कारोबार संवाददाता
सोमवार, बैशाख १०, २०७५
1063

विश्व सामाजिक सञ्जालमा नेपालीहरूको सक्रियता यति बाक्लो छ कि लाग्छ नेपाली जत्तिको फुर्सदिला अन्य मुलुकका जनता छँदै छैनन् । नेपाली–नेपालीबीचको सञ्जालभित्र रहेकाले पनि त्यस्तो लागेको हुन सक्छ । सञ्जालमा भेटिएका पोस्ट समाचारहरूमा मिनेटभित्रै ओइरिने क्रिया–प्रतिक्रियाले पनि हामी कति फुर्सदिला छौं भन्ने देखाउछ ।
यस्तै सन्दर्भमा एउटा भाइले मैले लेखेको कम्युनिस्ट एकतासम्बन्धी स्टाटसमा नेपालबाट कमेन्ट गरे, “अरूको चासो नलिनुस्, अरबेको काम गर्नुस् अनि नेपाली राजनीतिमा अभिरुचि भए यहीं आएर बहस गर्नुस्, विदेश पलायन भएका हजुरहरूजस्ता अधिकांश कामदार आफ्नो हकहितका लागि लड्नुस् ।”

मैले ती भाइको विवेक र ज्ञानले जे–जति जानें–बुझें त्यति लेखें भनेर प्रतिक्रियामाथि प्रतिक्रिया थप्न औचित्य ठानिनँ । धेरै साथीले उनको कमेन्ट लक्षित गरी जवाफ दिएपछि भाइले सुटुक्क कमेन्ट हटाएछन् । भाइले सञ्जालबाट हटाए पनि मेरो मनमस्तिष्कबाट हट्न सकेन । त्यही कमेन्टमध्ये मेरा मित्र ती भाइले भनेझैं अरबेकै देश युएईमा आफ्नो कामसँगै पत्रकारिता क्षेत्रमा पनि सक्रिय छन् । उनले ‘अरबेलाई राजनीति बहस गर्ने अधिकार हुन्न र ? यिनै अरबेले धानेको देशमा बसेर अरबेलाई गाली गर्नुले आफ्नै हैसियत जनाएको छ महोदय’ भनेर लेखेछन्, भाइले आफ्नो कमेन्ट नै हटाएर टन्टै साफ गरेछन् ।
यस्ता खाले प्रतिक्रिया, अझ भनौं हरेक कुराको सकारात्मक-नकारात्मक टीका–टिप्पणी गर्न हामी नेपालीहरूको दैनिकीजस्तै बनेको छ, तर बेलाबखत ती भाइले जस्तै विदेशमा खास गरेर अरब देशमा बसेर नेपाल र नेपाली राजनीतिका बारेमा चिन्ता किन लिन्छौ, चिन्ता लिने नै भए नेपालमै आऊ भनेर सुझाव मजाक वा धम्की शैलीमा समेत दिने गर्छन् । कतिले त अरबमा गरिने कामलाई समेत जोडेर अपमान गर्छन्, लाग्छ नेपाल र नेपाली राजनीति उनीहरूकै मात्र सरोकारको विषय हो । चाहे उनीहरू नेपालमा काम नगरी हल्लेर हिँडेका नै किन नहुन् ।
खाडी मुलुकलगायत अन्य देशहरूमा ४० लाखभन्दा बढी युवा किन गए ? जानुपर्ने रहर बाध्यता वा अन्य केही कारण छन् भन्ने कुरा बुझ्नु जरुरी छ । आफ्नो परिवार, समाज र देशदेखि टाढा रहेर श्रम गर्नु कुनै पनि देशका नागरिकको रहर हुन्छ जस्तो लाग्दैन । नेपालमै बसेर विश्व घुम्नका लागि जान पाए किन श्रम खर्चिन जान्थे ? बिदेसिनुका धेरै कारण भए पनि सबैभन्दा प्रमुख यथार्थ भनेकै बेरोजगारी हो । त्यसो भन्दै गर्दा नेपालमै पनि धेरैले गरेका छन्, गर्नेलाई नेपालमै छ भन्ने जवाफ आउन सक्छ, जुन जायज पनि हो । तर, त्यसको पछाडिको यथार्थता पनि बुझ्नु जरुरी छ । विदेश गएका लाखौं युवाकै श्रम, पसिना र त्यागले नेपालमा व्यवसाय गरी केही गर्न सक्ने भएका हुन् भन्न कुनै अप्ठेरो छैन । साधारण भाषामा भन्नुपर्दा विदेशबाट पठाएको रेमिट्यान्स खर्चिदिएर नेपालका व्यवसायहरू चलेका हुन् । नेपालमै बसेर जग्गा, सवारी साधन, लत्ताकपडा, खाद्यान्न सामग्रीलगायत होटल–रेस्टुराँ, कलकारखाना, उद्योगधन्दा, हस्पिटल, बोर्डिङ स्कुल, बैंक तथा म्यानपावरहरूको व्यवसाय तीव्र रूपमा फस्टाउनु त्यही अरबे कामदारहरूले पठाएका रेमिट्यान्सले नै हो ।
विदेशमा रहेका नेपाली नेपाल नै फर्किए वार्षिक रूपमा करिब ६ अर्बमाथिको रेमिट्यान्स वैधानिक बाटो भएर भित्रिन पनि बन्द हुन्छ । त्यसपछि नेपालको व्यवसाय कसरी धान्छौ भनेर मुखभरी जवाफ दिऊँ जस्तो नलाग्ने हैन कहिलेकाहीं । नेताहरूले पनि कुनै योजनाबिना अब विदेशमा दुःख गर्नु पर्दैन, सबै युवा नेपालमै फर्काउँछौ भन्दा बडो उदेक लाग्छ । नेता बोल्न पाउँछन् भने ती भाइले लेख्न पनि पक्कै पाउँछन् । अहिलेकै अवस्थामा यदि हामी फर्कने हो भने देशको अर्थतन्त्रको अवस्था के होला ? नेपालमै व्यवसाय गर्नेहरूको जीवनशैली अहिलेको जस्तै रहला ?
नेपालले अझै केही वर्ष आर्थिक रूपमा विदेशमा श्रम गर्नेहरूकै रेमिट्यान्स र दाताहरूको सहयोगमै निर्भर रहनुपर्छ । त्यो बेलासम्म वैदेशिक रोजगारीमा रहेका युवाहरूलाई अपमान होइन, प्रोत्साहन र सम्मान गर्न सक्नुपर्छ । विदेशमा कमाएको पैसाको सदुपयोग र उपलब्धिमूलक क्षेत्रमा लगानी गर्न प्रेरित गराउने वातावरण बनाउनुपर्छ । नेपाल जबसम्म आत्मनिर्भर र समृद्ध हुँदैन त्यो बेलासम्म श्रम, श्रमिक र रोजगारी दिने राष्ट्रहरूलाई उच्च सम्मान दिनुपर्छ । धन्य छन् यी अरबेहरू, जसले लाखौं नेपालीलाई रोजगारीको अवसर दिएर आर्थिक रूपमा सम्पन्न गराउन ठूलो योगदान पु¥याएका छन् । मजस्ता लाखौं युवालाई अरबेको कामदार भन्दा हीनताबोध हुँदैन, किनकि आफ्नो श्रम, पसिना खर्चेर परिवार मात्र नभई ती भाइजस्तै नेपालमै व्यवसाय गर्नेहरूको व्यवसाय चलेका छन् अनि तिनका घरपरिवार पनि । त्यसैले त नेतादेखि जनतासम्म भन्ने गर्छन्— परिआएका बेला आर्थिक, भौतिक र शारीरिक रूपले नेपालका लागि प्रवासीहरूको ठूलो योगदान पनि छ ।
-मोहम्मद अजिज अलि