प्रा. डा. हरि शर्मा
बिहिवार, बैशाख १३, २०७५
1506

यही वैशाख ४ गते सिंहदरबारस्थित पर्यटन, संस्कृति तथा नागरिक उड्यन मन्त्रालयको सभाकक्षमा नेपाल पर्यटन पूर्वाधार विकास परिषद् काठमाडौँ) ले नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा पर्यटन मन्त्री रवीन्द्र अधिकारीको समुपस्थितिसहित पर्यटन नीति एवम् पूर्वाधार विकास विषयक एउटा बृहत् अन्तत्र्रिmया कार्यक्रमको आयोजना गर्यो । कार्यक्रममा काठमाडौँलगायत अन्य केही जिल्लाका प्रबुद्ध व्यक्तित्वहरूको सक्रिय सहभागिताले गर्दा चर्चामा आएका विभिन्न विषयले बढी सान्दर्भिकता ओगट्न सकेको सबैले अनुभव गरे । हुन त अहिले प्रदेश सरकारहरूले उपरोक्त विषयमा आ–आफ्ना प्रस्ट नीति तथा मार्गनिर्देश तयार पारिरहेका बखत केन्द्रमा हामी ५०–६० जनाले ती विषयहरूमा गहन छलफल गर्दा त्यसबाट उब्जेका तरङ्गहरूले कहाँ र कुन हदसम्म आफ्नो प्रभाव फैलाउन सफल हुनेछन्, निश्चित रूपमा त्यसको सीमारेखा कोर्न गाह्रै होला ।
कार्यक्रम बिहान ८ बजे सुरु हुने भनिएकाले प्रमुख अतिथि मन्त्रीबाहेक सभाकक्षमा अन्य सबै आमन्त्रितहरूको जमघट भइसकेको थियो । प्रमुख अतिथिको अनुपस्थितिमा कार्यक्रमको उद्घाटन कसले गरिदिने ?

चियापान र चिनारीको काम साथै उपस्थित व्यक्तित्वहरूले आफूलाई लागेका थोरै सकारात्मक र बढी नकारात्मक अभिव्यक्तिहरू राख्नुभयो, त्यो सुन्नुबाहेक अन्य उपाय केही थिएन । भगवान् गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बिनीको अन्तर्राष्ट्रियकरण र पर्यटनका दृष्टिकोणले त्यसको बजारीकरणका उदाहरणीय प्रयासहरू, काठमाडौँ ल्हासा–थिम्पु तथा काठामाडाँै ल्हासा–गिरगिट पाकिस्तानको नयाँ हवाई मार्ग सुरु गरिनुपर्ने सुझाव, १५ लाख वा ५० लाखका के कुरा, हामी कस्सियौं भने नेपालमा बर्सेनि १ करोडभन्दा बढी पर्यटक भित्र्याउन सकिने सम्भावनाका झलक, पर्यटन नीतिले जे–जस्तो रूप लिए पनि दूरदर्शिता, उपयुक्त रणनीतिक योजना र सही व्यवस्थापन हुन सकेन भने हाम्रा इन्द्रधनुषी छलफलहरू निरर्थक हुने, यस वर्षको विश्व सम्पदा दिवस कसरी मनाउने, मुलुकमा रहेका ८ हजार मिटरभन्दा अग्ला हाम्रा १४ वटा चुचुराको अत्यधिक प्रचार–प्रसारको आवश्यकता, नेपाल भ्रमणमा आउने कुल विदेशी पर्यटक संख्यामा झन्डै ३८ प्रतिशत साहसिक पर्यटनका लागि मात्र आउने तथ्यको खुलासाजस्ता महत्वपुर्ण उद्गारहरूले गोष्ठीको औचित्यलाई बल पुर्याइरहेको भान हुन्थ्यो । नेपाल वायुसेवा निगमका विषयमा बोल्दै एक जना वरिष्ठ प्रस्तोताले त निगमलाई कुलमान घिसिङ चाहिएको छ भन्न भ्याउनुभयो । प्रारम्भमा देखिएको यो अन्तत्र्रिmयात्मक छलफल ‘कामकुरो एकातिर कुम्लो बोकी ठिमीतिर’ जस्तो भएको आमसहभागीहरूको ठहर थियो । वर्तमान अवस्थामा नेपाल आउने पर्यटकको संख्या पुग–नपुग १० लाख छ भने पर्यटकको नेपाल बसाइ अवधि १३.४ दिन रहेको छ । उनीहरूको दैनिक औसत खर्च ५३ अमेरिकी डलर छ । पर्यटनले गार्हस्थ्य कुल उत्पादनमा ३ प्रतिशत योगदान पुर्याएको देखिन्छ । नेपाल आउने सर्वाधिक पर्यटक क्रमशः चीन, भारत र श्रीलंकाबाट आउने गरेको पछिल्लो तथ्यांक छ । नेपाल आउने पर्यटकको संख्या अपेक्षाकृत ढंगले नबढ्नुका कारणहरूमध्ये यथेष्ट अन्तर्राष्ट्रिय हवाई सेवाको अभाव, सडक यातायातको अवस्था निम्न स्तरको रहेको, बसोबासका पूर्वाधारको कमी, पर्यटन सूचना र द्वैभाषिक सेवाको कमी, पर्वतीय क्षेत्रमा निर्माण भइरहेका सडकका कारण पदयात्राका बाटा (गोरेटो र घोरेटो) हरू मासिँदै गइरहेको अवस्थामा नयाँ पूर्वाधारले मुलुकको मौलिक तथा परम्परागत शैलीलाई क्षति पुर्याएको तथा हाइड्रो ड्यामहरूका कारण -याफ्टिङ (जलविहार) र माछा मार्ने पर्यटनलाई निरुत्साहित तुल्याएको भन्ने निष्कर्ष एउटा कार्यपत्रमा देखाइएको थियो । पर्यटन उत्पादन विकासतर्फ भने सफारी, बुद्धमार्गीहरूको तीर्थाटन तथा साहसिक पर्यटनमै केन्द्रित रहन गोष्ठीले सुझाएको छ । पर्वतारोहणका लागि नेपालमा अहिले १ हजार ७ सय ९२ वटा चुचुरा उपयुक्त रहेको ठहर गर्दै नेपाल–भारतको सिमानामा २७ वटा र नेपाल–चीनको सिमानामा ३ सय ४० वटा पर्वत रहेको एउटा अर्काे कार्यपत्रले स्पष्ट पारेको थियो । सगरमाथा आरोहणबाट मात्रै मुलुकले १ करोड ३८ लाख अमेरिकी डलर राजस्व पाउँछ भने सन् २०१७ मा पर्वतारोहणबाट मात्रै २ करोड ९६ लाख ८० हजार अमेरिकी डलर राजस्व संकलन गरेको भन्दै प्रस्तोताले सन् १९५३ देखि हालसम्म ४ हजार ९ सय ८८ आरोहीले नेपालतर्फका विभिन्न चुचुराहरूको सफल आरोहण गरेको तथ्यांक बैठकमा प्रस्तुत गर्नुभएको थियो । पाल्पाको ऐतिहासिक रानीमहलको अवस्था र मुलुकमा अन्यत्र रहेका संग्रहालयहरूको जीर्ण अवस्थालाई दृष्टिगत गर्दै एक–अर्का प्रस्तोताले नेपाल पर्यटन बोर्डको आम्दानीको ४० प्रतिशत यस्ता पूर्वाधारको पुनर्निर्माण र संरक्षण–संवद्र्धनमा खर्चिनुपर्ने सुझाव राख्नुभएको थियो । करिब साढे ३ लाख जनसंख्या भएको मित्रराष्ट्र माल्दिभ्समा बर्सेनि १३ लाख पर्यटक जाने गर्छन् । त्यस्तो चाहिने आवश्यक पूर्वाधार माल्दिभ्ससँग रहेको उहाँले चर्चा गर्नुहुँदा केही पर्यटनविद् अवाक् हुनुभएको दृश्य रोचक देखिएको थियो ।
संस्कृति र पर्यटनलाई इंगित गर्दै प्रस्तुत गरिएको कार्यपत्रले भने प्रकृति स्थिर हो भने संस्कृति मुलुकको अस्थिर सम्पदा हो भन्ने सन्देश प्रवाहित गर्न खोजिएजस्तो आभास भयो श्रोतागणलाई । सांस्कृतिक सम्पदाहरूलाई आय आर्जनको स्रोत बनाउनु जरुरी छ । सातै प्रदेशमा जीवन्त सांस्कृतिक संग्रहालयहरूको निर्माण गरी विभिन्न जातजातिका अलिखित र मौखिक रूपमा रहेका इतिहासलाई हराउन दिन नहुने सुझाव पनि आएको थियो । कार्यक्रमका प्रमुख अतिथिको फर्कने समय भइसकेकाले उहाँले आफ्नो भनाइ छोट्ट्याएर गोष्ठी आयोजकसँग लिखित सुझावहरूको अपेक्षा राख्दै जानुभएपछि सहभागीहरूबीच पुनः केही अन्तत्र्रिmयात्मक छलफल भयो । एक जना विदुषीले शैक्षिक पाठ्यक्रमहरूमा अनिवार्य रूपले पर्यटन विषयलाई समावेश गरिनुपर्ने तर्कसंगत सुझाव प्रस्तुत गर्नुभयो । नेपाल भ्रमण वर्ष (२) २०२० लाई अत्यन्तै भव्यताका साथ सम्पन्न पार्दै नेपाललाई विश्वसामु एउटा अद्वितीय गन्तव्यका रूपमा स्थापित गर्न र नेपालको पर्यटन विकासलाई एउटा दिगो चरित्र प्रदान गर्न अहिले नेपाली जनजीवनमा एउटा अभूतपूर्व जाँगर पलाएको छ । आफ्नो घरआँगन सफा र उज्ज्वल राख्नुदेखि लिएर परम्परागत रूपमा चलिआएका आफ्ना वेशभूषा, रीतिरिवाज, गरगहना, कला–संस्कृति, गीत–संगीत र बाजागाजा सबैमा पर्यटकीय आकर्षणको लेप चम्काउन प्रत्येक जातजातिका मानिसहरू लागिपरेका छन् । प्रदेश–प्रदेशमा भ्रमण वर्षका योजनाहरू बनिरहेका छन् । प्रदेश–६ को मुगुमा नववर्ष २०७५ को शुभ–अवसर पारेर प्रधानमन्त्री के.पी. शर्मा ओलीले रारा किनाराबाट ‘रारा–कर्णाली भ्रमण वर्ष–२०७५’ को उद्घाटन गर्नुभयो । ‘अबको गन्तव्य पाथीभरा’ नारासहित काठमाडौँबाट हिँडेको पदयात्रीको समूह नयाँ वर्षकै दिन ३ हजार ७ सय ९४ मिटर उचाइमा अवस्थित पाथीभरा पुग्यो । नेपाल पर्यटन वर्ष २०११ बाट लुम्बिनी क्षेत्रमा सुरु भएको ठूला र अत्याधुनिक सुविधा सम्पन्न होटल खोल्ने क्रमले अझै पनि तीव्रता पाइरहेको छ । अन्तर्राष्ट्रिय हवाई कम्पनीहरू नेपाल आउन लालायित छन् । आगामी केही दिनभित्रै थाइल्यान्डबाट लायन एयरले काठमाडौँ उडान भर्दै छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले आफ्नो भौतिक स्वरूप बदलिन खोजिरहेको छ । गत वर्ष रोयल्टी तिरेर सगरमाथा आरोहण गर्न जाने ३६६ आरोहीका तुलनामा यस वर्ष २ सय ७५ जना विदेशी आरोहीको सम्पूर्ण स्वास्थ्य एवं सुरक्षाका लागि सरकारले केही उपयुक्त कदमहरू चालेकाले यस वर्षको आरोहणमा त्यति बाधाविघ्न आइ नपर्ने विज्ञहरूको अड्कल छ । नेपाल र भारतलाई जलमार्गद्वारा जोड्ने विषयलाई लिएर दुवै देशका उच्चस्तरीय सरकारी अधिकारीहरूको बैठकको प्रारम्भिक तयारी भइसकेको छ । उता चीनले नेपालको विकास र उत्थानका लागि भारतसँगसँगै सहकार्य गर्ने प्रतिबद्धता जाहेर गरिसकेको वर्तमान परिपे्रक्ष्यमा नेपालको पर्यटनले एउटा सकारात्मक र विशाल ऊर्जा पाएको मान्नैपर्छ ।
समग्रमा, गोष्ठी उत्साहप्रद रहे पनि गोष्ठीले पर्यटन नीति तथा पूर्वाधार विकासका सम्बन्धमा कुनै ठोस र अर्थपूर्ण निष्कर्षमा पुग्न सफल रह्यो त भन्ने प्रश्नको भारी बोकेर सहभागीहरू दिवाभोजपछि फर्किएका थिए ।