कुसुम केसी
मंगलबार, असार ३०, २०७७
643

 हाल विश्वव्यापी रूपमा कोरोनाले सबै जनमानसलाई कुनै न कुनै रूपमा प्रभावित बनाएको छ । यसले पनि उही दिगो विकास लक्ष्यको सिद्धान्त ‘लिभ नो वन बिहाइन्ड’ झैं विश्वव्यापी रूपमा कसैलाई पनि छोडेन ।
सन् २०१६ देखि सन् २०३० सम्म लागू हुने गरी नेपाललगायत विश्वका १ सय ९३ राष्ट्रले दिगो विकास लक्ष्यका १७ लक्ष्य, १ सय ६९ उपलक्ष्य र त्यसभित्रका विश्वव्यापी सूचकांकहरूलाई कार्यान्वयन गर्ने लिखित प्रतिबद्धता गरेका छन् । सन् २०३० सम्म गरिबी निवारण गर्ने, असमानता र अन्यायविरुद्ध लड्ने, मौसम परिवर्तनको सामना गर्ने, गुणस्तरीय शिक्षा प्रदान गर्ने जस्ता १७ वटा लक्ष्यहरू समेटिएको दिगो विकास लक्ष्य, २०३० को कार्यसूची विश्वभरका नेताहरूद्वारा सेप्टेम्बर २०१५ मा अवलम्बन गरी स्वीकार गरिएको हो । दिगो विकासका लक्ष्यहरू विश्वव्यापी लक्ष्यका रूपमा चिनिन्छन्, जुन आफैंमा अत्यन्त महत्वकांक्षी लक्ष्यहरू हुन् ।

सुन्दा फेन्सी सुनिने एसडीजी कुनै नौलो विषय नभएर दिगो विकासका लक्ष्यहरू नै हुन् । दिगो विकासका लक्ष्य कुनै नयाँ कुरा नभएर आफूले गरिरहेको, भइरहेको कामलाई दिगो विकासका दृष्टिकोणले हेर्ने एउटा तरिकामात्र हो, जसमा १५ वर्षको विकासोन्मुख यात्रा तय भएको छ । उक्त दिगो विकास लक्ष्यले स्थानीय निकायको समग्र विकास, नयाँ सोच र आयाम, अवसरहरूको सिर्जना र उपलब्ध स्रोतसाधनको उपयुक्त परिचालन गर्न सहयोग गर्ने उद्देश्यले दिगो विकास लक्ष्यको स्थानीयकरण गर्नु झनै आवश्यक छ ।
दिगो विकास लक्ष्य कार्यान्वयनका क्रममा झन्डै पाचौं वर्षमा टेक्न लागेको बेलामा विश्वव्यापी रूपमा कोरोना भाइरसको संक्रमणले भएको मृत्यदर र यसको संक्रमणको जोखिमका कारणले विभिन्न राष्ट्रहरू लकडाउनको स्थितिमा पुगेका छन्, जसले गर्दा शैक्षिक तथा अन्य कार्यालयहरू, यातायात, उद्योग, व्यापार, कलकारखाना आदि बन्द गर्न बाध्य भएका छन् । यो समयमा मानिसको जनजीवन दिन–प्रतिदिन निकै कष्टकर बन्दै गएको छ । बालबालिकाहरूको कुपोषण दर बढ्दो अवस्थामा पुगेको छ । शिशु, सुत्केरी तथा गर्भवती महिलाहरू निकै ठूलो जोखिममा परिरहेका छन् । बालबालिकाहरू घरभित्र गुम्सिएर बस्न बाध्य बनेका छन् । जागिर गुमेर रोजगारीको अभावमा कैयौं मानिस गुज्रिरहेका छन् । दैनिक मजदुरी गरेर जीविकोपार्जन गर्ने श्रमिकहरू भोकभोकै सुत्न बाध्य भएका छन् । रोजगारीका निमित खाडी मुलुक गएका मानिसहरू अलपत्र अवस्थामा छन् । बिरामी मानिसहरू स्वास्थ्य सेवा प्राप्त गर्न तड्पिरहेका छन् । मृतकहरूको लास दाह सस्कार गर्न पनि मानिसहरू त्रासित छन् । आत्मनिर्भर बनेर स्व–देशमै केही गर्न खोज्ने युवाहरू हरेस खाएका छन् । मान्छेदेखि मान्छे डराउनुपर्ने अवस्था निम्त्याएको छ महामारीले आज संसारभर । यिनै दैनिक कार्यलाई कोरोना महामारीले खलबल्याएको छ । अवश्य पनि कोरोनाले दिगो विकास प्राप्तिमा पनि विश्वव्यापी रूपमा चुनौती थपेकै छ ।
कोरोना भाइरस संक्रमणको जोखिमले मानिसहरूको जीवन तहसनहस बनाएको छ । कैयौं परिवार उजाडेको छ । जसले गर्दा राष्ट्रको विभिन्न विकासोन्मुख कार्यका लागि छुट्ट्याइएको रकम कोरोनाले निम्त्याएको संक्रमणकालीन अवस्थाबाट बच्न, चेकजाँच गर्नमा खर्चिनुपरेको अवस्था छ । सोही कारणले गर्दा राष्ट्रको अर्थतन्त्रमा समेत धेरै ठूलो गिरावट आउने कुरामा कुनै आशंका नै हुन सक्दैन । कहिले प्रकोप, कहिले महामारी त कहिले दुर्घटना गरी पटक–पटक मानिसलाई समस्या आइपरिरहने रहेछ । पक्कै पनि संसारभर सन् २०२० मा पनि कोरोनाले दिगो विकास प्राप्तिमा विश्वव्यापी रूपमा नै चुनौती दिएको छ ।
कोरोना कहरले मानव जगत्मा मात्र खलबल नल्याएर सम्पूर्ण जीवजन्तु, प्रकृति, कृषि र वातावरणमा नै असर पु¥याएको छ । यसले हाम्रो सम्पूर्ण विकास र उन्नति–प्रगतिलाई सन् २०१५ को अवस्थाभन्दा पनि केही वर्ष पछाडि धकेलेको छ । सन् २०३० सम्म प्राप्ति गर्नका निमित्त तय गरिएको दिगो विकास लक्ष्यका सूचकांकहरूमा केन्द्रित हुँदा अझै केही समय थप लाग्ने कुरा यथावत् नै छ । कोरोना महामारीबाट छुट्कारा पाउन अझै अवस्था अन्योल नै छ । यही अन्योलमा अल्झिने हो भने अवश्य पनि दिगो विकास प्राप्तिको निमित्त धेरै चुनौती पर्ने सुनिश्चित छ ।