कारोबार संवाददाता
बुधवार, बैशाख १२, २०७५
1696

नेपालको सबैभन्दा पहिलो टाउन प्लानिङ राजविराज नगरपालिका र सो क्षेत्रमा पर्ने तरकारी हटियाको मुहार फेरिन लागेको छ ।
६ दशकअघि वि.सं. २०१६ मा स्थापना भएको राजविराज नगरपालिका र सो क्षेत्रमा अवस्थित हटियामा राजविराज नगरपालिकाले नयाँ भवन निर्माण गरी व्यवस्थित ढंगले हाटबजार लगाउने योजनाका साथ सोमबारदेखि पुनर्निर्माणको कार्य थालेको हो ।

यसैबीच हटिया क्षेत्रमा लाग्ने तरकारी बजार क्षेत्रलाई सोमबार नगरपालिकाले खालि गराएको छ । सो स्थानमा लाग्ने तरकारी बजार हटियाको पश्चिमतर्फ पुरानो माछा हाट र त्यस वरिपरिको क्षेत्रमा लाग्नेछ । तरकारी बजार लाग्ने नयाँ स्थानमा व्यापारीहरूले अस्थायी टहरा निर्माण गर्न लागिपरेका छन् । यसअघि सो स्थानमा लाग्ने माछा हाटलाई राजविराज नगरपालिकाले वडा नं. ४ स्थित नगरपालिकाकै स्वामित्यमा रहेको खाली स्थानमा सेड बनाएर व्यवस्थित गरेको छ ।
हाल यस हटियामा मानव जातिको जन्मदेखि मरणसम्मका लागि चाहिने सम्पूर्ण सामग्रीका साथै खाद्यान्न, ताजा तरकारी, फेन्सी सामग्री, औषधि, सियो, धागोदेखि नुनतेलसम्म पाइन्छ । यतिका सामग्री एकै स्थानमा पाइने राजविराज हटिया मुलुककै पहिलो हटिया हो ।
भारतको गुलाबी सहरको नामले प्रख्यात जयपुर सहरको नक्सामा आधारित राजविराज सहरको टाउन प्लानिङ वि.सं. २०१६ मा गरिएको हो ।
यसअघि राजविराज नगरपालिकाले वडा नं. ७ मा रहेको हटिया बजार व्यवस्थित गर्न १५ दिने सूचना जारी गरी म्याद सकिएको झन्डै तीन महिनामा बल्ल काम सुरु गरेको हो ।
नगरपालिकाले सोमबारदेखि हटियाको जग्गा अतिक्रमण गरी जथाभावी ढंगले निर्माण गरिएका झोपडी, टहरा, पसललगायतका संरचना हटाउन सुरु गरेपछि व्यापारीहरूले  आफैं सो स्थान खाली गर्न थालेका छन् ।
राजविराज नगरपालिकाले हटिया व्यवस्थित गर्ने योजनासहित गत माघ २० गते एक सूचना जारी गरी १५ दिनभित्र जथाभावी ढंगले पसल सञ्चालन गर्दै आएका व्यापारीलाई जग्गा खाली गर्न अनुरोध गरेको थियो, तर स्थानीय व्यापारीले नगरपालिकाको सूचना आफूहरूलाई उठिबास गर्ने किसिमको भएको भन्दै दिनहुँ विरोध प्रदर्शन गर्नेदेखि लिएर प्रधानमन्त्री सम्मलाई ज्ञापन पत्र बुझाइ खाली गर्न आलटाल गर्दै आएका थिए ।
नगरपालिकाले हटियालाई व्यवस्थित गर्ने क्रममा बन्ने नयाँ संरचनामा हटियाका पुराना व्यापारीलाई प्राथमिकता दिने र तत्काल अन्यन्त्र स्थानमा पसल सञ्चालन गर्ने व्यवस्था मिलाइदिएपछि हटियाका व्यवसायीले आफैं जग्गा खाली गर्न थालेका छन् ।
हटियाको १ बिघा ११ कट्ठा जग्गामा सघन सहरी विकास कार्यक्रमअन्तर्गत राजविराज नगरपालिकाले पाएको कुल ३५ करोड रुपैयाँअन्तर्गत १९ करोडको लागतमा त्यसलाई व्यवस्थित गर्न लागिएको राजविराजका प्रमुख शम्भुप्रसाद यादवले बताए ।
यता कुल ३ सय ८ वटा कोठा रहने गरी २ तले भवन निर्माण कार्य ३ वर्षभित्र तयार गरिसक्ने नगरपालिकाको योजना छ, जसअनुसार भवन निर्माण डिभिजन कार्यालय मार्फत रसुवा रोसन जे.भी. निर्माण कम्पनीसँग सम्झौता पनि भइसकेको भवन निर्माण डिभिजन कार्यालयका प्रमुख रमेश थिङले बताए ।
एम के यादव