रमेश भट्टराई
बिहिवार, जेठ ८, २०७७
433

  कोरोना महामारीले व्यापार, उद्योग, यातायातलगायतका विविध क्षेत्र जसरी नै शैक्षिक जगत्लाई प्रभावित तुल्याएको छ । मुखमा आइपुगेर अकस्मात् रोकिएको एसईई परीक्षादेखि विश्वविद्यालय तहसम्मका पढाइ र परीक्षा रोकिएकामा चिन्ता बढ्दै जाँदा उत्तम विकल्प खोज्नु परिस्थितिगत बाध्यता पनि हो । शिक्षा र सरोकारवालाहरूको समर्थन तथा एउटै विकल्पका रूपमा अहिले ‘अनलाइन कक्षा’ सञ्चालनका कुरा आइरहेका छन् । विद्युत् र इन्टरनेटको पहुँच भएका मूलतः सहरी क्षेत्रहरूका लागि यो उत्तम उपाय हो ।
प्रविधिको वैकल्पिक तथा नवीन प्रयोगको एउटा थालनी पनि हो । यदि सबै क्षेत्र र तहमा यस प्रक्रियालाई प्रभावकारी बनाउने वातावरण र त्यो स्तरको ज्ञान भएमा प्रविधिमैत्री शिक्षाका कुरालाई अपनाउनुमा बुद्धिमानी हुन्छ । तर, नेपालमा ग्रामीण क्षेत्र अझैँ  पनि टुकी युगमा रहेको तीतो यथार्थतालाई शिक्षा मन्त्रालय तथा विश्वविद्यालय लगायतका सबै शैक्षिक विषयमा सरोकार राख्ने निकायले मिहिन रूपमा सोच्नु आवश्यक छ ।

सहरी क्षेत्रमा पनि बिजुली आपूर्तिको ठेगान हुँदैन । अहिलेकै अवस्थामा सबै विद्यार्थीलाई एकमुस्ट पारेर भेला गरी प्रभावकारी कक्षा सञ्चालन गर्ने तथा पढाइलाई गति दिने कुरा हाम्रो नेपालका लागि अर्को समस्या रहेको देखिन्छ ।एसईई तहका लागि विभिन्न विकल्पका साथमा ‘जुम डट युस’, ‘टेलिभिजनद्वारा शिक्षण’, ‘रेडियो कार्यक्रम’ लगायतका विकल्पहरू प्रयोगमा रहेको बुझिन्छ । धादिङस्थित आदर्श बहुमुखी क्याम्पसले स्नातकोत्तर तहमा विगतदेखि नै प्रत्यक्ष कक्षाका साथमा ‘गुगल क्लास रुम’, ‘इज्जी क्लास’ लगायतका एप्सको माध्यमबाट पठनपाठनमा सहजीकरण गर्ने कार्य गरिरहेको छ । सामाखुसी इङ्गलिस बोर्डिङ (सेब) स्कुलले अहिले कक्षा ८ देखि माथिका विद्यार्थीलाई ‘जुम डट युस’ एप्सद्वारा कक्षा सञ्चालन गरिरहेको छ । यस्तै अन्य विद्यालय तथा क्याम्पसले पनि अनलाइन प्रविधिलाई अहिलेको आवश्यकता महसुस गरिरहेका छन् ।
‘जुम डट युस’ एप्सद्वारा प्रश्न राख्न तथा लेखेर राखिएका सामग्री हेरेर सुझाव दिन सकिने हुँदा पनि सम्भवतः यो राम्रो तरिका बनेको पनि देखिन्छ । यसका अतिरिक्त विश्वले अपनाइरहेका अभैm सहज र प्रभावकारी तौरतरिकाहरू भेट्न सके त्यसलाई पनि खोज्नु अबको आवश्यकता अवश्य हो ।यसो भनिरहँदा यी प्रविधिहरू केवल इन्टरनेट सुविधा भएपछि मात्र सहज हुन्छन् । प्रविधिमैत्री शिक्षण नयाँ ढाँचाको अध्यापन शैली भएकाले पनि नहुनु मामाभन्दा कानो मामा जाति भनेजस्तो त हुन्छ । तथापि, हाम्रो देशका अधिकांश सहरी क्षेत्रबाहेकका दूरदराजका गाउँमा रेडियोसम्म राम्ररी बज्न सक्दैन । विशेष गरेर बजारी केही क्षेत्रबाहेकमा बिजुलीको आपूर्ति निरन्तर हुँदैन । हावाहुरी, झरी–बादल भएर वातावरण फेरबदल भइसक्दा बत्ती जान्छ । त्यसो नभए पनि बत्ती जाने–आउने कुराको कुनै ठेगान हुँदैन । यो वास्तविक समस्यालाई नियाल्ने हो भने नेपालल सरकारले पहिला पूर्वाधारका विकास गर्ने अनि आदेश दिने गरेको भए त्यो तरिका मिल्थ्यो होला । पढाउँदै गयो— बीचैमा बत्ती जान्छ । सबैको घरमा इन्भटर, सोलार आदिको सुविधा त हुँदैन । परिणामतः पढ्ने पढाउनेलाई नै बाधा उत्पन्न हुन्छ । झिँजो महसुस हुन्छ ।
गत साल पनि एसईईका विद्यार्थीलक्षित भएर मूलतः अनिवार्य विषयलाई पढाइएका सामग्रीलाई युट्युबतिर राखिएको थियो ।एकान्तवास (लकडाउन) को परिस्थितिलाई नजरअन्दाज गरेर त्रिभुवन विश्वविद्यालयले अनलाइन कक्षा सञ्चालनार्थ सूचना जारी गरे पनि सायद नेपाल र नेपालीका समस्याका विषयमा ध्यान दिइएको देखिँदैन । वास्तवमा अभैm पनि नेपालमा प्रविधि जान्ने र प्रयोग गर्ने ज्ञान दूरदराजका नागरिकसँग छैन । यस कुरालाई पनि नकार्न सकिँदैन ।यो समय सबैजसो फुर्सदमै छन् । घरमा बसिरहँदा पढ्ने वातावरण भएमा पक्कै राम्रो कुरा हुन्छ नै । तर,इन्टरनेट चलाउने भए पनि सबैको आफ्नै राउटर त हुँदैन । सबैसँग गुणस्तरीय नेट पनि त छैन । त्यसै त आजभोलि धेरैले प्रयोग गर्ने हुँदा पनि यसको गतिमा द्रुतता हुँदैन । इन्टरनेटको पहुँच बाहिर रहेकाहरूका लागि अनलाइन कक्षा चिन्ताको विषय हुन्छ । यो प्रविधि आकाशको फल आँखातरि मर भनेजस्तो मात्रै हुन्छ । यदि डाटा लिएर नै भए पनि कक्षामा सहभागी हुन्छु भन्ने हो भने यो अवस्थामा मोबाइलमा पैसा राख्नै मुस्किल छ । एकातिर पढाइ भइरहेको छ, अर्कातिर आपूm सहभागी हुन सकिएको छैन । यसले औपचारिक कक्षा सञ्चालन गर्ने कुरामा मनोवैज्ञानिक असर पर्न सक्छ ।
परिणामतः इन्टरनेटको पहुँच नभएका कारणले नै विद्यार्थीहरूले पढाइ छोड्ने परिस्थिति बन्न सक्छ । बजार–व्यापार, यातायात बन्द भएका कारण गाउँ–गाउँमा रिचार्ज कार्डको अभावमा दूरदराजका धेरै मानिसमा समस्या छ । सबैसँग अनलाइन रिचार्ज गर्ने ज्ञान र सुविधा छैन पनि । यदि कार्ड पाए पनि डाटा लिँदा त ठूलै रकम खर्च गर्नुपर्ने हुन्छ । यो विपन्न वर्गका लागि अर्को समस्या हो । अर्को कुरा, सबै विद्यार्थीका हातमा त्यो प्रकृतिको मोबाइल या अन्य वैकल्पिक साधन नहुने समस्या पनि ग्रामीण क्षेत्रमा त अद्यापि छ । सम्भवतः एकान्तवास (लकडाउन) को समयावधि थपिँदै जाने वर्तमान समस्यालाई अनुमान लगाउँदा अब शैक्षिक जगत्लाई सञ्चालन गर्ने प्रभावकारी विकल्पहरूलाई हाम्रो देशको वास्तविकतासँग गाँस्नु आवश्यक छ । अहिले धेरैजसो सहरमै बसेर पढ्ने विद्यार्थी पनि गाउँतिरै फर्किसकेको अवस्था छ । यसरी हेर्दा ‘अनलाइन कक्षा सञ्चालन गर’ भनेर मात्र हुँदैन ।
आवश्यक पूर्वाधार विकास तथा सुविधा प्रदान गर्ने विषयमा पनि आ–आफ्नो क्षेत्रबाट कदम चाल्नु अनिवार्य देखिन्छ :–गाउँपालिका वा स्थानीय सरकारलगायत सम्बन्धित सरोकारका निकायका बीचमा समन्वय    गरेर निःशुल्क इन्टरनेट सुविधा प्रदान गर्ने, अथवा– विद्यार्थीको नाम र नम्बर क्याम्पसको सिफारिसका आधारमा दर्ता गराई डाटामा छुट दिने,– विद्युत आपूर्तिका लागि स्थानीय सरकार, सम्बन्धित विद्युतको कार्यालय तथा क्याम्पस वा विद्यालयसँग समन्वय गर्ने,–डाटा लिएर इन्टरनेट चलाउनुपर्ने विपन्न विद्यार्थीको अवस्थालाई हेरेर स्थानीय सरकार तथा अन्यकुनै सहयोगी निकायसँग सहकार्य गर्ने,– इन्टरनेटको पहुँच वा मोबाइल डाटा दुवै अवस्था नहुनेका विषयमा विशेष ध्यान दिएर मात्र औपचारिक रूपमा यो अनलाइन शिक्षा कार्यक्रम सञ्चालन गर्ने ।उल्लिखित पक्षहरूमा इन्टरनेट र विद्युत् आपूर्तिका समस्या सोचनीय छन् । विश्वमा बढेको संक्रमणसँगै छिमेकी भारतमा बढिरहेको कोरोनाका बिरामीको वृद्धिलाई हेर्दा शैक्षिक सत्रपछि धकेलिने अवस्था छ । अर्कातर्पmबाट हामीले कहिलेकाहीँ भन्दै आएका छौँ– “बालबच्चाले मोबाइल र फेसबुकका कारणले पढाइ बिगारे ।” यदि सरकारले इन्टरनेट निःशुल्क बनाउने हो भने त्यो अर्को समस्या बन्न सक्छ । वास्तविकतामा सोच्ने हो भने इन्टरनेट अभिशाप होइन, वरदान साबित तुल्याउनु अभिभावक, शिक्षक तथा अग्रजको दायित्व हो । विद्यार्थीहरू इन्टरनेटबाट संसारको ज्ञानमा अद्यावधिक हुन पनि त पाउँछन् ।
अहिलेकै समयमा नकारात्मक व्यवहार र आचरणका विषयमा अभिभावक चनाखो हुनु चाहिँ अत्यावश्यक छ । विशेष गरेर ग्रामीण क्षेत्र र दूरदराजका विद्यार्थीका अवस्था समेतलाई ख्याल गरेर मात्र यो अनलाइन कक्षा वा अन्य विकल्पलाई प्रयोग गर्न सकिन्छ । ग्रामीण क्षेत्रका विद्यालयीय तहमा निश्चित क्षेत्रका विद्यार्थीहरू पढ्न आउने हुँदा यदि सबैको हातमा सोही अनुकूलको मोबाइल हुने हो भने इन्टरनेट निःशुल्क हुँदा पक्कै सहज रहला ।खुला विश्वविद्यालयले त अनलाइन कक्षालाई प्रभावकारी रूपमा सञ्चालन गर्दै आइरहेको छ । इच्छाशक्तिले पनि यसमा भूमिका निर्वाह गर्छ । तथापि, त्रिभुवन विश्वविद्यालय तहमा अध्ययनरत तथा आङ्गिक र सामुदायिक वा निजी क्याम्पसका विद्यार्थीहरू सबैलाई समेट्ने र कक्षा सञ्चालनलाई प्रभावकारी बनाउने विषयमा माथिल्लो तहबाटै सोच्नुपर्छ । साथमा स्थानीय सरकारले इन्टरनेट र विद्युत उपलब्ध गराउन सक्ने आधारभूत पक्षमा पहिला समन्वय गरिनु आवश्यक देखिन्छ ।