाहरूलाई मान्न सकिन्छ । तत्पश्चात् साना किसान विकास कार्यक्रम, सघन बैंकिङ कार्यक्रम, महिलाका लागि उत्पादन कर्जा कार्यक्रम, महिला लघु ऋण परियोजना र ग्रामीण स्वावलम्बन कोषजस्ता कार्यक्रमहरूको माध्यमले अघि बढ्दै गइरहेको लघुवित्त अभियानमा २०४९ सालमा निर्धन संस्थाको प्रवेशपछि नयाँ चरणको सुरुवात भएदेखि, २०७४ पौष मसान्तसम्म आइपुग्दा जम्मा ५६ लघुवित्त वित्तीय संस्थाहरूले, करिब ५ लाख ६ हजार समूहमा आबद्ध २६ लाख सदस्यमध्ये १७ लाख सदस्यलाई १२ हजार १ सय ७२ करोड कर्जा प्रदान गरेका छन् । त्यस्तै २६ लाख बचतकर्तावाट ४ हजार ९६ करोड बचत संकलन तथा २ हवा १ सय ५३ वटा शाखा कार्यालयमा १० हजार ४ सय ४९ जनालाई रोजगारी समेत दिएका छन् ।
निर्धन संस्थाले बंगलादेशका प्रो. मोहम्मद युनुसले प्रवर्तन गरेको ‘ग्रामीण बैंक प्रणाली’ को अनुसरण गर्दै नेपालमा पनि ‘लघुवित्त कार्यक्रम’ को सुरुवात गरेको हो । वर्तमान नेपालमा ‘लघुवित्त कार्यक्रम’ भनेकै त्यही अनुसरणात्मक कार्यक्रम हो तथा क्रमशः यस क्षेत्रमा गैरसरकारी संस्थाका साथै वित्तीय संस्थाहरूसमेतको आगमनले छोटो समयमै व्यापक विकास तथा विस्तार सम्भव भयो । महिला सशक्तीकरण, लघुकर्जामा पहुँच, सरल र उपयोगी कर्जा, बचत गर्ने बानीको विकास, स्वरोजगार÷आत्मनिर्भरता, वित्तीय साक्षरता तथा आत्मसम्मानको भावनालगायतका विषयहरू लघुवित्तको प्रमुख तथा महत्वपूर्ण उपलब्धिका रूपमा रहेका छन् । नेपालमा रहेका विपन्नवर्गको वित्तीय पहुँच बढाई समग्र विकास गर्नमा लघुवित्तको महत्वपूर्ण योगदान रहेकोमा दुईमत छैन, तथापि पछिल्ला दिनहरूमा यो क्षेत्रमाथि सुनियोजित रूपमा आक्रमण तथा नकारात्मक टिप्पणी हुने क्रम बढेको छ । लघुवित्त वित्तीय संस्थाहरूको आफ्नै केही कमजोरी, तरलता अभाव तथा केही नीतिगत व्यवस्था आदिका कारण वर्तमानमा समग्र लघुवित्त क्षेत्र इतिहासकै नाजुक अवस्थामा पुगेको सरोकारवालाहरू बताउँछन् । वर्तमान परिस्थिति लघुवित्त वित्तीय संस्थाहरूका लागि निकै प्रतिकुल भए पनि नेपालमा लघुवित्तको महत्व विगतमा भन्दा रत्तिभर घटेको छैन, बरु अझ बढेको छ । तसर्थ विपन्नताबाट मुक्तिका लागि महत्वपूर्ण भूनिर्वाह गरेको लघुवित्त क्षेत्रको समस्याहरू तत्काल सम्बोधन गरी यसलाई अझ उपयोगी तथा प्रभावकारी बनाउनु आजको आवश्यकता हो । यसका लागि नियामक निकाय, नीति–निर्मातालगायत सम्बद्ध पक्ष तथा लघुवित्त वित्तीय संस्थाहरू आफैंले समेत सक्रिय भूमिका निर्वाह गर्नुपर्छ ।

लघुवित्त अवधारणाका प्रवर्तक प्रो. मोहम्मद युसुफले परम्परागत बैंकहरू गरिबमैत्री नभएकै कारण यस अवधारणाको सुरुवात गरेका थिए । आजका दिनमा लघुवित्त वित्तीय संस्थाहरू वास्तवमै गरिबमैत्री छन् त ? आफैंसँग प्रश्न सोध्ने समय आएको छ । हालका दिनमा ‘बहुकर्जा’ लघुवित्तको प्रमुख विकृतिका रूपमा देखा परेको छ । लघुवित्त सेवाप्रदायकहरूबीचको अस्वस्थ प्रतिस्पर्धा बहुकर्जाको प्रमुख कारणका रूपमा रहे पनि, लघुकर्जाको परिभाषा तथा सीमा र प्रक्रिया पनि यसका सहायक कारक तत्वका रूपमा रहेका छन् । लघुवित्त कार्यक्रमहरू परम्परागत रूपमै चलिरहने वा यसलाई कसरी अझ प्रभावकारी, उपयोगी र गरिबमैत्री बनाउन सकिन्छ भनेर मन्थन पनि गर्ने ? किनकि विगतमा भन्दा वर्तमानमा गरिबीको अवधारणामा बहुआयामिक परिवर्तन आएको छ र लघुवित्त क्षेत्रले (सेवाप्रदायक तथा नीति निर्माता) उक्त परिवर्तनलाई आत्मसात् गर्नैपर्छ । लघुवित्तले विपन्न वर्गलाई कर्जा प्रदान गरेर उनीहरूको आयआर्जनमा सुधार ल्याउन प्रयास गरिरहेको छ, तर स्थानीय स्रोत तथा साधनहरूको उचित उपयोग हुन सकिरहेको छैन । स्थानीय स्रोत तथा साधनहरूको उचित उपयोगबिना ‘लघुकर्जाको माध्यमले स्वरोजगार/आत्मनिर्भर बन्ने’ कुरा नारामा मात्र सीमित रहनेछ । वैदेशिक रोजगारी, बसाइँसराइ, भौतिक पूर्वाधार तथा बजारको अभावजस्ता कारणले गर्दा स्थानीय स्रोत तथा साधनको प्रभावकारी उपयोग गर्न सक्ने क्षमता क्रमशः कमजोर हुँदै गइरहेको प्रतिकूल अवस्थासमेत रहेको छ ।
त्यस्तै लघुवित्तको आधारशिला भनेकै ‘समूह’ हो । लघुवित्तको समूहमा केही निश्चित मापदण्डका आधारमा मात्र सहभागी गराईन्छ र यसको आफ्नै महत्व पनि छ । तर, वर्तमानमा लघवित्तका समूहहरू ‘समूह’ नभएर बिस्तारै ‘गुट’ जस्ता बन्दै गएका छन् । मुख्यतया समूह भनेको समुदायलाई ‘विभाजन गर्ने’ (जुनसुकै आधारमा किन नहोस्) अवधारणा हो र हालका दिनमा त्यसका विकृतिहरू पनि देखिन थालेका छन् । तसर्थ अब सबैलाई समेटेर एकीकृत गर्ने ‘समुदाय’ को अवधारणामा लघवित्तका ‘समूह’ लाई कसरी रूपान्तर सकिन्छ भनेर सोच्ने बेला भएन र ? लघुवित्त अभियानले ‘समुदाय’ लाई समेट्न नसकेकै कारण, आमजनमानसको लघुवित्त संस्थाहरूप्रति अपनत्वको भावनामा कमी आई ‘बाहिरिया’ को जस्तो व्यवहार हुने गरेको छ । लघुवित्त क्षेत्रप्रतिको नकारात्मक धारणामा वृद्धि हुनु यसैको परिणाम हो, जसको नकारात्मक प्रभाव समग्र लघुवित्त अभियानमा परेको छ र यो अभियानमा संलग्न सबैको मनोबलसमेत घटाएको छ । तसर्थ अबको लघुवित्त अभियान निरपेक्ष रूपमा ‘समूह’ मा मात्र केन्द्रित नभई ‘समुदायमुखी’ समेत हुनुपर्छ ।
लघुवित्त समुदायमुखी हुनुपर्छ भनेर समुदायका सबैलाई लघुवित्त सेवा दिनैपर्छ भन्न खोजिएको किमार्थ होइन, यहाँ के मात्र भन्न खोजिएको हो भने ‘लघुवित्त वित्तीय संस्थाहरूले विपन्नको शोषण गर्छन्’ भन्ने गलत धारणा हटाउनु आवश्यक छ । यसका लागि समुदायलाई लघुवित्तको महत्व तथा कार्य प्रणालीका विविध आयामबारे जानकारी दिनुपर्छ, सचेतना फैलाउनुपर्छ । लघुवित्तकर्मीको व्यवहारले गर्दा लघुवित्त कार्यक्रमप्रति समुदायमा गलत सन्देश जाने अवस्था आउन नदिन सचेत हुनुपर्छ । जिम्मेवार भएर लघुवित्त सेवा प्रवाह गर्नुपर्छ र लघुवित्तका सकारात्मक प्रभावहरूबारे समुदायलाई समय समयमा सुसुचित गरिनुपर्छ । लघुवित्त कार्यक्रमले ल्याएका सकारात्मक परिवर्तनहरू ‘समूहमा आबद्ध सदस्य’ ले मात्र नभएर पूरै समुदायले देख्न र महसुस गर्न सक्ने वातावरण बनाउन सकियो भने एक–अर्काप्रति विश्वास र सम्मानको भावनामा वृद्धि हुन्छ, जसले गर्दा कुनै समुदायमा लघुवित्त कार्यक्रम सञ्चालन गर्न सहज हुने मात्र नभई लघुवित्त कार्यक्रमलाई थप प्रभावकारी बनाउन समुदायको आवश्यक सुझाव तथा सहयोगसमेत प्राप्त हुन्छ ।
अन्त्यमा, हालसम्म एक ‘आर्थिक अभियान’ का रूपमा रहेको लघुवित्त कार्यक्रमलाई आगामि दिनमा ‘आर्थिकसँगै सामुदायिक’ अभियानका रूपमा पनि बढाउनु आवश्यक छ । आर्थिक अभियानका रूपमा लघुवित्तले ‘लघुकर्जाको माध्यमले स्वरोजगार÷आत्मनिर्भर बन्ने’ कुरामा मात्र बढी जोड दियो तर समुदायसँग सौहार्दपूर्ण सामञ्जस्यता कायम गर्न सकेन । आगामी दिनमा एक सामुदायिक अभियानका रूपमा लघुवित्तले समाज र समुदायका अन्य विविध आयामलाई समेत समेटेर अघि बढ्नु आवश्यक छ । हालसम्म अर्थशास्त्रीय दृष्टिकोणले ‘आर्थिक वृद्धि’ को अवधारणामा क्रियाशील लघुवित्त क्षेत्र आगामी दिनमा क्रमशः ‘आर्थिक विकास’ को अवधारणामा रूपान्तरित हुन सकेमा यसको महत्व तथा उपयोगिता सर्वस्वीकार्य हुनेछ ।
(आरएसडीसी लघुवित्त वित्तीय संस्थामा कार्यरत लेखकका यी विचार निजी हुन् ।)