हेमन्त बस्याल
बुधवार, चैत्र ७, २०७४
1459

मानिसले गर्ने हरेक गतिविधिमा मानवीय व्यवहारले प्रत्यक्ष वा परोक्ष प्रभाव पार्ने गर्छ । लगानीसम्बन्धी निर्णयसमेत मानवीय व्यवहारको पक्ष रहेकाले लगानीकर्ताहरूले लगानीसम्बन्धी निर्णय गर्दा मानवीय व्यवहारले लगानीको निर्णय–प्रक्रियामा प्रत्यक्ष वा परोक्ष प्रभाव पर्छ । लगानीसम्बन्धी निर्णयमा मानिसले देखाउने अनुभूति तथा संज्ञानात्मक त्रुटिका साथै भावनात्मक पूर्वाग्रहका कारण हरेक व्यक्तिले गर्ने लगानी निर्णयहरू विवेकशील नहुन सक्छन् । मानवीय व्यवहारले गर्दा लगानीसम्बन्धी निर्णयमा विशेष गरी दुई प्रकारका त्रुटिहरू देखा पर्छन् ।
अनुभूति-संज्ञानात्मक त्रुटि

सामान्यतया यस्ता त्रुटिहरू गलत डाटाको प्रयोग, सूचना वा त्यो डाटा र सूचनाको गलत विश्लेषण, सूचनाको तार्किक विश्लेषणमा कमजोरी वा दोषपूर्ण स्मृति (जुन कुरा हो त्यही विगतभन्दा फरक तरिकाले स्मरण हुने) आदि जस्ता कारणले गर्दा हुने गर्छ । बजारमा लगानीकर्ताले जानेर वा नजानिकनै आफनो सन्तुष्टि जसरी मिल्छ त्यस्तै लगानी व्यवहार देखाउने गर्छन् ।
भावना वा संवेग : मानिसको भावनात्मक अनुभूतिले जे सोच्छ त्यसैबमोजिम लगानीको व्यवहार गर्ने, कुनै विवेकशील सोचका आधारमा यस्ता त्रुटि होसपूर्ण सोचबाट नभई व्यक्तिको अनुभूति, आवेग अथवा अन्तज्र्ञानका आधारमा लगानी व्यवहारबाट सिर्जना हुन्छन् ।
लगानीका अनुभूतिगत त्रुटिहरूलाई हामीले दुईवटा वर्गमा राखेर वर्गीकरण गर्न सकिन्छ, जसमा आफ्नो बुझाइ अडिग रहने, व्यक्तिले आफूले जुन कुरा पहिल्यै थाहा पायो वा उसको विश्लेषणले जे कुरा देखायो, त्यही कुरामा अडिग रहिरहने खालका हुन्छन्; तर यसमा समयसापेक्ष परिवर्तन आइसकेको हुन सक्छ । दोस्रोमा उसले गरेको सूचना विश्लेषण प्रक्रिया नै गलत हुन सक्छ । बुझाइ दृढता वा बुझाइमा अडिग गराउनका लागि विभिन्न पूर्वाग्रहले काम गर्छन् ।
पुरातनवादी पूर्वाग्रह : लगानीकर्ताले विगतको धारणालाई नै लगानीको प्रक्रियामा समावेश गर्ने र नयाँ सूचनालाई कम महत्व दिने वा महत्व नै नदिने गर्छन् । यस्तो पूर्वाग्रहले गर्दा लगानीकर्ताहरूले बजारमा आएको सही सूचनालाई आफ्नो लगानी प्रक्रियामा समावेश नै नगर्ने वा बजारले कस्तो प्रक्रिया देखाउँछ अनि मात्रै हेरौंला भन्ने व्यवहार देखाउँछ । त्यसैले कुनै पनि क्षेत्रमा गरिएको लगानी आवश्यकताभन्दा लामो समयसम्म रहने र लगानी गरिनुपर्ने क्षेत्रमा समयमै लगानी हुन नसक्ने हुन्छ ।
पुष्टीकरण पूर्वाग्रह : लगानीकर्ता आफूले विगतमा गरेको लगानीको निर्णय पुष्टि वा समर्थन गर्ने खालका सूचनाहरूको खोजी गर्ने तर आफ्नो विगतको निर्णयसँग बाझिने खालको सूचनालाई महत्व नदिने गर्छन् । यसले गर्दा लगानीकर्ताहरूले आफूले किनेको सेयरको सम्बन्धित कम्पनीका सकारात्मक कुरालाई बढी महत्व दिने तर नकारात्मक कुरालाई त्यस्तो होइन वा हुनै सक्दैन भन्ने विश्वास राख्छन् । लगानीको निर्णय प्रक्रियामा वा सूचना छनोट प्रकियामा समर्थन नगर्ने सूचना हटाउनु, कुनै एक क्षेत्र वा केही कम्पनीका सेयरमा मात्रै गरी लगानी विविधीकरण गर्न नसक्नु, आफंैले काम गर्ने कम्पनीको सेयरमै धेरै लगानी गर्नुजस्ता त्रुटिहरू देखाउँछन् ।
प्रतिनिधिमूलक पूर्वाग्रह : कुनै पनि लगानीकर्ताले कुनै पनि साधारण नियम वा छनोट गरिएका केही कम्पनीलाई नै प्रतिनिधि घटना वा लगानीका क्षेत्रका रूपमा लिई तिनै प्रतिनिधि घटनालाई वा कम्पनीलाई बढी महत्व दिने गर्छन् । जस्तै लगानीका नियमहरूमध्ये साधारण जुन छ, त्यसैलाई लिने र विगतको लगानी नियमलाई नै निरन्तरता दिने वा विगतबमोजिम नै लगानी वर्गीकरण गरी रहने । जस्तै, चिलिमे हाइड्रोपावरले राम्रो प्रदर्शन गर्दा सबै हाइड्रो सेक्टरले राम्रो गर्छ भन्ने ठान्नु । यस्तो पूर्वाग्रहले गर्दा लगानीकर्ताहरूले भर्खरै आएको सूचनालाई बढी महत्व दिने र महत्व पूर्ण सूचनाहरूलाई कम महत्व दिने गर्छन् ।
नियन्त्रणको भ्रम : लगानीकर्तामा कुनै पनि कुरामा उसको नियन्त्रण छ वा त्यसलाई आफ्नो व्यवहारबाट प्रभाव पार्न सक्छु भन्ने भ्रम हुन्छ । यस्तो भ्रम खास गरी जुन कुरा उसलाई थाहा छैन, त्यो कुरा थाहा छ भन्ने भान हुन्छ । यस्तो प्रभावले गर्दा लगानीकर्ताहरूले आवश्यकताभन्दा बढी किनबेच गर्ने र नियन्त्रणको भ्रममा लगानी विविधीकरण नगरी केही वा एक मात्र कम्पनीमा लगानी गर्ने जस्ता त्रुटि गर्छन् ।
विगतको सही निर्णय मात्रैको स्मरण : मानिसले विगत भुल्छ । जुन–जुन कुराले उसलाई फाइदा पुग्यो तिनै कुरा सम्झन्छ । जस्तै, कुनै कम्पनीमा लगानी गरी मनग्य कमाएको भए त्यो कम्पनीमा गरेको लगानी हाल पनि राम्रो हुन्छ भन्ने सम्झन्छ ।
मेन्टल एकाउन्टिङ : लगानीकर्ताले आफ्नो लगानीलाई फरक–फरक रूपमा राखी सोहीबमोजिम व्यवहार देखाउने गर्छ । नाफाबाट आर्जित सम्पत्ति र तलबबाट आर्जित सम्पत्तिलाई अलग–अलग रूपमा हेर्ने अथवा कुनै कम्पनीको सेयर बेचेर गाडी किन्ने उद्देश्य राख्ने आदि ।
न्यारो फ्रेमिंक : लगानीकर्ताहरूले कसरी प्रश्नको सुरुवात भयो त्यसै बमोजिमको विश्लेषण निकाल्ने प्रवृत्ति देखाउँछन् । जस्तो, कुनै कम्पनीको सेयर २ हजारमा किनेको छ, तर हालको रु. १५ सय ओभर भ्याल्युड छ भने उसको विश्लेषणको निचोड होल्ड हुन सक्छ, तर १२ सयमा किनेको भए बिक्री गर्ने सोच हुन्छ । त्यस्तै लगानीकर्ताले लगानी विश्लेषण गर्दा जुन कुरा आफ्नो अगाडि छ अथवा देखिएको र सजिलै प्राप्त जानकारीको मात्रै विश्लेषण गर्ने गर्छन्, जसले गर्दा बजारमा जुन कम्पनीको हल्ला बढी छ त्यसैमा लगानी गर्ने प्रवृत्ति देखाउँछ । उल्लिखित त्रुटिहरू व्यक्तिले सहजै निराकरण गर्न सक्छ । थप ज्ञान, सीप हासिल गर्ने, सही सूचनाको छनोट, सही प्रश्नको जवाफ खोज्ने साथै लगानीमा विज्ञहरूको परामर्श लिने आदि कार्यबाट यस्ता त्रुटिहरू कम गर्न सकिन्छ ।
त्यस्तै लगानीकर्ताहरूले देखाउने भावनात्मक पूर्वाग्रहका रूपमा घाटादेखि भाग्ने प्रवृत्ति देखाउँछ, जसले गर्दा लगानीकर्ता जुन सेयरमा नाफा छ, त्यस्तो सेयर बेच्ने तर घाटामा भएको सेयर घाटामा त के बेच्नु भनेर होल्ड गरी राख्ने गर्छन् । फलत: राम्रो प्रतिफल आउने सेयर बिक्री गरी प्रतिफल कम आउने सेयरमा लगानी गरिराख्ने गर्छन् । यस्तो अवस्थामा लगानीकर्ताले जोखिमको कम आकलन गर्ने, लगानी विविधीकरण नगर्ने र प्रतिफल धेरै हुन्छ भन्ने भ्रम राख्छन् । त्यस्तै केही लगानीकर्तामा आफूलाई नै काबुमा राख्न नसक्ने प्रवृत्ति देखाउँछन् । उनीहरू दीर्घकालीन लगानी नगरी अल्पकालमा नाफा हुँदा खर्च धेरै गर्ने अनि धेरै जोखिम उठाउन खोज्ने प्रवृत्ति देखाउँछन्, त्यस्तै केही लगानीकर्तामा आफ्नो लगानी जहाँ छ त्यसमा नाफा–घाटा जे भए पनि त्यसलाई नचलाउने प्रवृत्ति देखाउँछन् । व्यक्तिको अन्तज्र्ञान, अनुभूति र आवेगसँग सम्बन्ध राख्ने हुँदा यस्ता त्रुटि हटाउन व्यक्तिलाई गाह्रो हुन्छ वा समय लाग्छ । व्यक्तिले कहिलेकाहीं संज्ञानात्मक त्रुटि देखाउँछ भने कहिले भावनात्मक संवेग, धेरैजसो अवस्थामा लगानीकर्ताहरूले दुवै खाले त्रुटि देखाउन सक्छन् ।
कुनै पनि लगानीकर्ताको व्यवहारगत त्रुटिको प्रमुख कारण डर र लोभ नै हो । लगानीकर्ताहरूको मनोविज्ञानलाई यी दुई तत्व ले मुख्य भूमिका खेल्छ । जबजब बजारमा सकारात्मक तत्व हरू प्रेरित हुन्छन् तबतब लगानीकर्तामा ओभर कन्फिडेन्स सुरु हुन्छ, लगानीकर्ताहरू बजार अरू बढ्छ भन्ने लोभ तत्व सिर्जना गर्छन् । समग्र लगानीकर्ताहरूमा आउने त्यस्तो प्रवृत्तिले बजारलाई अझ वृद्धि गराउँछ । त्यस्तै बजारमा जबजब नकारात्मक समाचारहरू आउछन् तबतब लगानीकर्ताको डर तत्व हाबी हुन्छ । यो क्रम त्यति बेला सुरु हुन्छ जब बजारमा सुसूचित लगानीकर्ताहरूले बजार ओभर भ्यालुड भयो भन्ने बुझेर लगानी व्यवहार गर्छन् । जब सो विषय बजारमा रुमरका रूपमा प्रवेश गर्छ त्यो समय बजारको ओभर भ्यालुएसन करिब–करिब करेक्सन भइसकेको हुन्छ । जानकार लगानीकर्ताको डर तत्व अब आमलगानीकर्तामा प्रवेश गर्छ र यसले थप बजारलाई तरङ्गित गर्छ । बजार अन्डरभ्यालुड हुन्छ, तर पनि लगानीकर्ताहरूमा डर तत्व हाबी हुन्छ र बजार अझ तल झर्छ । लगानीकर्ताहरूमा रहने व्यवहारगत त्रुटिबाट निम्तिने सबैभन्दा अहम् पक्ष भनेको अत्यधिक सकारात्मक सोच र अत्यधिक नकारात्मक सोच हो; तसर्थ बजारको सबैभन्दा उच्च बिन्दुमा कारोबार रकम पनि अत्यधिक हुन्छ भने न्यून बिन्दुमा बजार आइपुग्दा कारोबारसमेत न्यून हुन पुग्छ ।
तसर्थ लगानी प्राविधिक कार्य हो भन्ने बुझी लगानीकर्ताहरूले लगानीसम्बन्धी निर्णय गर्दा मनोगत भावनालाई काबुमा राखेर, सूचनाको सही विश्लेषणका साथ समयमै लगानीसम्बन्धी व्यवहार गर्नु आवश्यक छ । मानवीय व्यवहारमा आउने भावनात्मक संवेगहरूको प्राविधिक यथार्थताको परीक्षण गर्नु जरुरी हुन्छ । बजार साधारणतया लगानीकर्ताको समग्र मनोविज्ञान, भावनात्मक संवेगसँग जोडिएको हुन्छ । तसर्थ त्यस्तो लगानीकर्ताहरूको समग्र मनोविज्ञानको अध्ययन गर्दा आमलगानीकर्ता अत्यधिक सकारात्मक छन् भने त्यो समय बजारको उच्चबिन्दु हुन सक्छ । आमलगानीकर्ता बजारप्रति अत्यधिक नकारात्मक सोच राख्छन् भने त्यो बजारको तल्लो बिन्दु हुन सक्छ । तसर्थ ज्ञान, सीप र सूचनायुक्त लगानीकर्ताहरूले आमलगानीकर्ताको भावनात्मक संवेगको फाइदा उठाउने प्रयत्न गर्ने गर्छन् । यस्तो अवस्थामा भावनात्मक संवेगलाई पूर्णत: काबुमा राखेर तथ्यपरक लगानीको निर्णय गर्नुपर्छ ।