कारोबार संवाददाता
आइतवार, चैत्र ४, २०७४
1301

आजको दिनसम्म पनि नेपाली जनताको रोजीरोटी सहज बनाउने बाटो भनेको कृषि कर्म नै रहेको भए पनि धुलोमाटोसँगको सामीप्य सम्मानजनक, प्रतिष्पर्धी र व्यावसायिक बन्न सकेको छैन । राज्यले कृषिप्रति उदासीनता देखाउँदा यसो भएको हो । यसको मतलब राज्यले कृषिमा लगानी नै गरेको छैन भन्ने होइन, राज्यले कृषिका नाममा लागु गर्ने कार्यक्रम कार्यान्वयन गर्ने मोडलमा केही परिमार्जन गर्नु पर्दछ भन्ने हो । यस्तै, परिमार्जनका आवाजहरू चौतर्फी रूपमा उठिसकेपश्चात् नेपाल सरकारले उच्च पहाड कृषि व्यवसाय तथा जीविकोपार्जन सुधार (हिमाली) आयोजनालाई विगत ७ वर्षदेखि सञ्चालनमा ल्याएको हो । एसियाली विकास बैंकसँगको प्राविधिक तथा आर्थिक सहयोग र नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गतको कृषि उद्यम केन्द्रसँगको साझेदारीमा नेपाल सरकारले यो आयोजना पहिलो चरणमा सञ्चालन गरेको थियो । हाल यो कार्यान्वयनको अन्तिम चरणमा रहेको छ । नेपालका उच्च पहाडी जिल्लाहरूको भौगोलिक अवस्थिति र हावापानीमा उपलब्ध बालीनाली, पशुवस्तु, र जडिबुटीलगायतका विशेष उत्पादनहरूको मूल्य श्रृंखला विकास गरी स्थानीय जनताको आम्दानीमा उन्नति र जीविकोपार्जन पद्धतिमा दिगो सुधार ल्याउने उद्देश्यका यो आयोजना सुरु गरिएको हो । १० हिमाली जिल्लाहरूमा कार्यान्वयनमा आएको यस आयोजनाले उक्त जिल्लाहरूको खेती तथा पशुपालन प्रणालीमा उल्लेख्य सुधार ल्याउन सफल भएको छ । यसबाट हुम्लामा मात्रै सत्तरी वटा फार्महरूको नाममा लगभग ६ करोड अनुदान भित्रिएको छ ।
चौंरी पालनमा पुनव्र्यावसायिकता
हुम्ला जनयुद्धको मारमा परेको बेलामा धेरै युवाहरू कालापहाडको विकल्प रोज्न बाध्य भए । बाँकी युवाहरूमध्ये कोही भारतको उत्तर प्रदेशमा फुरुको तस्करीमा लाग्न थाले, कोही चीनमा जडिबुटी ओसार्न थाले र शेष चाहिँ युद्धमै होमिए । हेर्दा हेर्दै हुम्ला पुरुषविहीन जस्तै बन्यो र सम्पूर्ण घर व्यवहार महिलाहरूको काँधमा आइपर्यो। चौंरी चराउने चेलीहरूको मन कि त छापामार पतिको यादमा कि परदेशीको नाममा गीत गुनगुनाउन थाले र हाँसेको हिमाल अगाडि ठिङ्ग उभिएर सुन्दर भविष्यको राग गुमाएर बैरागी बन्न पुगे । अर्कोतिर चौंरी पालन व्यवसायभन्दा माथि उल्लिखित अन्य बाटाहरूबाट राम्रो आम्दानी हुन थाल्यो । अन्ततः दुवै शिराहरूमा पाइला टेक्नेहरूले चौंरी व्यवसायबाट उन्नतिप्रगति हुने नठाने पछि हुम्लामा चौंरी सकिने अवस्थामा पुगे । तर, जिल्लाका ७ वटा किसानहरूलाई चौंरीपालनका लागि हिमाली आयोजनाले अनुदान दिइसकेपश्चात् चौंरी पालनमा व्यावसायिकता आयो नै, साथै अन्य धेरै किसानहरूले अनुदान पाउनकै लागि भए पनि चौंरी पालन व्यवसाय सुरु गरे । अहिले आएर प्रायः सबै बार्थपाले (लामा) समुदायले पुख्र्यौली पेसा चौंरीपालन व्यवसायलाई राम्रो व्यवसायको रूपमा पुनःस्थापित गराउन सफल भएका छन् ।
रोजगारीमा वृद्धि
अनुदानप्राप्त ७० वटा व्यवसायहरूमध्ये केही व्यवसाय प्राविधिक त्रुटिका कारण समस्यामा रहेका भए पनि अधिकांश व्यवसायीहरूले आफ्ना व्यवसायहरूलाई दिन प्रतिदिन नयाँ उचाइमा पुर्याइरहेका छन् । भेडा, बाख्रा, च्याङ्ग्रा, स्याउ, मह र दुग्धजन्य उत्पादनमा हुम्ला आत्मनिर्भर बन्दै गएको छ । यी उत्पादनहरूको मूल्य श्रृंखलालाई केलाएर हेर्दा उत्पादन संकलन र वितरणका विभिन्न चरणहरूसम्म आइपुग्दा हुम्लीले मात्रै नभएर नेपालगन्ज, सुर्खेत, पोखरा र काठमाडौं बासिन्दाहरूले समेत रोजगारी पाएका छन् । हुम्लामा मात्रै ७० वटा व्यवसायहरूबाट दुई सय दश जनाभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन् । अर्थात्, हिमाली आयोजनाले ७० वटा परिवारका तीन सय पचपन्न जना सदस्यहरूको लालनपालनको प्रत्याभूति गरिरहेको छ ।
खाद्य तथा पोषण सुरक्षामा सुधार
दिनभरि कुरेर बल्लतल्ल प्रतिमहिना पाँच किलो बंगलादेशी उसिना चामलको जिउनार हुने हुम्ला, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तथा विश्व खाद्य कार्यक्रमको तथ्यांकअनुसार खाद्य तथा पोषण सुरक्षामा अति संकटापन्न जिल्ला हो । स्थानीय उत्पादनहरू बाह्रैमास उपलब्ध नहुनु र खाद्य संस्थानबाट चामलबाहेक अरू कुनै खाद्यवस्तु नपाउँदा यस्तो अवस्था सिर्जना भएको हो । तर, पछिल्ला दिनहरूमा अनुदानप्राप्त फार्महरू आधुनिक भएसँगै विभिन्न खाद्यवस्तुहरूको बेमौसमी उत्पादन र भण्डारण सम्भव बनेको छ । ग्रिन हाउस प्रविधिको प्रयोग गरेर पैंतीस सय मिटरको उचाइमा समेत मोनालिसाका गाला पानी पानी पार्ने गोलभेंडाहरू वर्षमा दुई पटकसम्म फलिरहेका छन् । कालापहाडमा काला रात गुजार्ने रहर लाग्दा युवाहरू गर्वले छाती फुल्ने गरी बगरभरि लहरै लहर तरकारी फलाइरहेका छन् । उदास बनेका लेकहरूमा गोठालाहरूले वस्तुभाउ चराउँदै बाँसुरीमा जीवनको लय भर्न थालेका छन् । यसले गर्दा स्थानीय उत्पादनमा उल्लेख्य वृद्धि भएको छ भने बेमौसमी उत्पादन तथा भण्डारणले मानव शरीरलाई आवश्यक पर्ने आहारहरूको उपलब्धतालाई सहज र दिगो बनाएको छ । यसका साथै, आवधिक रूपमा जिल्लाभरि हुने सचेतनामूलक कार्यक्रमहरूले मुख्य भोजनको रूपमा भात खानै पर्ने चलनमा समेत परिवर्तन ल्याएर वैकल्पिक भोजनहरूको प्रयोग बढ्दै आएको छ ।
जलवायु परिवर्तनको बोध
अनुदान प्राप्त गर्न वातावरणीय मूल्याङ्कन प्रतिवेदन, स्थानीय जनताको रोहवरमा प्रहरीको मुचुल्कालगायत विभिन्न वातावरणमैत्री प्रक्रियाहरू पूरा गर्नुपर्ने भएकाले पनि हुम्लाको पर्यावरण तथा पारिस्थितिक प्रणालीमा सुधार आएको छ । पशुपालन गर्नेहरूले चरन क्षेत्र व्यवस्थापन र वृक्षरोपणमा विशेष काम गर्नुपर्ने भएकाले हिजो दिनमा चरन क्षेत्रका नाममा फडानी भएका वनहरू अहिले हराभरा हुँदै आएका छन् । यति मात्रै होइन, धेरै किसानहरू उत्पादन चक्रमा जलवायु परिवर्तनले पार्ने असरबारे सचेत भएका छन् । जस्तो पर्याप्त हिउँ तथा पानी परेन भने समयमा मुना पलाउँदैनन् र समयमा फूल फुल्दैनन्, जसले गर्दा महको उत्पादनमा गिरावट आउँदछ भने महको स्वादमा समेत उत्कृष्टता आउन सक्दैन । हो, यही कुराको बोध किसानहरूमा भएका कारण उनीहरूले जलवायु अनुकूलनका उपायहरू अवलम्बन गर्दै सोही अनुसार उत्पादनको प्रक्षेपण र अनुमान गरेर लगानी गर्दै आएका छन् । मौसमलगायतका प्राविधिक कुराहरूको ज्ञानले उत्पादन र बजार मागको असन्तुलनले बेहोर्नुपर्ने घाटा कम हुने गरेको किसानहरूको अनुभव रहेको छ ।
विश्व बजारमा पहुँच
नेपाल उद्योग वाणिज्य महासंघ तथा यस अन्तर्गतको कृषि उद्यम केन्द्रको पहलमा हुने विभिन्न राष्ट्रिय तथा क्षेत्रीय मेला एवं प्रदर्शनीहरूले स्थानीय उत्पादनलाई अन्तर्राष्ट्रिय प्रचार दिंदै आएका छन् । हरेक वर्ष काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने हिमाली व्यापार मेलाबाट मात्रै पनि धेरै किसानहरूले अन्तर्राष्ट्रिय ग्राहक पाउँदै आएका छन् । तिनै मध्येका एक हुन् मौरी व्यवसायी हरिलाल बुढा । नेपाल र तिब्बतको सिमाना क्षेत्र मेल्छाममा मौरी पालन गरिरहेका बुढाले उत्पादन गरेको मह मौरीले औषधिजन्य फूल तथा बुटीहरूको रस चुसेर उत्पादन गरिएको हुन्छ । गत साल भृकुटीमण्डपमा आयोजना गरिएको दोस्रो हिमाली मेलामा उनीे एउटा चिनियाँ व्यापारीसँग सम्बन्ध गाँस्न सफल भएका छन् । सुरुमा प्रयोगशालामा परीक्षण गरेर मह किनेका ती चिनियाँ व्यापारी अहिले पनि आवश्यक परेको खण्डमा मेल्छामबाटै मह मगाउने गरेको व्यवसायी हरिलाल बुढा बताउँछन् । कृषि उद्यम केन्द्रमार्फत अनलाइन विज्ञापन गरेर पनि सहज राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा उत्पादित वस्तुको बजारीकरण गर्न सजिलो भएको छ । यस्तो सहकार्यले धेरै किसानहरूलाई नेपाल उद्योग वाणिज्य महासंघको निर्यात प्रवद्र्धन कार्यक्रम समेत अवसरको रूपमा प्राप्त गर्न सकिने भएकाले पनि स्थानीय उत्पादनको विश्व बजारमा पहुँच सहज बनेको छ । यी नै सफलताहरूलाई मध्यनजर गरेर यस पछिका आयोजना कार्यान्वयनको मोडेलमा परिमार्जन गर्ने हो कि ?

कमल छत्याल

लेखक हिमाली आयोजनाका जिल्ला कृषि व्यवसाय विशेषज्ञ हुन् ।