गोविन्द चापागाईं
बुधवार, असार १७, २०७७
7371

विश्वव्यापी रूपमा फैलिएको कोभिड–१९ का कारणले थला परेको विश्वको अर्थतन्त्र अहिले धेरै खुम्चिसकेको छ । यो अर्थतन्त्र तन्किन अब महामारीसँग जुधेर सुरक्षा अपनाएर व्यवसायतिर उन्मुख हुनुपर्छ, तब मात्र केही समयपछि यो अर्थतन्त्र तन्किन्छ । यसका लागि महामारीका रूपमा फैलिएको यो कोभिड–१९ सँग सामना गर्नुबाहेक कुनै उपाय छैन ।
अत्यन्त सावधानी अपनाएर विविध उत्पादनमुखी व्यवसायमा लाग्नुपर्छ । मुलुकको अर्थतन्त्र उकास्नका लागि उत्पादनमुखी, आय आर्जनमुखी र आर्थिक सुधारोन्मोख व्यवसाय गरी अर्थतन्त्र उकास्न सकिन्छ । यसका लागि सबैभन्दा महŒवपूर्ण कुरा त यातायातका साधन नै अग्रपंक्तिमा आउँछन् ।

अहिले हाम्रो मुलुकमा पनि लकडाउन भएदेखि विगत तीन महिनादेखि सार्वजनिक यातायात चल्न सकेका छैनन् । अझ यो कहिलेसम्म लम्बिने हो, यसको टुङ्गो छैन । यो एउटा कोभिड–१९ को जोखिम हो, तर यस्तो विषम परिस्थितिमा यसरी सार्वजनिक यातायात लामो समयसम्म बन्द हुनाले मुलुकको यातायात प्रणलीमा नराम्रो आर्थिक संकट उत्पन्न भएको छ । राजधानी छाडेर गृहजिल्ला जाने लाखौं सर्वसाधारण सार्वजनिक यातायात सञ्चालन हुन नसक्दा उतै बस्न बाध्य भएका छन् । यसले गर्दा धेरै मानिसको रोजगारी नै गुमिसकेको अवस्था छ ।
धेरै रोजगार कम्पनीले धमाधम आफ्ना कर्मचारी कटौती गरिसकेका छन् । धेरैले त कतै खाइपाइ आएको रोजीराटीसमेत गुम्ने हो कि समेत भन्न थालिएका छन् । राजधानीभित्रै पनि सार्वजनिक यातायात सञ्चालन नहुँदा धेरैको रोजगारीमा समेत नकारात्मक असर परेको देखिन्छ । यसले गर्दा विकास–निर्माणको काम मात्र होइन, चौतर्फी भौतिक तथा आर्थिक क्षेत्रमा समेत प्रत्यक्ष असर गरिरहेको छ ।
मुलुकका ठूला–ठूला विकास आयोजनाहरूमा समेत सार्वजनिक यातायात सञ्चालन हुन नसक्नाले मुलुकले दिनानुदिन ठूलो आर्थिक भार बेहोर्दै आइरहेको छ । सार्वजनिक यातायात क्षेत्रमा काम गर्ने हजारौं मानिसको रोजगारी खोसिएको छ । धेरै मानिस रोजगारीको नयाँ विकल्प खोज्न थालिसकेका छन् भने यातायात व्यवसायीहरू पनि बैंकबाट लिएको करोडौं रुपैयाँ ऋण तिर्न नसकेर बिजोग अवस्थामा पुगिसकेका छन् ।
लामो समयसम्म यातायात चल्न नसक्नाले कतै सवारी साधन बिग्रने पो हो कि भनेर व्यवसायीहरू चिन्तित हुन थालेका छन् । विकासको पूर्वाधारका क्षेत्रमा सार्वजनिक यातायातलाई अत्यन्तै महŒवपूर्ण साधनका रूपमा नै लिन सकिन्छ । एक दिन यातायात नचल्नाले राज्यलाई अर्बाैं रुपैयाँ घाटा लाग्छ । त्यसैले यातायातको क्षेत्रमध्ये सार्वजनिक यातायात धेरै महŒवपूर्ण छ ।
मानिसहरू रोगले भन्दा पनि भोकले मर्ने हुन् कि भनेर आममानिस नै भन्न थालिसकेका छन् । यो कोभिड–१९ को जोखिम त छँदै छ, तर छोटो दूरीका सार्वजनिक यातायातलाई सामाजिक दूरी कायम गरेर जोर–बिजोर प्रणालीमा पनि सञ्चालन गर्न सकिन्छ । आवश्यक सिट संख्याका आधारमा मात्र होइन, सिटमा पनि दूरी कायम गरी बस्न सकिन्छ ।
सुरक्षाका दृष्टिकोणले यातायात व्यवसायीहरूले हरेक सार्वजनिक यातायातमा सेनिटाइजरको व्यवस्था गरिदिनुपर्छ । लामो दूरीको यातायातमा पनि यसैगरी व्यवस्था गर्न सकिन्छ, तर एउटा मात्र फरक के छ भने संक्रमित जिल्लाबाट आएका मानिसहरूलाई यातायात व्यवस्थाले यात्रुहरूको गणना गरेर सम्बन्धित निकायलाई दिनु जरुरी हुन्छ । यसमा यात्रुहरूले पनि आफ्नो सुरक्षा अपनाएर १५ दिन सेल्फ क्वारेन्टाइनमा बसेर मात्र सम्बन्धित रोजगारमार्फत जानकारी गराएर काममा फर्कनुपर्ने हुन्छ ।
हो, यसरी कोभिड–१९ सँग जुधेर सुरक्षा नीति अपनाएर मात्र बिस्तारै यातायात प्रणालीमा सहजीकरण ल्याउनुपर्ने हुन्छ । यसले गर्दा बेरोजगारी समस्या न्यूनीकरण हुनुका साथै मुलुकको अर्थ व्यवस्थामा पनि निकै परिवर्तन आउने देखिन्छ । त्यसैले अब सरोकारवालाहरूले सार्वजनिक यातायातका क्षेत्रमा ढिलो नगरी यथाशीघ्र चाँडै यातायात सुचारु गर्नुपर्ने देखिन्छ ।