कारोबार संवाददाता
शुक्रवार, चैत्र २, २०७४
1886

वित्तीय क्षेत्रको विकास, विस्तार एवं स्थायित्वले मुलुकको आर्थिक समृद्घिमा सहयोग पुर्याउँछ । हामीजस्ता विकासोन्मुख राष्ट्रहरूमा पर्याप्त वित्तीय पूर्वाधारको अभावले औपचारिक वित्तीय सेवाको पहुँचमा उल्लेखनीय विस्तार हुन सकेको छैन । बैंकिङ सेवा सुरु भएको आठ दशक पार भइसक्दा पनि अझै आधाभन्दा बढी मानिसमा औपचारिक वित्तीय सेवाको पहुँच नपुग्नु, अधिकांश बैंक तथा वित्तीय संस्थाहरू सहरी क्षेत्रहरूमा सीमित रहनु र विपन्न तथा सीमान्तकृत वर्गका मानिसले वित्तीय सेवाबाट वञ्चित रहनु वित्तीय क्षेत्रका प्रमुख चुनौती हुन् । वाणिज्य बैंक तथा अन्य वित्तीय संस्थाहरूले न्यून आय भएका मानिसहरूलाई बिनाधितो ऋण नदिने भएको हुँदा ग्रामीण क्षेत्र एवं विपन्न वर्गसम्म पुग्नका लागि लघुवित्त कार्यक्रम निकै उपयागी मानिन्छ । अतः सामाजिक, आर्थिक र भौगोलिक रूपले पछाडि परेका मानिसहरूलाई वित्तीय सेवाको पहुँच  विस्तार गर्दै लघुउद्यमको माध्यमद्वारा सामाजिक–आर्थिक रूपान्तरण गर्न लघुवित्तलाई एउटा प्रभावकारी वित्तीय औजारका रूपमा लिन सकिन्छ ।
हामीकहाँ उद्यमशीलताको संस्कार छैन । चर्काे ब्याजमा लाखौं रुपैयाँ ऋण लिएर लह–लहैमा विदेश जान उत्सुक युवाहरू स्वदेशमै केही उद्यम-व्यवसाय गर्न अग्रसर हुँदैनन् । जागिरको खोजीमा भौंतारिने प्रवृत्ति र मुलुकभित्र पर्याप्त रोजगारीको अभावले लाखौं युवा जनशक्ति वैदेशिक रोजगारीमा जान बाध्य छन् । हरेक दिन लगभग १५ सय युवा जनशक्ति वैदेशिक रोजगारीको खोजीमा नेपालबाट बाहिरिएको अनुमान छ र यस्तो संख्या बर्सेनि तीव्र गतिमा वृद्धि भएको पाइन्छ । बर्सेनि युवा जनशक्तिको विदेश पलायनले कृषिक्षेत्रमा परेको नकारात्मक प्रभावका कारणले सहरीकरण, उर्वर जग्गाको खण्डीकरण, घडेरीकरण र जग्गा बाँझो राख्ने प्रवृत्ति बढ्दै गइरहेको हुँदा यसलाई निरुत्साहित गर्नु जरुरी छ । देशमा दिनानुदिन बढ्दै गइरहेको बेरोजगारी समस्या समाधान गर्नका लागि लघुवित्त सेवाको माध्यमद्वारा लघुउद्यम-व्यवसाय प्रतियुवाको आकर्षणमा वृद्घि गरी पर्याप्त रोजगारीका अवसर सिर्जना गर्न सकिन्छ । उद्यमशीलतामा आधारित अर्थतन्त्रले मुलुकलाई आर्थिक समृद्धिको मार्गमा डोर्याउँछ । नेपालको अर्थतन्त्रलाई दिगो एवं सबल बनाउनका लागि रेमिट्यान्स तथा वैदेशिक रोजगारीको परनिर्भरतालाई क्रमशः घटाई आत्मनिर्भर बनाउन कृषि, उद्योग, पर्यटन एवं सेवामूलक क्षेत्रहरूको विकास तथा विस्तार गर्न जरुरी छ ।

न्यून आय भएका मानिसहरूलाई लघुवित्तले बिनाधितो लघुकर्जा प्रदान गर्नुका साथै लघु बचत, लघु उद्यम वा व्यवसाय, लघु बिमा, लघु पेन्सन, लघु विपे्रषण आदिजस्ता सेवाहरू प्रदान गर्छ । व्यावसायिक तथा उत्पादनशील क्षेत्रहरू जस्तै माछापालन, कुखुरापालन, तरकारी खेती, घरेलु उद्योग, व्यापार वा व्यवसाय सञ्चालन आदिजस्ता कार्यमा उत्प्रेरित गर्दै आयआर्जन गर्न र रोजगारीका अवसरहरू सिर्जना गर्न सहयोग पुर्या उँछ । लघुवित्तले समूहमा आबद्ध मानिसहरूलाई वित्तीय शिक्षा प्रदान गरेर व्यावसायिक योजना तर्जुमा गर्न र उत्पादनशील क्षेत्रमा लगानी गर्नका लागि बिनाधितो लघुऋण उपलब्ध गराउँछ । परिणास्वरूप उनीहरूको आम्दानीको स्तरमा वृद्घि भई जीवनस्तरमा सुधार, स्वास्थ्य, शिक्षा, पेसागत स्तर, महिला सशक्तीकरण आदिमा वृद्धि भएको तथ्य विभिन्न अध्ययन–अनुसन्धानले पुष्टि गरेको छ । अतः नेपालजस्ता विकासोन्मुख राष्ट्रहरूमा विशेष गरेर गरिबी घटाउन, रोजगारी सिर्जना गर्न तथा वित्तीय सेवाको पहुँच बढाउनका लागि लघुवित्तको भूमिका महत्वपूर्ण रहन्छ ।
नेपालमा लघुवित्त संस्थाहरूले प्रदान गर्ने सेवाहरू अझै पनि सहज ढंगबाट विपन्न तथा सीमान्तकृत वर्गका मानिसहरूसम्म पुग्न नसकेको र पछिल्लो चरणमा लघुवित्त संस्थाहरू अधिकतम मुनाफा आर्जन गर्ने व्यवसायका रूपमा अगाडि बढेको हुनाले लघुवित्तका कार्यक्रमहरूलाई ग्रामीणमुखी र सेवामुखी बनाउनु जरुरी छ । सहरी क्षेत्रहरूमा केन्द्रित रहेको लघुवित्त सेवालाई ग्रामीण क्षेत्रमा बस्ने विपन्न तथा सीमान्तकृत वर्गसम्म पुर्या उन राज्यले विशेष ध्यान दिनुपर्छ । लघुवित्त क्षेत्रमा देखिएका विसंगति एवं विकृतिहरूको पहिचान गरी यसलाई व्यवस्थित बनाउन वित्तीय संस्थाहरूसँगसँगै नियमनकारी निकाय पनि बेलैमा सचेत हुनुपर्छ । लघुवित्त संस्थाहरूले वित्तीय सेवाको अतिरिक्त वित्तीय साक्षरता, लघु व्यवसाय-उद्यम विकासका लागि आवश्यक सीपमा जोड, महिला सशक्तीकरण, चेतनामूलक गतिविधि आदिजस्ता गैरवित्तीय सेवा प्रदान गरेको खण्डमा लघुवित्तको दायरा फराकिलो बनाउन सकिन्छ ।
आर्थिक वृद्घिका प्रबल सम्भावना रहेका क्षेत्रहरूको पहिचान गरी कृषि, पर्यटन, जलविद्युत्, उद्योग आदिजस्ता उत्पादनशील क्षेत्रमा वित्तीय क्षेत्रको लगानीकेन्द्रित गरी उच्च आर्थिक वृद्घि हासिल गर्न सकिन्छ । कृषिक्षेत्रलाई व्यवसायीकरण एवं आधुनिकीकरण गर्न, पर्यटन क्षेत्रको विस्तार गर्न, युवा–जनशक्तिको पलायन रोक्न र रेमिट्यान्समुखी अर्थतन्त्रको परनिर्भरतामा कमी ल्याई स्वदेशमै रोजगारीका अवसरहरू सिर्जना गर्नका लागि उद्यमशीलताको संस्कृतिलाई प्रवद्र्धन गर्नु जरुरी छ । लघुवित्तले विशेष गरेर हालसम्म महिलावर्गलाई मात्र समेटेको हुँदा वैदेशिक रोजगारीमा जाने सबै युवालाई स्वदेशमै लघुउद्यम वा व्यवसाय सञ्चालनका लागि उत्प्रेरित गर्नु जरुरी छ । बैंक, वित्तीय संस्था र सहकारीमार्फत सहुलियत ब्याजदरमा बिनाधितो शिक्षित एवं अशिक्षित युवाहरूलाई ऋण उपलब्ध गराउनुका साथै तालिम वा सीपका माध्यमद्वारा उनीहरूलाई स्वदेशमा उद्यम वा व्यवसायका लागि आवश्यक वातावरण सिर्जना गर्न सकेमा वैदेशिक रोजगारीप्रतिको निर्भरतामा कमी ल्याउन सकिन्छ ।
बैंक तथा वित्तीय संस्थाको शाखा विस्तारसँगै बैंकिङ सेवामा विस्तार भए तापनि वित्तीय पहुँचमा उल्लेखनीय सुधार आउन सकेको छैन । जबसम्म वित्तीय सेवाको पहुँच सबै वर्ग र समुदायका मानिसहरूसम्म सहज ढंगबाट पुग्न सक्दैन, तबसम्म मुलुकको सन्तुलित एवं दिगो विकासको परिकल्पना गर्न सकिँदैन । त्यसैले वित्तीय सेवाको पहुँच सबै वर्ग र समुदायका मानिसहरूसमक्ष पुर्या उन समावेशी वित्तीय प्रणालीको खाँचो पर्छ । लघुवित्त सेवाको सञ्जाललाई नेपालका सबै जिल्ला तथा ग्रामीण क्षेत्रसम्म विस्तार गरेर राज्यले विपन्न तथा पछाडि परेका मानिसहरूलाई वित्तीय सेवाको पहुँच वृद्धि गर्नका लागि आवश्यक वित्तीय पूर्वाधार एवं उपयुक्त वातावरण निर्माण गर्न सकेको खण्डमा मात्र लघुवित्तको मूल मर्म एवं लक्ष्यबमोजिम उल्लेखनीय सफलता हासिल गर्न सकिनेछ । राज्यको एकल प्रयासबाट मात्र वित्तीय सेवाको पहुँच विस्तारमा प्रभावकारिता ल्याउन नसकिने भएकाले वित्तीय संस्थाहरूको प्रगाढता कम भएका त्यस्ता क्षेत्रहरूमा राज्य एवं नियमनकारी निकायले अन्य स्थानीय निकायहरूसँग हातेमालो गर्दै वित्तीय सेवाहरू विस्तार गर्नु आवश्यक देखिन्छ ।
ग्रामीण क्षेत्रमा बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेको र सञ्चालनमा रहेका बैंक तथा वित्तीय संस्थाहरू पनि विपन्न वर्गका मानिसहरूसमक्ष पुग्न नसकिरहेको परिप्रेक्ष्यमा वित्तीय संस्थाहरूको प्रगाढता कम भएका त्यस्ता क्षेत्रहरूमा लघुवित्तको सञ्जाललाई विस्तार गर्नु जरुरी देखिन्छ । वित्तीय साक्षरता, नवीनतम प्रविधिमा आधारित वित्तीय उपकरणलगायत वित्तीय पहुँच विस्तार कार्यक्रमलाई संघीय संरचनाअनुसार स्थानीय तहका ७ सय ४४ वटै केन्द्रमा न्यूनतम एक बैंक वा वित्तीय संस्थाको विस्तार गर्ने कार्यमा राज्यले यथाशीघ्र ध्यान दिनुपर्छ । यसका लागि मूलतः राज्यले वित्तीय साक्षरता र वित्तीय समावेशीकरण कार्यलाई राष्ट्रिय अभियानका रूपमा अगाडि बढाउनुपर्छ । राज्यको मूलधारबाट पछाडि परेका वर्ग वा समुदायका मानिसहरूलाई समेत वित्तीय सेवा उपभोग गर्ने वातावरण सिर्जना गरेर उनीहरूमा रहेका सम्भावित क्षमता एवं अवसरहरूको अधिकतम उपयोग गर्नका लागि वित्तीय समावेशीकरण अभियानमा लघुवित्त सेवा प्रभावकारी मानिन्छ । गरिबीको रेखामुनि रहेका विपन्न तथा सीमान्तकृत वर्गका मानिसहरूलाई वित्तीय तथा गैरवित्तीय सेवाहरू प्रदान गरेर सामाजिक–आर्थिक रूपान्तरण गर्दै मुलुकलाई आर्थिक रूपले समृद्धि र समुन्नतिको मार्गमा अगाडि बढाउन लघुवित्त एउटा उपयोगी वित्तीय औजार बन्न सक्छ ।
(लेखक लघुवित्त र वित्तीय समावेशीकरण विषयका विज्ञ हुन् ।)

डा. भरतराम ढुंगाना