कारोबार संवाददाता
सोमवार, असार १५, २०७७
827

कोरोनाले विश्व अर्थतन्त्र, स्वाथ्य, शिक्षा, रोजगारी आदि क्षेत्रमा व्यापक रूपमा प्रभाव पारेको छ । कोरोनाकै कारणले अवसर पनि त्यत्तिकै छ ।
कोरोना महामारीका कारण सिर्जना भएको चुनौती र अवसरलाई सम्बोधन गर्नका लागि यो वर्ष २०७७÷०७८ मा कुल बजेटको २.८१ प्रतिशत अर्थात ४१ अर्ब ४० करोड बजेट विनियोजन गरिएको छ । दूध, तरकारी र मासुमा आत्मनिर्भर हुने गरी बजेट छुट्याएको छ । यो बजेट पनि सरकारका कुरौटे भरौटेहरूको लागि मात्र छुट्याएको जस्तो छ ।

नेपालमा ३० वर्ष अघिसम्म खाद्यान्नमा आत्मनिर्भर थियो । सरकारलाई पनि राम्रै राजस्व बुझाउँथ्यो । तर, नेपालमा कृषिक्षेत्रमा व्यापक हानिकारक विषादी प्रयोग भइरहेको छ । खेतीयोग्य जमिनमा हानिकारक विष दिन–प्रतिदिन बढ्दै गइरहेको छ । यसले कति हानिकारक गर्छ र कस्तो असर गर्छ भन्ने कुरा हामीलाई थाहै छ ।
नेपालका मौलिक रैथाने चैते धान, वर्षे धान, घैया धानको खेती हुँदै आएको छ, केही हाम्रा मौलिक रैथाने धानहरू मासिँदै गएका छन् । नेपालका ९६ प्रतिशत धानका बीउ समाप्त भए, तर ४ प्रतिशत फिलिपिन्सको जिन बैंकमा छ भनेर सरकारी डाटा भन्छ । सरकारले पनि कृषिमा बीउ, मल, प्रोसेसिङ र मार्केटिङलगायतमा ध्यान दिनु आवश्यक छ । राज्यले युवाको प्रतिभा क्षमतालाई चिन्नु सक्नुपर्छ र त्यहीअनुरूप नीति, सिद्धान्त बनाउनु सक्नुपर्छ ।
अनुसन्धानविद् डा. निर्मलमणि अधिकारी गुरु भन्नुहुन्छ, “नेपालकेन्द्रित अनुसन्धानका आधारमा, परम्परागत र कथित व्यावसायिक सबै खाले प्रणालीको समुचित समन्वयात्मक सदुपयोग गर्नुपर्छ । पुनर्जागरणमा आधारित आधुनिकता र आधुनिकतासहितको पुनर्जागरणको नीति कृषिक्षेत्रमा पनि अवलम्बन गर्नुपर्छ । श्रम शक्तिको कमीले सबैभन्दा ठूलो असर कृषिक्षेत्रलाई परेको छ र नेपालको कृषि प्रणाली यस्तै तरिकाले त केही दशकभित्रैमा ध्वस्त हुने दुरवस्था देखिन्छ । कृषिको पुनरुद्धार भएन भने वैदेशिक रोजगारी, पर्यटन, उपभोग्य सामग्री केन्द्रित व्यापार, दलाली आदी क्षेत्रबाट हुने कमाइले देशको अर्थतन्त्रलाई धान्न सक्नेछैन । थोरैतिनै हुने कमाइ आयात प्रणालीमार्फत विदेशतिरै बाहिरिनेछ । एक परनिर्भर, परावलम्बी, हीन अर्थतन्त्रका कारणले नेपाल कष्टैकष्टको भड्खालोमा फस्नेछ । यदि नेपाललाई स्वावलम्बी, समृद्ध, आत्मनिर्भर, विकसित र सुखी राष्ट्र बनाउने हो भने कृषिको पुनरुद्धार एवं किसानको मूलप्रवाहीकरण अनिवार्य छ ।”
पक्कै पनि गुरुले भनेअनुसार प्रत्येक गाउँ–गाउँबाट युवाहरू एकजुट भएर कृषिमा आत्मनिर्भर बन्नुका लागि आफैंबाट सुरुवात गर्नु आवश्यक छ । हामी सबै युवा मिलेर कृषिमा आत्मनिर्भर बन्नुपर्छ । नेपालमा कृषिक्षेत्रमा ६९ प्रतिशत रोजगारीको अवसर छ । नेपाल सरकारले पनि कृषिमा आत्मनिर्भर बन्नुका लागि यो पटक पनि ठूलै गफ दिएको छ । तर, तरकारी, फलफूल, खाद्यान्न आदिका लागि पनि अन्य देशको भर पर्नुपरिरहेको छ । सरकारले गर्ला अनि गरौँला भनेर पर्खौं भने हाम्रो समय बरबाद हुनेछ । जति सकिन्छ आ–आफ्नो क्षेत्रबाट काम गर्नुबाहेक अरू विकल्प छैन । कपुतन्त्रे राजनीतिभन्दा माथि रहेर कृषिक्षेत्रमा काम गर्न सकिन्छ । अब जागौँ युवाहरू, हामी यसरी जागौँ कि बाध्य भएर सरकार हाम्रो पछि लागोस् ।
थोरै जमिनमा, कम पानी र कम विषादी गरेर पनि उत्पादनलाई दोब्बर गर्न सकिन्छ । घरमा आवश्यक हुने खाद्यान्नमा ध्यान दिएर उत्पादनमा बढी जोड दिनु आवश्यक छ ।
सामाजिक सञ्जालहरूमा अहिले व्यापक बेसारे बहस भएको छ । तर विडम्बना, बेसारमै हामी परनिर्भर हुनुपरेको छ । बजारमा प्रतिकिलो ३ सयदेखि ४ सयसम्ममा पनि बिक्री भइरहेको पाएको छ । १० महिनामा म्यानमार र भारतबाट मात्र जम्मा २७ करोड ९५ लाखको बेसार आयात भएको थियो । सकिन्छ भने अब कमसेकम बेसारमै आत्मनिर्भर बन्ने प्रयास गरौँ ।
कोरोनापछि केही युवाहरूमा सकारात्मक सन्देश गएको छ । कोरोनापछि अहिले बाँझो रहेका खेत, जग्गाहरू हरियाली भएका छन् । युवाहरू आज गाउँमै रमाइरहेका छन् । आत्मनिर्भर हुने प्रयासमा लागिरहेका केही उदाहरण देख्न सकिन्छ । कृषिक्षेत्रमा आत्मनिर्भर भई आफ्नो सभ्यता र संस्कृतिप्रति गर्व गरौँ । कसैको पनि आलोचना÷प्रत्यालोचना नगरी घर–घरमा उत्पादन गरौँ, आत्मनिर्भर बन्ने प्रयास गरौँ । अघि बढौँ यो युग हाम्रो हो ।
—धीरेन्द्र चन्द सोडारी
अध्यक्ष
प्रगतिवादी युवा समाज नेपाल