कारोबार संवाददाता
आइतवार, असार २८, २०७७
794

हामीभन्दा कम स्रोतसाधन र विविधता भएको राष्ट्रले पनि आज सबल अर्थतन्त्रका साथ देशलाई विश्व बजारमा खडा गरेको देख्न पाइन्छ ।

नेपालमा भएको आयातका आधारमा नेपालबाट सबैभन्दा धेरै रेमिट्यान्स भारतले लैजान्छ । भारतकै सूचना र रेकर्डअनुसार नेपाल भारतका लागि रेमिट्यान्स दिने देशको सूचीमा आठौं स्थानमा छ ।
त्यत्रो ठूलो देशका लागि नेपालबाट आठौं स्थानको रेमिट्यान्स पठाउने देश कसरी बन्न पुग्यो ? यो आजको बहसको कुरा हो । हामी राजनीतिक मुद्दाहरूलाई अनावश्यक बनाइरहने र त्यसको बदलामा भारतीय सूचना सञ्चार प्रवाह गर्ने माध्यमलाई बन्द गर्ने भनिरहँदा हाम्रो ध्यान कतातिर छ ? एकपल्ट हामीले सोच्नुपर्ने अवस्था आएको छ । कोरोनाको कहरले गर्दा भारतीय मजदुरीलाई रोकेर नेपाल फर्किरहेका बेरोजगार युवालाई कसरी व्यवस्थापन गर्ने भन्नेतर्फ हाम्रो ध्यान जानु जरुरी छ । यसका लागि गृहकार्य गर्नुपर्ने टड्कारो आवश्यकता देखिएपछि हाम्रो देशमा निर्माण क्षेत्रमा ५ लाख दक्ष र अदक्ष मजदुर भारततर्फको कार्य गरिरहेको नेपाल निर्माण व्यवसायीहरू बताउँछन् । हाम्रा नेपालीहरू पनि मध्यपूर्वमा धेरैजसो निर्माण व्यवसायीहरूसँग कार्य गर्नुपर्छ भनेर नेपालको उद्योग–व्यवसाय निर्माण कम्पनीहरूसँग नीतिगत योजनामा जुटेको देखिरहेको छैन ।
निर्माण क्षेत्रमात्र होइन, हाम्रो तराईसँग जोडिएका औद्योगिक प्रतिष्ठानहरूमा पनि भारतीयहरूको बाक्लो उपस्थिति छ । एउटा खास कुरो के हो भने हामीले हाम्रा कामदारलाई विश्वासमा लिन नसक्नु र हाम्रो कामदारले हामीपट्टि विश्वास गर्न नसक्नु भनेको राजनीतिक भागबन्डाका कारणले पनि हो । समय परिवर्तित भइसक्यो, अब हामीले मजदुर र उद्योगमा राजनीति होइन, अनुशासन र अनुगमन नीति लिनु जरुरी छ । यसो गर्न सके होइन, यसो गर्न हामी तयार छौं भन्ने बेला आएको छ । यो बेला नेपाललाई ठूलो अवसर आएको छ ।
एकपल्ट हामीले हामीलाई समुन्नत र आर्थिक सरलीकरण गर्ने वेला पाएका छौं । यही बेला हो, नेपालले परिचालन गरी ठूलो लाभ लिन सकिने कुरामा दुईमत छैन । सन् २०१७ मा अमेरिकाको वासिङ्टनमा रहेको पीयू रिसर्चले गरेको अध्ययनमा भनिएको छ । नेपालबाट विभिन्न मुलुकले ३ अर्ब २२ करोड ६० लाख अमेरिकी डलर रेमिट्यान्सका रूपमा बाहिर लैजाने गरेको देखिन्छ । यसको मतलब त्यो वर्ष हाम्रो देशबाट बाहिरिने र हाम्रो देशले बाहिरबाट प्राप्त गर्ने रेमिट्यान्सको प्रतिशत हेर्ने हो भने कुल नेपाल आयको रेमिट्यान्सको ४४ प्रतिशत त बाहिर नै जाने देखिन्छ । सरसर्ती हेर्दा दक्षिण एसियाली राष्ट्रले बढी रेमिट्यान्स लगेको पाइन्छ । त्यसमध्ये चीन पनि बढी रेमिट्यान्स लाने देशका रूपमा रहेको पाइन्छ । यो अध्ययनले भारत, चीन, भुटान, पाकिस्तान, श्रीलंका र बगंलादेशले पनि हाम्रो देशको सूची रेमिट्यान्स प्राप्त गर्ने गन्तव्यका रूपमा प्रस्तुत गरेको पाइन्छ । त्यसो त नेपालबाट बाहिरिने रेमिट्यान्सको ९३.४९ प्रतिशत भने भारत नै जाने गरेको देखिन्छ । यसै सन्दर्भमा भारतबाट नेपालमा आउने भन्दा जानेको आयतन बढी नै छ । हामीले एकपल्ट परम्परावादी सोचबाट बाहिर निस्कनुपर्ने देखिन्छ ।
हामीले नयाँ अंकगणित पढ्नपर्ने अवस्था आएको छ । यहाँका अर्थविद्हरूले लगाएका पुरामा चस्मालाई अलि सफा गरी पुछ्नु जरुरी छ । हिजो प्रयोग गरिएका सम्बन्धका अक्षरहरूलाई बदल्न जरुरी छ । भारतले हामीलाई रोटीबेटीको सम्बन्ध भन्दा गर्व गरिरहेको पाइन्छ । के हाम्रो श्रम रोटीसँग साटेको भन्न खोजेको हो वा बेटीसँग यस्तो परम्परावादी भावनात्मक कुरामा हाम्रो अर्थतन्त्र रुमल्लिएको छ ? नयाँ सोच, नयाँ परिवेश र कोरोनाका कारण घर गएकाहरूलाई हामीले मिथक र कुटिल तरिकाले व्यवस्थापन गर्न सके देशको अर्थतन्त्र छिटै पुरानो लयमा फर्काउन सक्ने अवस्था सिर्जना गर्न सकिन्छ । कोभिड–१९ जस्तो महामारीका कारणले रोजगारी गुमाएको तथा कार्य अवधिका भिसा सकिएकाहरू अन्तर्राष्ट्रिय उडानहरू खुलेपछि करिब २ लाख ८० हजारको संख्यामा तुरुन्तै नेपाल आउने अवस्थामा छन् । यता यो महामारीमा पनि हामी श्रम स्वीकृति दिएर विदेश पठाउन आवेदन खुला गरिसकेका छौं ।
हिजो नेपालबाट अदक्ष कामदारका रूपमा गएका नेपालका श्रमिकहरू कोही पूर्ण दक्ष, कोही अर्धदक्ष बनिसकेको अवस्थामा फर्कंदै छन् । एकपल्ट हामी भाषण होइन, प्रयोग गरेर हेरौं  । विभिन्न कालखण्डको अर्थव्यवस्थालाई हामीले विभिन्न दातृ निकाय र देशबाट सहयोग लिएर देश चलाएको अवस्थाबाट हामी आत्मनिर्भर र अर्थतन्त्रको खाजीमा छौं । देशका सानाठूला परियोजनाका लागि विदेशबाट आयातित मजदुर कामदारहरूको परम्परालाई हामीले कोभिड–१९ को महामारीका कारण रोक्न सक्ने अवस्था छ । यो एउटा देशका लागि सुन्दर सपना बोकेकाहरूले बुझ्ने कुरा हो । अब हामी सबैले सबै नेपालीलाई यो अवस्थाको जानकारी गराउँदै नयाँ नेपालका लागि आर्थिक शुद्धीकरणतर्फ लाग्नुपर्ने समय हो । के यो सम्भव छ ? यो सम्भव छ र यो प्रभावकारी पनि हुन्छ ।
हाम्रो देशका युवाहरू सीप र अनुभवका साथ नेपाल फर्किरहेका छन् । नेपालमा विदेशबाट आउने र वायुमार्गबाट आउनेहरूको हकमा एउटै हो । हामी (राज्य) ले ती विदेशबाट फर्केकाहरूलाई उनीहरूको अनुभव, कार्य गरेको क्षेत्र, नेपालमा बस्ने ठाउँ, घरमा भएका सदस्य र विदेशमा बिताएको समय थपी आफूसँग भएको सीपसम्बन्धी दस्तावेज बनाउने र उनीहरूलाई नेपाल आउनेबित्तिकै फारम भर्न लगाउने तथा त्यसबाट हाम्रा आवश्यकता र राज्यले ल्याएको विभिन्न रोजगारीमूलक योजनासँग सजिलै जोड्न सकिन्छ । यसका लागि हाम्रो श्रम मन्त्रालयले यो कार्यको थालनी गर्नुपर्छ । हाम्रो देशमा हामीले यो वा ऊ जे भए पनि सीमित घेरालाई मात्र अर्थतन्त्रसँग जोड्न खोजेर हो । हाम्रो अर्थतन्त्र सबल र सक्षम बनाउने उपाय भनेको हामीसँग भएको मानवीय स्रोत र साधनलाई बजार र उत्पादनसँग जोड्नु हो ।
विश्वका अर्थतन्त्रहरू कसरी आज हाम्रो सामु उदीयमान भएका छन् ? हामीभन्दा कम स्रोतसाधन र विविधता भएको राष्ट्रले पनि आज सबल अर्थतन्त्रका साथ देशलाई विश्व बजारमा खडा गरेको देख्न पाइन्छ । हामी भने विश्वको श्रम बजारको उर्वर भूमि जुन देशमा युवाहरूको पर्याप्त सम्भावना भएको भन्ने, विश्व बजारले अनुसन्धानमा देखाए पनि हाम्रो लागि नीति बनाएर हाम्रो श्रमशक्तिलाई अर्थमा बदल्न कसले रोकेको छ हामीलाई ? देशको परम्परावादी आदर्श हामीलाई हाम्रो प्रगति मार्ग भेट्न गा-हो भइरहेको छ, एउटा कुरा हाम्रो देशमा जुनसुकै क्षेत्रको पनि पूरा डेटा (तथ्यांक) हरू सही र साँचो भने छैन ।
हाम्रो देशमा हामीले हाम्रो तथ्यांकहरूका लागि पूर्ण रूपमा लगानी गरेर आधिकारिकता दिन सकेको छैन । बैंक तथा वित्तीय क्षेत्रका बारेमा नेपाल राष्ट्र बैंकले प्रस्तुत तथ्यांक र अर्थमन्त्रालय वा अन्य सरोकारवाला निकायले प्रस्तुत तथ्यांकहरू सही नभएको हामीले बारम्बार देखेका छौं । त्यसै कारण हाम्रा देशका युवाहरू फर्कंदा सही तथ्यांक लिनुप-यो र त्यो तथ्यांकमा राज्यले एउटा श्रमिकको प्रतिबद्धतासहितको फारम भराउनुप-यो । त्यो प्रकारको फारम उसले अनलाइनबाट भर्न पाउने व्यवस्था पनि गर्नुप-यो । यसो हुँदा हामी निजी क्षेत्रले राज्यसँग त्यस्तो सूचना मागेर आफूलाई सुहाउँदो श्रम छानेर योजनामा लगाउन सहयोग पुग्ने पक्का कुरामा विमति हुँदैन । देशको अर्थतन्त्र भनेको देशको श्रम शक्ति हो भन्ने कुरा कसरी पुष्टि हुन्छ ? जब हाम्रो देशको श्रमशक्ति विश्व बजारमा काम गर्न जान्छन् ।
उनीहरूले कमाएको धन हाम्रो देशमा आउँछ र त्यो मुद्रा हाम्रो स्थानीय बजारमा विभिन्न रूपमा प्रवेश गर्छ । यसको अर्थ त्यही युवा श्रमशक्ति आफ्नै अर्थबजारका लागि उत्पादनसँग जोडिन पुग्छ । त्यहाँ हाम्रो लागि थप व्ययभार मात्र हुन्छ । त्यसो गर्दा हाम्रो बिदेसिने अर्थहरू सञ्चित हुन्छन् । जस्तै— वैदेशिक रोजगारीका लागि भिसा, श्रम स्वीकृति, हवाई टिकट र बाहिरको खाद्य पदार्थमा खर्च यदि त्यही श्रमशक्ति नेपालमा नै श्रम गरिरहँदा यो खर्च हाम्रो बच्ने र आफ्नो अर्थ बजारको आयतन बढ्ने कुरामा सुनिश्चितता थपिने हो । हामीले हाम्रो अर्थतन्त्र जोगाउन साना–साना कदम चाले पनि बलियो अर्थतन्त्र बन्न सक्छ ।
विगत १० वर्षमा इजरायलको र कोरियाको कृषिक्षेत्रमा अनुभव हासिल गरेका हाम्रा श्रमशक्तिबाट हामीले प्रयोग गर्ने विधि ल्याउनु जरुरी छ । यसका लागि कोरिया र इजरायल बसेर आफ्नो वा त्यहीं कार्य गरिरहेकाहरूको नेपालमा आफ्नो घर र जग्गा प्रायःको छ । देशमा बोलाउन उनीहरूको घरजग्गालाई राज्यले आधार बनाई जिरो प्रतिशत ब्याजमा नागरिक लगानी कोषको पैसा विधि बनाएर दिऊँ अनि हामी हाम्रो उत्पादन र कृषिमा आत्मनिर्भरतर्फ लम्कने पक्का छ । यो विषय यस लेखबाट मात्रै पूरा हुँदैन । निजी क्षेत्रको नेपाल उद्योग वाणिज्य संघमार्फत हामी देशमा अर्थतन्त्र बढाउन र सबल बनाउन हातेमालो गर्ने वाचा गर्छौं । नेपालको अर्थतन्त्रको आगामी पाँच वर्ष भन्ने नाराको साथ साना मझौला र ठूला गरी तीन तहमा निजी सहकारी र सरकारी हातमालो सुरु गरांै ।

अरुणराज सुमागी