कारोबार संवाददाता
बुधवार, चैत्र ७, २०७४
2925

मुलुकमा ट्रेड युनियन आन्दोलनको संगठित थालनी वि.सं. २००३ देखि भएको हो । वि.सं. २००७, २०३६, २०४६ र २०६२-०६३ का राजनीतिक स्वतन्त्रता प्राप्तिका लागि सञ्चालित लोकतान्त्रिक आन्दोलनमा युनियन आन्दोलनले ऐतिहासिक महत्व को भूमिका निर्वाह गरेको छ । साथसाथै आन्दोलनका माध्यमबाट श्रमिक वर्गको हकहितका लागि उनीहरूलाई संगठित र परिचालित गर्न तथा मुलुकको आर्थिक विकासका लागि विराट संगठित शक्तिको विकास भएको छ । श्रमिकको सेवा सुरक्षा, वृत्ति विकास, समृद्ध जीवन र सुनिश्चित भविष्यका लागि ट्रेड युनियनका माध्यमबाट प्रयत्न भएका छन्, परिणामस्वरूप श्रमिक कर्मचारीहरू सेवा–सुविधाबाट लाभान्वित पनि भएका छन् ।
राजनीतिक आन्दोलनको लडाइँपश्चात् यतिखेर मुलुकको आर्थिक–सामाजिक विकासमा यथेष्ठ योगदान पुर्या उँदै श्रमिकको अधिकारलाई व्यवस्थित, सुनिश्चित गर्दै श्रमिकको समृद्धितर्फ ध्यान केन्द्रित गर्नुपर्ने अभिभारा ट्रेड युनियन आन्दोलनका सामु रहेको छ । बदलिँदो परिवेशमा ट्रेड युनियन आन्दोलनको दिशालाई सही ढंगले पक्रेर, त्यस दिशातर्फ आमश्रमिकलाई परिचालित गर्न नेतृत्वकै भूमिका रहन्छ । नेतृत्व त्यो हो जसले अब हिँड्ने बाटो के हो ? थाहा पाउँछ । दोस्रो, नेतृत्वले बाटो थाहा पाउने मात्र होइन, अरूलाई बाटो देखाउने काम गर्छ । तेस्रो, बाटो थाहा पाउने र देखाउने मात्र होइन, हिँड्नुपर्ने बाटोमा नेतृत्व आफैं अगुवा भएर अरूलाई डोर्याउँछ ।

यतिखेर ट्रेड युनियन आन्दोलनलाई सही दिशाबोध गर्न आवश्यक देखिन्छ । नेतृत्वले राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरमा भएका परिवर्तन र चुनौतीको प्रकाशमा आफ्नो देशको विशिष्टतामा आधारित अबको आन्दोलनको बाटो के हो ? थाहा पाउनुपर्छ । यसका लागि नेतृत्वले सदैव अध्ययन, चिन्तन गरी सही दृष्टिकोण निर्माण गर्न सक्नुपर्छ । माक्र्सवादी दृष्टिकोणका साथ गरिने अध्ययन, चिन्तन र व्यवहारले नेतृत्वलाई बाटो ठम्याउन मद्दत पुर्या उँछ, तर अहिले आन्दोलनभित्र के देखिएको छ भने सैद्धान्तिक वैचारिक विषयमा अध्ययन, चिन्तन, मनन गर्ने परिपाटी हराएको छ । यो प्रवृत्ति आन्दोलनका लागि घातक हो । नेतृत्वले नै सबैभन्दा पहिलो देश र विश्वमा भएका विकसित घटनाक्रम र त्यसप्रति सही दृष्टिकोण यो हो भनेर बताइदिन सक्नुपर्छ । अझ नेतृत्वले घटना घटेपछि प्रतिक्रिया जनाउने प्रतिक्रियामुखी दृष्टिकोण होइन, घटना घट्नुपूर्व नै त्यसका प्रतिको दृष्टिकोण, माग र आन्दोलनको अगुवाइ गर्न निर्देशित गर्नुपर्छ ।
नेपालमा उदारीकरण र निजीकरणको नीतिका माध्यमबाट सार्वजनिक संस्थानहरूको निजीकरण गर्ने नीति राज्यले अढाई दशक अगाडिदेखि नै अंगिकार गरेको हो । अहिले त हाम्रो संस्थाको त निजीकरण गर्ने नीति छैन भनेर ट्रेड युनियनको नेतृत्वचाहिँ आँखा चिम्लिएर बस्छ वा यही ढंगले आफ्नो पंक्तिलाई प्रशिक्षित गर्छ भने नेतृत्वले घटनामा आधारित प्रतिक्रिया मात्र जनाउँछ । यस्तो प्रतिक्रियामुखी आन्दोलनबाट ट्रेड युनियनले लिएको ध्येय उद्देश्य पूरा हँुदैन । अतः यतिखेर ट्रेड युनियन आन्दोलनका सामु अझ विशेषतः नेतृत्वका सामु गहन ढंगले अध्ययन, चिन्तन, विश्लेषण गरी अग्रगामी ढङ्गले सही दृष्टिकोण दिन सक्ने चुनौती थपिएको छ । सैद्धान्तिक, वैचारिक विषयमा व्यापक रूपमा प्रशिक्षण अभियान सञ्चालन गरेर क्षमतायुक्त नेतृत्व पंक्तिको विकास गरेर ट्रेड युनियन आन्दोलनलाई सही दिशा बोध प्रदान गर्नेतर्फ ट्रेड युनियनको ध्यान जानु जरुरी छ ।
आज नेतृत्वले सही बाटो देखाउन सकिरहेको छैन । यसका दुईवटा कारण छन् । पहिलो, बाटो के हो ? भनेर नेतृत्व स्वयं अलमलमा छ । दोस्रो, बाटो थाहा पाएर पनि ऊ अत्यन्तै आत्मकेन्द्रित सोच र गतिविधिमा तल्लीन छ । आत्मकेन्द्रित सोचमा रहेको नेतृत्वले कहिल्यै आन्दोलनको संयोजन गर्दैन र नयाँ कामको सिर्जना र योजना गर्नलाई पनि ध्यान दिदैन । अहिले आन्दोलनभित्र नेतृत्वको जीवनशैलीलाई पनि लिएर प्रश्न पनि उठ्ने गरेको छ । राम्रो कमाउ मालदार अफिस नछोड्ने तर पूरा समय अफिसको काम पनि नगर्ने खालका गतिविधि बढेका छन् र यस्ता व्यक्तिले नै मानसम्मान र पदोन्नति पाएको भनेर आलोचना हुने गरेको छ । सरकार÷व्यवस्थापनले ट्रेड युनियनको नेतृत्वलाई आन्दोलनमा विमुख गराउन मान, सम्मान पदोन्नति गरिदिने गर्छ र आन्दोलन कमजोर हुन्छ । त्यसैले युनियन कानुनमा नै ट्रेड युनियनका पदाधिकारीको सरुवा, पदोन्नति गर्दा सम्बन्धित युनियनको सहमति लिनुपर्ने व्यवस्था छ । तर, भित्रभित्रै आफ्नो फाइदा हुने काममा नेतृत्व लाग्ने गर्दा ट्रेड युनियन आन्दोलन जुझारु बन्न सक्दैन । राष्ट्रिय स्तरमा ट्रेड युनियनका पदाधिकारीलाई अफिसको दैनिक कामबाट बिदा दिने गरी सरकार तथा व्यवस्थापनबाट बेतलबीको काजको व्यवस्था भए पनि स्वयं ट्रेड युनियनको नेतृत्वले पूर्ण रूपमा यसको उपयोग नगरेको स्थिति छ । यसरी ट्रेड युनियनका पदाधिकारीहरू आत्मकेन्द्रित गतिविधिमा व्यस्त भएमा आन्दोलनका लागि रचनात्मक र सिर्जनात्मक योजनाको विचार प्रवाह हुँदैन, अर्थात् नेतृत्वले बाटो के हो ? भनेर थाहा पाए पनि सही बाटो देखाउन नसक्दा आन्दोलन बीचैमा तुहिने गरेको छ । अधिकार कटौती गर्ने श्रृङ्खलाबद्ध नीति र योजना राज्यले ल्याइरहेको छ । तर, नेतृत्वचाहिँ थाहै नपाएझैं गर्छ भने यस्तो स्थितिमा प्राप्त उपलब्धिहरू रक्षा हुने होइन, झन् चाँडो गुम्ने खतरा हुन्छ । समाजका सबै वर्ग, तह र तप्काले देशको संविधान, ऐन–कानुनबाट अधिकार प्राप्त गरे र गरिरहेका छन् । तर, श्रमिक वर्गले चाहेको राजनीतिक अधिकार र ट्रेड युनियन अधिकार किन प्राप्त गर्न सकेका छैनन् ? श्रमिकका मुद्दा पनि उठिरहेका छन् । तर, अधिकार प्राप्ति हुन सकेका छैनन् । एजेन्डाको प्रचारबाजी त भयो तर नेतृत्वहरूले एजेन्डालाई दह्रोसँग बोकेर नेतृत्व दिन सकेन । परिणामस्वरूप श्रमिक अधिकारको कटौतीसँगै श्रमशोषणको मात्रामा वृद्धि हुँदै गएको छ । यसले नेपाली अर्थतन्त्रमा दलाल पुँजीवादको बिगबिगी बढ्दै जाने परिस्थितिको विकास भएको छ ।
ट्रेड युनियन आन्दोलनको लक्ष्य, उद्देश्य र कार्यभारका बारेमा कार्यस्थलसम्म पुगेर नेतृत्वले श्रमिक वर्गलाई प्रशिक्षित गर्दै आन्दोलन, संघर्षमा अगुवाइ गर्न सक्नुपर्छ । तारे होटलमा श्रमिकका विषयमा गोष्ठी, भेला, सेमिनार पनि विदेशी संघसंस्थाबाट प्राप्त डलर परियोजनाका आधारमा बाक्लै कार्यक्रम हुने गर्छ, तर कार्यस्थलसम्ममा पुगेर वैचारिक अभियानका साथ श्रमिक वर्गलाई प्रशिक्षित नगर्दा आज आन्दोलन भुत्ते बन्दै गएको छ । नेतृत्व तारे होटलको सेमिनार गोष्ठीसम्म अत्यन्तै व्यस्त हुन्छ, तर श्रमिक वर्गले भोगेका समस्या समाधानका लागि ठोस कार्ययोजना र कार्यक्रमका साथ कार्यस्थलसम्म पुगेर श्रमिक वर्गको अगुवाइ गर्दैन, अर्थात् नेतृत्वले बाटो के हो ? थाहा पाएको छ, बाटो यो हो भनेर बाटो बताउने पनि गर्छ तर परिणाममुखी बाटो बनाएर अगुवाइ नगर्ने ट्रेड युनियन आन्दोलन अहिलेको समस्या हो ।
यतिखेर ट्रेड युनियन आन्दोलनमा सही वैचारिक दृष्टिकोणका साथ अवसरवादी, अर्थवादी र अराजकतावादी (तीन ‘अ’) सोच चिन्तनबाट हुर्किरहेको गलत व्यवहार, कार्यशैली र जीवनशैलीका विरुद्ध वैचारिक संघर्ष गर्नुपर्ने चुनौतीहरू खडा भएका छन् । ट्रेड युनियनलाई भर्याङ बनाएर आफ्नो स्वार्थ पूरा गर्न र आन्दोलनलाई विर्सजनवादतर्फ उन्मुख गराउने तथा अधिकार कटौती गरेर श्रमिकवर्गको भविष्यलाई पछाडि धकेल्ने पुँजीपक्षीय सोच, चिन्तन र प्रवृत्तिप्रति दृढतापूर्वक वैचारिक संघर्ष गर्न सक्दा मात्र श्रमिकपक्षीय ट्रेड युनियन आन्दोलनको विकास हुने विश्वास लिन सकिन्छ ।

प्रेमलकुमार खनाल