घनेन्द्रबहादुर श्रेष्ठ
शुक्रवार, जेठ १६, २०७७
575

राजनीतिक सिद्धान्त र विचारका कुरासमेत केवल जनतालाई झुक्याउने र आफू सत्तामा आसीन हुने मात्र हो कि भन्ने भएको छ ।

संसारमा महामारीको भाइरसले चुनौती दिइरहेको मानव समाजका बीचमा भने नेपालको राजनीतिमा एकाएक तातिएको छ । नागरिकले नेपालका राजनेताहरूको गैरजिम्मेवारीपनालाई बेमौसमीको बाजा भन्ने विचारहरू अभिव्यक्त भएको पाइन्छ । खासगरी यो बेमौसमीकोे बाजा भन्ने शब्दको उच्चारण सम्माननीय प्रधानमन्त्रीले यही बीचमा विपक्षीहरूले सरकारको कामकारबाहीको आलोचना गर्ने क्रममा व्यक्त गर्नुभएको थियो । हिजोआज बजारमा मिडियामा तथा अन्य सञ्चारमाध्यममा प्रशस्तै यो शब्दको उच्चारण भएको सुन्न–पढ्न सकिन्छ । कोभिड–१९ को संक्रमणको प्रभाव अन्य मुलुकमा जस्तो आक्रामक नभए पनि नेपालजस्तो देश जहाँ आवश्यक साधनस्रोतको समेत अभाव भएको ठाउँमा यसरी रोग नियन्त्रणको अधीनमा रहनलाई नेपाल सरकारले चालेका कदम, नेपाली नागरिकले पालना गरेको अनुशासन तथा नागरिक समाजको भूमिका आदिलाई हेर्ने हो भने सराहनीय नै ठान्नुपर्छ ।
यसरी समग्र मुलुकभर बन्दाबन्दीको अवस्थाबाट दैनिक श्रम गरेर आफ्नो घरको चुलो चलाउनेहरूको भने बिजोगको स्थिति नै छ, हुन त स्थानीयदेखि केन्द्र सरकारका पदाधिकारीहरूले कसैले भोकभोकै बस्न नपर्ने र मर्नु नपर्ने भन्ने आदर्शका कुरा गरे तापनि दैनिक रूपमा नेपालको सञ्चार माध्यमद्वारा देखाइने दृश्यले संवेदनशीलता बढाएको छ । नेपालमा राजनीति गर्न अर्थात् जनताको सेवा गर्न भनेर खुलेका यत्रा राजनीतिक दलहरू र यिनका लाखौं कार्यकर्ता छन्, तर यो महामारीको समयमा व्यवस्थित तवरले परिचालित भएको पाइएन ।

त्यसैगरी हरेक स्थानीय स्तरमा नागरिकको विवरण राख्ने परम्पराको समेत विकास नभएकाले कसले कति खेर कति राहत लग्यो भन्ने समेत तथ्यांक व्यवस्थित भएको पाइएनन् । साथै एक थरीहरूले यही मौका देखाएर देशी–विदेशीहरूसँग राहत संकलन गरी सस्तो लोकप्रियताका लागि कार्य गरेको समेत पाइएको छ । हुन त नेपाल सरकारले राहत वितरणको कार्यलाई जसलाई जहाँ मनलाग्यो त्यहाँबाट बाँड्न नदिने गरी कार्यविधि बनाएको छ, तर पनि पहुँचको भरमा यस्ता कार्यहरू समेत गरेको पाइन्छ । यस्ता खालको महामारी तथा विपत्तिमा परिचालित हुने गरी राजनीतिक दलका युवाहरूलाई परिचालन गर्न सकिने थिए, तर नेपालको राजनीतिक दलका नेताहरू नितान्त व्यक्तिगत स्वार्थमा आफु कसरी सत्तामा जाने भन्ने खेलमा रहेको पाइएको छ ।
यस्तो महामारी र चपेटामा रहेका श्रमिक व्यवसायीहरू तथा नागरिकको दैनिकी हुने समस्यादेखि दीर्घकालीन आइपर्ने समस्याहरूको विषयमा चिन्तन, बहस र छलफल गरी निष्कर्ष निकाल्नुपर्नेमा कसरी प्रधानमन्त्रीलाई अल्पमतमा पार्ने र आफू प्रधानमन्त्री बन्ने भन्ने घृणित कार्यमा संलग्न भएको देखिएकोमा नेपाली नागरिकमा स्थायी सरकारको परिकल्पना गरी दिइएका मतहरूको दुरुपयोग हुन लागेको हो कि भन्ने आशंका छ । यदि नेताहरूले यस्तो बहुमत तथा अल्पमतको खेल नखेलेको भए प्रधानमन्त्रीले समेत नचाहिँदो किसिमका अध्यादेशहरूको खेलोमेलो गर्नुपर्ने थिएन भन्ने लाग्छ । साँच्चै प्रधानमन्त्रीले वा सरकारले गलत कानुन ल्याउन खोजेको हो भने नागरिक आवाजको परिणामस्वरूप अध्यादेशहरू फिर्ता भइसकेको स्थितिमा फेरि बखेडा निकाल्न खोज्नु भनेको देशमा अस्थिरता जन्माउनु हो र मुुलुकलाई पुनः द्वन्द्वमा धकेलेर आमनेपालीको समृद्धिको सपनाहरूलाई बीचमा नै तुहाउन खोज्नुभन्दा अन्य केही होइन । मुलुकको विकास एकाएक सिटामोल खाएजस्तै गरी हुने होइन, यसका लागि कानुन निर्माण तथा नीति योजनाको खाँचो हुन्छ, जुन विगतको एक वर्षभरि कानुन निर्माणमा सरकारले समय खर्चनुपरेको यथार्थ हो भने दोस्रो वर्षबाट विकास–निर्माणका कार्य हुन थालेको र नेपाली नागरिकले बल्ल विकासको प्रतिफल घरआँगनमा देख्न थालेको यो समयमा आएको अकल्पनीय महारोगका कारणले तुसारापात भएको छ ।
यस्तो संगिन अवस्थामा नेताहरूले व्यक्तिगत स्वार्थमा लागेका देख्दा हामी सर्वसाधारणहरू वास्तवमै अचम्मित भएका छौं र नेपालको राजनीतिमा एक–अर्कामा विश्वास जागेको रहेनछ भन्ने निष्कर्षमा पुगेका छौं । राजनीतिक सिद्धान्त र विचारका कुरासमेत केवल जनतालाई झुक्याउने र आफू सत्तामा आसीन हुने मात्र हो कि भन्ने भएको छ । लोकतन्त्रमा नागरिकको आपसी सम्झौताबाट अधिकार प्रत्यायोजित गरी सत्ता सञ्चालन भएको हुनुपर्ने हो, तर नेपालमा व्यक्तिले सत्ता प्राप्त गरेपछि सबै कुराको अन्त्य भएको भन्ने रहेको देखिन्छ । यसैको परिणामबाट के देखिन्छ भने वि.सं. २०४६ पछिको परिवर्तपछि नेपालमा बढीमा दुई वर्ष एक व्यक्तिको सरकार चलेको अवस्था छैन र त्याग, विश्वास र सहयोगको भावनाको विकास भएको पाइँदैन । यस्तो तरिकाले नेपाली नागरिकले कसरी सरकारको विश्वास गर्ने भन्ने प्रश्नहरू तेर्सिएका छन् । नेपालको संविधान, २०७२ ले दुई वर्षसम्म सरकारको विरुद्धमा अविश्वासको प्रस्ताव लैजान नपाउने व्यवस्था गरेकाले चुपचाप बसेको नेताहरू एकाएका २ वर्ष पूरा गरेपछि सत्ता फेर्नतिर लाग्ने हो भने राजनीतिक पार्टीमा एक–अर्कामा विश्वास र अठोट छैन भन्ने देखिन्छ । हो, सरकारले अनैतिक र समाजमा असर पर्ने खालको कार्य गरको खण्डमा सत्ता फेर्न सकिने नै हुन्छ, तर हालसम्मको काम–कारबाहीलाई हेर्ने हो भने खासै त्यस्तो अवस्था सिर्जना भएको छ भन्ने लाग्दैन । त्यसकारण यो सत्ताको पछाडि नलागी देशको विकास–निर्माण तथा उत्पादनको कार्यमा आमनागरिक कार्यकर्ताहरूलाई परिचालन गर्न राम्रो हुने देखिन्छ ।
विश्वभर फैलिएको कोभिड–१९ को प्रभाव तथा असरले अन्तर्राष्ट्रिय श्रम संगठनको भनाइअनुसार विश्वमा १ अर्ब ६० करोड मानिस बेरोजगार हुने प्रक्षेपण गरिसकेको छ भने विश्व खाद्य संगठनले खाद्य संकट आउन सक्ने अनुमान गरेको अवस्था छ । त्यसैगरी विश्वको आर्थिक वृद्धिदरमा केवल ३ प्रतिशत रहने र सयुक्त राज्य अमेरिकाजस्तो मुलुकले आर्थिक वृद्धिमा ऋणात्मकता बेहोर्नुपर्ने अन्तर्राष्ट्रिय मौद्रिक कोषले समेत जनाएको छ । विज्ञहरूले सन् १९३० पछिको समयमा आर्थिक मन्दी भएजस्तै अवस्था अमेरिकाले भोग्नुपर्ने र दोस्रो विश्वयुद्धपछिको आर्थिक मन्दी संसारले खेप्नुपर्ने, जसका कारणले नेपालजस्ता मुलुकहरूलाई गम्भीर आर्थिक समस्या आइलाग्ने भन्नेछ । यस्तो संकटपूर्ण अवस्थामा नागरिकको जीवनयापन कसरी उकास्न सकिन्छ र नेपाले आफ्नो कृषिजन्य उत्पादनमा नागरिकहरूलाई उत्साहित र प्रोत्साहित कसरी बनाउन सकिन्छ भन्नेतर्फ ध्यान दिनुपर्ने अवस्थामा नेताहरू भने आफ्नो सेवा–सुविधा र सत्ताको पछि लाग्नाले नागरिकमा निराशा छाएको छ ।
देशको अर्थतन्त्रका अवयवहरू ठप्प भएका छन्, साथै बन्दाबन्दीपछि कलकारखानाहरू सुुचारु भएर बजार व्यवस्थापन हुने अनुमान गरिए तापनि नेपालको पर्यटन क्षेत्रको सुधारका लागि केही वर्ष लाग्ने अनुमान गर्न सकिन्छ । पर्यटन क्षेत्रमा सानोभन्दा सानो पँुजी लगानी गरेर मालिक भएका र स्वरोजगार गरी बसेका व्यक्तिहरू भने यो क्षेत्रबाट पलायन नै हुनुपर्ने अवस्था आएको छ । साथै ठूला–ठूला लगानी गर्ने व्यवसायीहरूको सपना चकनाचुर भएको छ । यस्तो अवस्थामा राज्यले पर्यटन व्यवसायी, श्रमिक तथा स्वरोजगारीहरूलाई बचाउन सक्ने आधारका बारेमा छलफल र बहस गरिनुपर्ने हो । विश्वका अन्य मुलुकमा व्यवसायीहरूलाई तथा श्रमिकहरूलाई बचाउन सक्ने गरी राहतको घोषण भएका छन्, जस्तो ः बेलायतमा ४ सय अर्ब, फ्रान्समा ५० अर्ब, स्पेनमा २ सय २० अर्ब, अस्ट्रेलियामा ७७ अर्ब, स्वीडेनमा ३० अर्ब, न्युजिल्यान्डमा १२ अर्ब, सिंगापुरमा ७० अर्ब तथा अमेरिकामा ५ सय ५० अर्ब अमेरिकी डलर नागरिकको पुनरुत्थान गर्न सरकारले व्यवस्थापन गरिसकेको अवस्था छ ।
महामारीबाट नागरिकलाई बचाउन हरतरहका व्यवस्थापनमा लाग्नुपर्नेमा राजनीतिक दलको आ–आफ्नै स्वार्थका कारणले उत्पन्न गरेको परिस्थितिले व्यवसायीहरूले व्यवसायलाई निरन्तरता दिन सक्ने अवस्था नरहेको भन्न थालेका छन् । कतिपय साना मुलुक जहाँको मुख्य आयआर्जनको स्रोत पर्यटनमात्र भएकोमा राज्यमा भएको साधनस्रोतले नभ्याउने भएमा विदेशी सरकारसँग लोन तथा अनुदान सहयोग समेत मागेर व्यवसाय तथा श्रमिकलाई जोगाउने रणनीति अपनाएको देखिन्छ । नेपालको पर्यटनले राष्ट्रिय आयमा प्रत्यक्ष ३ प्रतिशतको मात्र योगदान गरे तापनि अप्रत्यक्ष रोजगारीको सिर्जना गरेको अवस्था छ ।
यो अवस्थामा पर्यटन व्यवसायीहरूले धेरै महŒवकांक्षी मागहरू राखेको अवस्था छैन, केवल श्रमिकको व्यवस्थापनलाई सहजीकरण गरियोस् भन्ने हो । केही समयका लागि श्रमिकलाई वेतलबी विदामा राख्न सक्ने गरी निर्देशिकाहरू जारी गर्ने र पर्यटन व्यवसायले गति लिन थालेपछि श्रमिकलाई रोजगारमा स्थापित गर्ने भन्ने हो । त्यसैगरी बैंकको ब्याजमा सहजीकरण तथा कर्जा पुनर्तालिकीकरणको व्यवस्था गर्नपर्ने आवश्यकता देखिन्छ । यसो गर्न सकेमा नेपालका पर्यटन व्यवसायीहरूले व्यवसायल धान्न सक्ने आधारको निर्माण गर्न सक्ने हुन्छ ।
यसकारण पर्यटन व्यवसायीहरूको अनुरोध नेपाल सरकार, नागरिक समाज तथा श्रमिक संगठनहरूलाई र अन्य सरोकार निकायहरूमा अनुरोध हो, किनकि पर्यटन व्यवसाय मानवीय भावनात्मक सम्बन्धबाट स्थापित हुने र यो महामारीले एकातिर मानिसहरूमा मानसिक तनाव छ भने अर्कातिर आर्थिक रूपमा कमजोर हुने भएकाले नेपाल भ्रमणमा आउने पर्यटकहरूले मानसिक रूपमा तयार भएर नेपाल भ्रमण गर्न आउन र सोच्न समेत समय लाग्ने निश्चित छ ।
नेपालको आन्तरिक पर्यटनलाई ध्यान दिन आवश्यक उत्प्रेरित योजनाहरूलाई व्यवस्थित गर्न सक्नुपर्छ र विशेष गरी इन्सेन्टिभ प्याकेजको व्यवस्थापन गर्न आवश्यक छ, जसका लागि स्थानीय सरकार, प्रदेश सरकार र केन्द्र सरकारको समन्वयमा एक प्रदेशबाट अर्को प्रदेशमा गई सम्पन्न गर्ने बैठक तथा सेमिनार र कन्फरेन्सहरूलाई विशेष सहयोगको व्यवस्थापन गरी केही राहत दिन सकेमा आन्तरिक पर्यटनमा समेत टेवा पुग्न सक्ने देखिन्छ । अन्यथा व्यवसायीहरूले व्यवसायलाई कि बेच्नुपर्ने वा बन्द गर्नुपर्नेसम्मका कुराहरू आउन सक्नेतर्फ समयमै सचेत हुन आवश्यक छ ।