कारोबार संवाददाता
आइतवार, बैशाख १६, २०७५
2808

युवा राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक परिवर्तन र रूपान्तरणका अग्रदूत तथा परिवर्तनका संवाहक वर्तमानका साझेदार शक्ति हुन् । नेपालको कुल जनसंख्याको ठूलो हिस्सा ओगटेका युवामा सिक्ने क्षमता, साहस, सिर्जनशीलता एवं आत्मविश्वास प्रचुर मात्रामा रहेको कुरालाई नकार्न सकिँदैन । तर, युवाहरूलाई परिचालन गर्ने राज्यको स्पष्ट कार्यनीति र कार्यक्रमको अभावमा युवा वैदेशिक रोजगारीका लागि खाडीलगायतका तेस्रो मुलुक जान विवश छन् । देशको हरेक महŒवपूर्ण परिवर्तनमा आधारशिलाको भूमिका निर्वाह गरेका युवाहरूको सर्वाङ्गीण विकासमा राज्य जिम्मेवार हुन सकेको छैन । राष्ट्रिय जनगणना–२०६८ अनुसार १६–४० वर्षसम्मका कुल युवा जनसंख्या १ करोड ६ लाख ८९ हजार ८ सय ४२ अर्थात् ४०.३ प्रतिशत छ । युवाहरूको सवाल सम्बोधन गर्न राष्ट्रिय युवा नीति ११ फागुन २०६६ मा नेपाल सरकारद्वारा जारी गरी २०७२ मा पहिलो संशोधनसमेत भएको छ । त्यसैगरी युवा नीति कार्यान्वयनका सन्दर्भमा मन्त्रालयले युथ भिजन–२०२५ सहित १० वर्ष रणनीतिक योजनासमेत निर्माण गरेको छ । सरसर्ती हेर्दा हामीमाझ युवा नीति, योजना र कार्यक्रम सबै छ । केन्द्रीय स्तरमा युवा तथा खेलकुद मन्त्रालय तथा राष्ट्रिय युवा परिषद्समेत छ, तर राज्यले युवाका मुख्य सवाल सम्बोधन गर्नसकिरहेको छैन । सीमित स्रोतसाधनको परिचालन, युवालाई राज्यले प्राथमिकतामा नराख्नु जस्ता कारणले नेपाली युवा जमात विश्वव्यापी प्रतिस्पर्धामा कमजोर छ ।
नेपाली युवा अवसर र कामको खोजीमा ४० देखि ५० लाख बिदेसिएका छन् । आईएलओको तथ्याङ्कअनुसार नेपालमा युवा बेरोजगारी दर १९.२ प्रतिशत छ । करिब २७ प्रतिशत युवा एक वर्षभन्दा पनि लामो समय जागिरको खोजीमा रहन्छन् भने करिब ४० प्रतिशत नेपाली युवा वैदेशिक कामदार बनेका छन् । नेपाली युवा जनशक्ति अहिले विभिन्न मुलुकमा कठोर श्रम गर्न विवश छन् । रेमिट्यान्सले मुलुकको अर्थतन्त्र धानेको छ । नेपाल अहिले जनसंख्याको लाभांशको अवस्थामा पुगेको छ । बोनस युवा शक्तिलाई रचनात्मक रूपमा राष्ट्र निर्माण एवं देश विकासमा लगाउन सकियो भने देशले विकास र समृद्धिमा ठूलो फड्को मार्ने निश्चित छ ।

नेपाली युवाका साझा सवाल— गुणस्तरीय, समयसापेक्ष र रोजगारमूलक शिक्षाको अभाव; व्यावसायिक सीप र प्रविधिको पहुँचबाट टाढा हुनु; बेरोजगारी, अर्धबेरोगारी, अति गरिबी र स्वरोजगार बन्न व्यवसाय ऋणको कठिनाइ; कमजोर स्वास्थ्य, पोषण र कमजोर मनोबल; युवा लगानीमैत्री तथा उद्योमशील वातावरणको अभाव र युवा पलायन; लंैगिक, क्षेत्रीय, जातिगत विभेदीकरण र बहिष्करणका साथै विश्वव्यापीकरण तथा उदारीकरणको प्रभावले ल्याएका चुनौतीहरू युवाका प्रमुख चुनौती हुन् ।
युवा नीति कार्यान्वयनका लागि युवा तथा खेलकुद मन्त्रालय तथा राष्ट्रिय युवा परिषद्को आर्थिक स्रोत, भौतिक पूर्वाधार र सक्षम नेतृत्व पनि उत्तिकै महŒवपूर्ण पक्ष हो । हालसम्मको परिवेश हेर्दा मन्त्रालय र परिषद् उल्लिखित तीनवटै पक्षमा सबल भएको देखिँदैन । यसका लागि सिर्जनशील नेतृत्व तथा यसको भौतिक पूर्वाधार र सांगठनिक संरचना निर्माण गरिनु आवश्यक छ, जसले गर्दा युवा नीति तथा कार्यक्रम केन्द्रका मात्र होइन, जिल्ला र गाउँसम्मका युवाको पहुँचमा पुग्न सक्छ । त्रिवर्षीय अन्तरिम योजना र युवा नीतिको मर्मअनुरूप नेपाल सरकारका स्थानीय निकायले पनि युवा नीति र युथ भिजन–२०२५ ले परिकल्पना गरेअनुरूपका कार्यक्रमलाई बजेट विनियोजन गरी राष्ट्रिय तथा स्थानीय तहमा कार्यरत युवा संघसंस्थालाई परिचालन गर्नुपर्छ । साथै युवाको क्षेत्रमा काम गर्ने सरकारी निकायको केन्द्रमा अन्तरमन्त्रालय समिति र जिल्लामा युवा सम्पर्क केन्द्रका रूपमा विकास गर्न जरुरी छ, जसले गर्दा युवासँग सम्बन्धत कार्यक्रमको दोहोरोपनाको अन्त्य हुनुका साथै युवा लक्षित कार्यक्रमले मूर्तरूप हासिल गर्न टेवा पुग्छ ।
युवा नीति तथा युथ भिजन–२०२५ ले मार्ग निर्देश गरेका युवाका मुद्दाहरूमा सामूहिक आवाज बुलन्द गर्नु र राज्यलाई रचनात्मक दबाब सिर्जना गर्नु अहिलेको आवश्यककता हो । युवा परिषद्लाई समावेशी बनाउँदै युवा लक्षित कार्यक्रम स्थानीय तहसम्म पु¥याउन सामूहिक प्रतिबद्धताको खाँचो छ । दिगो विकास लक्ष्य प्राप्तिका लागि युवा संघसंस्थाहरू एकीकृत हुनु जरुरी छ । सन् २०३० सम्म दिगो विकास लक्ष्य हासिल गर्न पनि युवाहरूको सामूहिक प्रतिबद्धता, एकता, सहकार्य र योगदानबाट मात्र सम्भव छ । सरकारलाई युवा रोजगारी सिर्जना गर्न दबाब दिँदै युवाहरूलाई स्वरोजगार तथा उद्यमशीलतातर्फ अभिप्ररित गर्नु जरुरी छ । वैदेशिक रोजगारीलाई व्यवस्थित गर्दै युवा स्वरोजगार बैंकको स्थापना गर्नु अहिलेको आवश्यकता हो । राज्यलाई बलियो बनाउँदै लैजान र देशको समृद्धिको नेतृत्व गर्न अब युवाहरू एकजुट हुनु जरुरी छ । आज विश्वका हरेक समृद्ध मुलुक निर्माणको चरणलाई अध्ययन गर्ने हो भने पनि युवाहरूको नेतृत्व र परिचालनबाट मात्र सम्भव भएको तथ्य जगजाहेर छ । हरेक परिवर्तनको नेतृत्वदायी भूमिका निर्वाह गर्ने युवाहरू अब देशको राजनीति र समृद्धिको नेतृत्व लिन पनि तयार हुनुपर्छ । युवाबिना देश विकास सम्भव छैन । मुलुक अहिले राजनीतिक स्थायित्वमार्फत दिगो विकासको गतिमा अघि बढ्ने दिशामा छ । जनसांख्यिकी हिसाबले युवा बढी भएको सन्दर्भमा युवाहरूलाई उत्पादनशील काम र नवनिर्माणमा संंलग्न गराउन सके छोटो समयमा ठूलो उपलब्धि हासिल गर्न सकिन्छ ।
युवा नीति तथा कार्यक्रमलाई अवसरका रूपमा लिँदै सबै युवाले अब नीतिको जगमा रहेर आफ्ना हकअधिकार स्थापित गर्न अग्रसर हुनुपर्छ । राजनीतिक दलहरूमा यसको सकारात्मक प्रभावका लागि युवाहरूले सशक्त दबाब दिनु अपरिहार्य छ । नेपालको सन्दर्भमा नीति नियमहरू प्रशस्त र गुणस्तरका बन्ने गरेका छन् । तर, कार्यान्वयन पक्ष कमजोर छ । युवा नीति कार्यान्वयनका सन्दर्भमा सबै प्रकृतिका युवाहरूबीच साझा बुझाइ विकास हुनु जरुरी छ । नीतिको लक्ष्य हासिल गर्न विभिन्न राजनीतिक आस्था, भिन्न काम गर्ने शैली जो जहाँ भए पनि सबै युवाले युवा नीति तथा युथ भिजनलाई कार्यान्वयनका लागि सशक्त आवाज उठाउनुका साथै साझेदारी विकास गर्नु आवश्यक छ ।
देशको कुल जनसंख्याको मुख्य हिस्सा ओगटेको युवा वर्गको समुचित विकास, परिचालन र सहभगितामा नै मुलुकको आर्थिक सामाजिक समुन्नति निर्भर रहन्छ । सीप, पुँजी र प्रविधिका साथै युवाशक्तिलाई समयको गतिसँगै परिचालन गर्न सके देश विकासले गति लिन सक्छ । मुलुकमा लगानीमैत्री वातावरण नहुनाले रोजगारीका अवसर न्यून हुँदै गएका छन् । शिक्षित युवा बेरोजगारी बढ्नु, मुलुकमा पर्याप्त रोजगारीका अवसर सिर्जना हुन नसक्नु, सीप विकास र स्वरोजगारीबीच सामञ्जस्य नहुनु र देश विकासमा आवश्यक पर्ने श्रमशक्ति बाहिरिनु टड्कारो समस्याका रूपमा रहेका छन् ।
नेपालमा युवाका सवालमा वकालत हुन थालेको लामो इतिहास छैन । विगत केही वर्ष अघिसम्म पनि युवाको हुन् भन्ने बुझाइमा सरकार वा सम्बन्धित निकाय अस्पष्ट रहेको देखिन्छ । तथापि पछिल्लो समयमा सरकारका योजनामा पनि युवाका सवालहरू समेटिन थालेका छन् । यी प्रयासले मात्र यो देशका युवाका विकराल समस्या समाधान हुन सम्भव देखिँदैन । स्वयम् युवाहरू पनि र्सिजनशील, कर्तव्यनिष्ठ भई युवा अधिकारहरूको उपभोग गरी स्थानीय निकायदेखि केन्द्रसम्म आफ्नो प्रतिनिधित्व र पहिचानसँगै पहुँच बढाउन अग्रसर हुनु अपरिहार्य छ । अतः युवा नीतिले दिएको अधिकार उपभोग गर्दै आफ्ना अधिकारहरू स्थापित गरी आफू र आफ्नो समाजलाई उन्नतिको बाटोतिर लैजान शिक्षा, स्वास्थ्य र रोजगारीमा सबै युवाको पहुँच बढाउनुपर्छ । त्यसका लागि राज्यले आगामी केही वर्षमा युवामैत्री लगानीको वातावरण र्सिजना गर्नुपर्छ । देशका युवालाई सबै प्रकारले सक्षम बनाउने दिशातर्फ सरकारको ध्यान केन्दित हुन आवश्यक छ । युवालाई सबल बनाई देश विकासमा लगाउन सके मात्र यो देशको मुहार फेरिन सक्छ । युवालाई उठाउन सके मात्र समाज उठ्छ, युवालाई जगाउन सके मात्र समाज परिवर्तन र देश समृद्ध हुन्छ ।
(लेखक राष्ट्रिय युवा गैरसरकारी संस्था महासंघ नेपालका केन्द्रीय अध्यक्ष हुन् ।)
-कमल सुवेदी