सुदीप बस्नेत
सोमवार, चैत्र ५, २०७४
5416

मानिस जन्मजात अरूमा निर्भर हुने प्राणी हो । सानो छँदा आमाबुबाको हेरचाहमा, त्यसपछि स्कुल तथा कलेज जाने भएपछि शिक्षकको हेरचाहमा, जागिर गर्ने भएपछि जागिर दिनेको हेरचाहमा र जहिले पनि मानिसले कोही न कोही अरूको सहयोग खोजि नै रहेको हुन्छ । धेरै कुरामा अरूमा भर पर्दा मानिसले आफ्नो नेतृत्व गर्ने क्षमता पनि बिस्तारै गुमाउँदै गइरहेको हुन्छ । यस्ता मानिसहरूले आफ्नो असफलताका लागि प्रायः अरूलाई दोषी देखिरहेको हुन्छ । यी तिनै मानिस हुन् जो आफ्नो जीवनको जिम्मेवारी आफैंले लिन चाहँदैनन् । हाम्रो समाजमा पनि सानैदेखि यस्तै अभ्यास हुने भएकाले गर्दा मानिस वयष्क भइसक्दा पनि प्रायः धेरै कुरामा परनिर्भर हुन्छ । यसो लेख्दै गर्दा मैले भन्न चाहेको परनिर्भरता हुनु नै हुँदैन भन्ने पनि होइन । तर, आफ्नो जीवनको जिम्मेवारी आफैंले लिने र महत्वपूर्ण निर्णय लिनुपर्दा आफ्नै सुझबुझले गर्न सक्ने क्षमता हुनु पर्छ भन्ने हो । जीवनको यही कलालाई नेतृत्व क्षमता भनिन्छ । पश्चिमा मुलुकहरूमा बच्चाहरूलाई जिम्मेवार बनाउन र उनीहरूको नेतृत्व विकास गर्नका लागि विभिन्न किसिमका क्रियाकलाप तथा प्रशिक्षणहरू सानै उमेरदेखि दिइन्छ र निश्चित उमेर भएपछि आफ्नो जीवन आफ्नै तरिकाले बाँच्नुपर्ने बाध्यता हुन्छ । तर, हाम्रा जस्ता मुलुकहरूमा त्यस्तो अभ्यास नभएको देखिन्छ । यसरी नेतृत्व क्षमता घटेर जाँदा जब मानिस जागिर वा आफ्नो व्यवसाय गर्न सुरु गर्छ, त्यहाँ ऊ जति प्रभावकारी हुनुपर्ने हो त्यो हुन सक्दैन र उत्पादकत्व पनि घटेर जान्छ । नेतृत्व क्षमता त्यो गुण हो, जुन जो–कोहीले पनि सिक्न सक्छ । नेतृत्व क्षमतालाई जति व्यावहारिक रूपमा प्रयोग गर्दै लग्यो त्यति नै यो क्षमतामा वृद्धि गर्न सकिन्छ । आज म यहाँहरूसँग कुशल नेतृत्व गर्नका लागि चाहिने पाँच महत्वपूर्ण गुणहरूको विषयमा चर्चा गर्न चाहन्छु ।

निर्णय गर्न सक्ने क्षमता
निर्णय गर्न सक्ने क्षमता कुशल नेतृत्व गर्नका लागि चाहिने महत्वपूर्ण गुण हो । नेतृत्व गर्ने व्यक्तिले सही निर्णय सही समयमा लिन सक्नुपर्छ । धेरै मानिस निर्णय गर्न नसक्नुको कारणले गर्दा जीवनमा धेरै पछि परिरहेका हुन्छन् । मानिस कुनै पनि महत्वपूर्ण निर्णय गर्दा धेरै जनासँग सल्लाह लिइरहेको हुन्छ । आवश्यक र अनावश्यक सल्लाह लिइरहँदा मानिस आफैं भ्रमित भई सही निर्णय लिन सक्दैन । त्यसैले सही निर्णय मानिसले आफ्नो अनुभवबाट सिकेर तथा सही व्यक्ति (जो जुन विषयमा निपुण छ) सँगबाट प्राप्त भएको सल्लाहलाई विचार गरेर मात्र लिनुपर्छ । निर्णय गर्ने क्षमताले नै नेतृत्वलाई गति दिन्छ ।

डरको व्यवस्थापन
मानिसमा हुने डरको भावनालाई उचित व्यवस्थापन गर्न नसक्दा निर्णय गर्न सक्ने क्षमता तथा मानिसमा भएको रचनात्मकतामा ह्रास आउन सक्दछ । डरको भावनाले मानिसको जोखिम उठाउन सक्ने क्षमतालाई नष्ट गरिदिन्छ । नेतृत्व गर्ने मानिसले आफ्नो क्षमता हेरेर जोखिम उठाउनुपर्ने हुन्छ, तर धेरै मानिस कपोलकल्पित डरका कारण निर्णय गर्दैनन् । एउटा अध्ययनअनुसार हामीभित्र आउने जति पनि डर छ, त्यसमा ८५ प्रतिशतभन्दा बढी डर काल्पनिक मात्रै हुन्छन्, जो–कोही पनि वास्तविकतामा आउन सक्दैनन् । त्यही वास्तविकतामा आउन नसक्ने डरका आधारमा निर्णय गर्न नसक्दा मानिसले धेरै अवसर पनि गुमाइरहेको हुन्छ । त्यसैले नेतृत्व क्षमतालाई वृद्धि गर्न डरको उचित प्रबन्धन गर्नु जरुरी छ । कुनै पनि निर्णय गर्दा पूर्ण रूपमा सचेत अवस्थामा रही निर्णय गर्नुपर्छ, न कि डरका कारणले आतंकित भएर ।

भावनात्मक बुद्धि
नेतृत्वमा हुने सबैभन्दा महत्वपूर्ण क्षमता भनेको मानिस र मानिसको भावनालाई बुझ्न सक्नु पनि हो । सबै सोच र विचार भएका मानिसलाई मिलाएर एउटै नेतृत्वमा अगाडि बढाउन सक्नु नेतृत्वको सबैभन्दा ठूलो चुनौती हो । मानिसलाई उत्प्रेरित गर्न सक्नु, उचित सम्मान गर्नु, मानिसको क्षमताको कदर गर्नु तथा प्रोत्साहन दिनु र विभिन्न किसिमका सफलता तथा असफलताको भावनालाई व्यवस्थापन गर्नु भावनात्मक बुद्धिको प्रयोग गर्नु हो । डेल कार्नेगी फाउन्डेसन, हफिङ्टन पोस्ट र बोस्टन कन्सल्टिङ गु्रपको संयुक्त अध्ययनअनुसार मानिसको सफलतामा मानिसको आईक्यूको हिस्सा १५ प्रतिशत मात्रै हुन्छ भने ८५ प्रतिशत हिस्सा उसको मानिससँग गर्ने व्यवहारमा निर्भर गर्छ । त्यसैले सफल नेतृत्वकर्तासँग व्यावहारिक रूपमा मानिसलाई बुझ्न सक्ने क्षमता रहेको हुन्छ । मानिसलाई राम्रोसँग सुन्ने र उसलाई बुझ्नका लागि सुन्ने, मानिसको फरक–फरक मानसिक अवस्थामा फरक तरिकाले सकारात्मक व्यवहार गर्ने, मानिसलाई अघि बढ्न उत्प्रेरणा दिने तथा मद्दत गर्ने बानीले आईक्यूमा वृद्धि गर्न सकिन्छ ।

ठूलो सोच
मानिस त्यहीं पुग्छ जति उसको सोचको परिधि छ । एउटा सफल नेतृत्वको सोच जहिले पनि ठूलो हुन्छ । ठूलो सोचले मानिसलाई ठूलो काम गर्न उत्प्रेरित गर्छ । नेता सानोतिनो नकारात्मकतामा अल्झिएर आफ्नो समय खेर फाल्दैन । बरु ठूलो लक्ष्य राखी त्यसलाई प्राप्त गर्न मेहनत गरिरहन्छ । धेरै मानिसले उसको ठूलो लक्ष्यमा आफ्नो अविश्वास देखाइरहन्छन् तर सफल नेताले जहिले पनि चरम नकारात्मकता हुँदाहुँदै आफ्नो लक्ष्यमा विश्वास राख्छ र संघर्ष गरिरहन्छ । यो नै त्यो गुण हो जसले एउटा साधारण मानिसलाई असाधारण नेता बनाउँछ । सानो सोचले जीवनमा ठूलो सफलता प्राप्त गर्न प्रायः असम्भव हुन्छ ।

व्यावहारिक हुनु
सफल नेता पथप्रदर्शक मात्रै नभएर, त्यो बाटोमा आफू पनि हिँडेको हुन्छ । नेताले खालि अरूलाई यो गर्नुपर्छ, त्यो गर्नैपर्छ मात्र भन्दैन, बरु आफैं ले कतिपय कुरा गरेर उदाहरण बन्छ । महात्मा गान्धीलाई एउटी आमाले आफ्नो बच्चालाई धेरै गुलियो नखाऊ भनिदिनुस् भन्दा तपार्इं १५ दिनपछि फेरि आउनुस् भनी पठाउँछन्, अनि १५ दिनपछि तिनै महिला फेरि आफ्नो बच्चा लिएर गान्धीकोमा पुग्दा गान्धीले भन्छन्, “बाबु धैरे मिठाई नखानु, यसले तिम्रो शरीरलाई राम्रो गर्दैन ।” तर यही कुरा भन्न किन १५ दिनपछि बोलाउनुभयो भनेर महिलाले गान्धीलाई प्रश्न गर्दा गान्धी भन्छन्, “पहिला मैले पनि त गुलियो खान छोड्नुपुर्या नि !” त्यसैले नेतृत्वको सबैभन्दा महत्वपूर्ण पाटो भनेको आफैं ले गरेर उदाहरण बन्नु पनि हो ।
नेतृत्व गर्ने सीप जो–कोहीले पनि सिक्न सक्छन् । माथि उल्लेख गरिएका पाँच व्यावहारिक गुण नेतृत्व क्षमतामा अभिवृद्धि गर्न नभइनहुने गुणहरू हुन् । यी गुणहरूलाई जति बढी व्यवहारमा प्रयोग गरिन्छ, त्यति नै निपुणता प्राप्त गर्न सकिन्छ । कुनै कुरा जान्नु मात्रै ठूलो कुरा होइन, त्यसलाई प्रयोगमा ल्याउन सक्नु मानिसको लागि ठूलो चुनौती हो । माथि लेखिएका कुरा त्यस्तो गाह्रो पनि छैन, जुन प्रयोगमै आउन पनि नसकोस् । सफल नेता जहिले पनि दिनमा विश्वास गर्छ । ऊ आफ्नो मात्रै प्रगतिका बारेमा सोच्दैन, अरूको प्रगतिमा पनि उ त्यति नै खुसी हुन्छ र सहयोग गर्छ ।